सुर्खेतको वीरेन्द्रनगर-१३ मा पर्ने आफर गाउँभित्र केही वर्ष पहिलेसम्म ठाउँठाउँमा क्यारम बोर्ड थिए। गाउँका धेरैजसो युवा क्यारम खेल्नमै व्यस्त देखिन्थे। कतिपय युवा र तिनका अभिभावकसमेत दिनभर मदिरा सेवन गरेर बस्थे।
बस्तीका धेरैजसो बालबालिका विद्यालय जान्थेनन्। विद्यालय छोड्ने बालबालिकाको संख्या पनि धेरै थियो। बालविवाह, घरेलु हिंसा अत्याधिक हुने आफर गाउँलाई केही वर्ष अघिसम्म सामाजिक विकृति धेरै हुने गाउँका रूपमा चिनिन्थ्यो।
अहिले त्यही गाउँ ‘आफर नमूना गाउँ’का रूपमा परिचित छ। नमूना गाउँमा परिणत भएसँगै अहिले यो गाउँ पर्यटकलाई समेत आकर्षित गर्न सक्ने भइसकेको छ।
गाउँमा आउने पाहुनाका लागि ‘होम-स्टे’को व्यवस्था गरिएको छ। आफर नमूना गाउँका ६० घरधुरीमध्ये १६ घरमा होम-स्टे सञ्चालन गरिएको छ। गाउँमा सबै घरपरिवार आयआर्जनको बाटोमा लागेको छन्।
यो गाउँलाई नमूना गाउँमा परिणत गर्न किशोरी र आमाहरूको महत्वपूर्ण भूमिका छ। सन् २०१३ मा गैरसरकारी संस्था समाज जागरण केन्द्र (स्याक) नेपालले १३-१९ वर्ष समूहका किशोरीहरूको समूह बनायो। समूहलाई गाउँमा भएका सामाजिक विकृतिलाई कसरी अन्त्य गर्ने भन्ने विषयमा कक्षा चलायो।
किशोरी समूहमा स्वास्थ्य, आयआर्जन, शिक्षा, सशक्तिकरण, बालविवाह, महिला तथा घरेलु हिंसालगायतका विषयमा बहस गर्न थालियो। गाउँको कमजोर पक्षलाई पनि बहसको विषय बनाइयो। त्यस्ता कमजोर पक्षलाई न्यूनिकरण गर्ने अभियान पनि किशोरी समूहबाटै सुरू गरियो।
आफर नमूना गाउँमा ६० घरधुरी छन्। त्यसमा ४० घरधुरी दलित समुदायका छन्।
‘यहाँ दलित बस्ती भएकै कारण विगतका दिनमा जुवातास खेल्ने, मदिरा सेवन गरेर हो-हल्ला गर्ने गरेको धेरै पाइन्थ्यो,’ आफर नमूना गाउँ व्यवस्थापन समितिकी सचिव यशोदा बिकले भनिन्, ‘घरेलु हिंसा पनि धेरै नै थियो, बालविवाह पनि धेरै नै हुन्थ्यो।’
तिनै विकृतिलाई अन्त्य गर्न किशोरी समूहले विभिन्न सडक नाटक, र्यालीजस्ता कार्यक्रम गर्ने गरेको उनले बताइन्।
किशोरी समूहकै सक्रियताका कारण पहिलेको भन्दा बिस्तारै गाउँमा फरकपना आयो। बालबालिका स्कुल जान थाले। बालविवाह पनि कम हुँदै गयो।
‘किशोरी समूह एक्सनमा गएर भए पनि बालविवाहलाई शून्यमा झार्न सफल भएका छौं,’ यशोदाले भनिन्।
किशोरीहरूको समूहले गाउँको विकृति हटाउँदै गर्दा त्यहाँ आमाहरूको समूह बन्यो। त्यसपछि एउटै विषयवस्तुमा आमा र किशोरी समूहबीच छलफल गर्न थालियो।
‘एउटै विषयमा रहेर विकृति अन्त्यका लागि किशोरी समूहले आमा समूह र आमा समूहले किशोरी समूहलाई सहयोग गर्ने काम गरियो,’ सचिव यशोदाले भनिन्, ‘यहाँका धेरै कुरामा परिवर्तन गर्न हामी सफल भयौं।’
विकृति हट्न थालेपछि आफर ‘नमूना गाउँ’ बनाउने विषयमा छलफल चल्यो। गाउँका ६० वटै घरपरिवारलाई एकठाउँमा भेला गरेर यसबारे छलफल गरियो। नमूना गाउँ सञ्चालनका लागि आवश्यक पर्ने सूचक तयार पारियो। सामाजिक नक्सा बनाइयो। ‘कुनकुन सूचक भएपछि नमूना गाउँ बन्छ भन्ने कुरामा हामीले छलफल गर्यौं र ९ वटा सूचक, ३९ वटा उपसूचक तयार गरेर हामी अगाडि बढ्यौं,’ यशोदाले भनिन्।
नमूना गाउँमा परिणत भएयता आफर गाउँका मानिसका आनीबानीसमेत परिवर्तन भएको उनी बताउँछिन्। पहिले खुला रूपमा नुहाउने गाउँका अधिकांश मानिसले अहिले घरमै स्नान कक्ष बनाएर नुहाउने गरेका छन्। कतिपय घरले प्लाष्टिकले बारेर भए पनि त्यसभित्र नुहाउने गरेको उनले बताइन्।
‘हिजोको दिनमा दिदीबहिनीहरू आफू काम गर्नु हुँदैनथ्यो, श्रीमानमा आश्रित हुनुहुन्थ्यो। अब भने उहाँहरूले आफैं कमाउन थाल्नुभएको छ,’ यशोदाले भनिन्, ‘हिजोका दिनमा बढीमा ६ महिना खाना पुग्थ्यो, उत्पादन गरेको अनाज जाँड रक्सी बनाउन प्रयोग हुन्थ्यो। त्यसले गर्दा घरमा खाना पुग्थेन। अहिले यस्तो कुरामा पूर्ण रूपमा सुधार भएको छ।’
पहिले आफ्नो परिचय दिन नसक्ने गाउँका महिला अहिले सरकारी निकायसँग विकास बजेट माग्नसमेत सक्ने भएको उनले बताइन्।
१६ घरमा होम-स्टे
नमूना गाउँभित्र ‘आफर होम-स्टे’ सञ्चालन गरिएको छ। होम-स्टे सञ्चालक समिति बनाइएको छ। त्यो समितिभित्र अहिले १६ घरधुरी छन्। जुन घरहरुमा होम-स्टेका लागि संरचना तयार गरिएको छ।
नमूना गाउँ सञ्चालन गर्ने क्रममा आयआर्जनको पाटोलाई जोड्न होम-स्टे सञ्चालनको पनि अवधारणा ल्याइएको होम-स्टे सञ्चालन तथा व्यवस्थापन समितिकी सचिव रचना बाठाले बताइन्। सुरूमा होम-स्टे सञ्चालनका लागि गैरसरकारी तथा सरकारी निकायले तालिम दिन सहयोग गरेको उनले बताइन्।
‘१० घरबाट होम-स्टे सुरू गरेका थियौं, अहिले १६ घरमा बिस्तार गरिएको छ,’ बाठाले भनिन्, ‘होम-स्टेलाई पनि नमूना बनाउने गरी लागेका छौं।’
होम-स्टेबाट मात्र वर्षमा ५ लाखसम्मको कारोबार हुन्छ। आम्दानीको ५ प्रतिशत रकम भने होम-स्टे व्यवस्थापनका लागि समूहमा जम्मा गर्ने गरिएको छ।
होम-स्टेमा आउने पाहुनलाई अर्गानिक उत्पादनमात्र खुवाउने गरिएको बाठाले बताइन्।
‘यहाँको अर्गानिक खानेकुरा सिस्नु, ढिडो, मकै, कोदो, मकै-गहुँको रोटी, आलु र भटमासका परिकार बनाएर खुवाउने गरेका छौं,’ उनले भनिन्, ‘मासुको परिकारमा पनि लोकल कुखुराकै मासु खुवाउने गरेका छौं।’
पछिल्लो समय डिजिटल होम-स्टेको माग बढेकाले पनि त्यसको व्यवस्था गर्न थालिएको छ। भर्खरैमात्र चार-चार कोठा भएका सुविधासम्पन्न डिजिटल घर निर्माण गरिएको छ।
‘एट्याच बाथरूमसँगै इन्टरनेट, टिभीको पनि व्यवस्थासहित डिजिटल होम-स्टे बनाएका छौं,’ होम-स्टे सञ्चालन समितिकी अध्यक्ष समेत रहेकी यशोदाले भनिन्।
नमूना गाउँको अवलोकन गर्न आउने तथा नमूना गाउँ कसरी बनाउन सकिन्छ भनेर सिक्न जिल्ला बाहिरबाट समेत पाहुनाबाट होम-स्टेको आम्दानी हुने गरेको उनले बताइन्।
सबै घरधुरी व्यावसायिक
नमूना गाउँ बनाइसकेपछि होम-स्टे सँगसँगै गाउँभित्रका सबै घरमा व्यवसाय गर्ने गरी महिला नेतृत्व अघि बढ्यो। जनप्रतिनिधि तथा केही निकायसँग सहयोग लिएर ६० वटै घरधुरीमा कुनै न कुनै व्यावसायिक काम गर्ने व्यवस्था मिलाइयो।
नमूना आफर गाउँभित्रका ६० मध्ये अहिले २३ घरमा बाख्रापालन, १३ घरमा लोकल कुखुरा पालन, १० घरमा भैंसी पालन, ७ घरमा व्यावसायिक तरकारी खेती गरिएको छ। यस्तै एक घरमा दूध संकलन केन्द्र, एक घरमा कोसेली गृह र एक घरमा तामा-काँसको भाँडा बनाउने र बिक्री गर्ने गरिएको छ।
‘हिजोका दिनमा खाली बस्ने दिदीबहिनी अहिले व्यवसायमा व्यस्त हुनुभएको छ, श्रीमानको कमाइमा आश्रित हुने उहाँहरू अहिले घरखर्च चलाउन उल्टै सहयोग गरिरहनुभएको छ,’ यशोदाले भनिन्।
अब्बल महिला नेतृत्व
आफर नमूना गाउँ व्यवस्थापन समिति र होमस्टे सञ्चालन तथा व्यवस्थापन समितिबाहेक त्यहाँ अरू विभिन्न उपसमिति पनि बनाइएको छ। सबै उपसमितिमा महिलाको नेतृत्व छ। पुरूष सदस्य भए पनि मुख्य नेतृत्वकर्ता भने सबै समितिमा महिलाहरू नै छन्।
स्वागत तथा सत्कार समिति, धुमपान तथा मद्यपान नियन्त्रण समिति, सरसफाइ समिति, खानेपानी तथा मर्मत समिति, हरियाली तथा वृक्षारोपण समितिलगायतका थुप्रै उपसमिति नमूना आफर गाउँभित्र छन्। यस्ता समिति तथा उपसमिति सञ्चालनमा उनीहरूको भूमिका पनि अब्बल रहेको छ।
‘हिजोका दिनमा पुरूष दाजुभाइले पनि सहयोग नै गर्नु हुन्थेन, हामी महिला मिलेर सरसफाइ गर्थ्यौं। उहाँहरूले काम नपाएर रोड सफा गरेका छन् भनेर भन्नुहुन्थ्यो,’ यशोदाले भनिन्, ‘हाम्रै प्रयासले यो गाउँ नमूना बन्न पुग्यो, अहिले सबै समितिमा हाम्रै नेतृत्व भएकाले महिलाले नै नेतृत्व गरेको नमूना गाउँ भनेर यसलाई चिनिन्छ।’<