ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीस्थित एक घरमा ६६ वर्षीय बासुदेव पोखरेल डेरा गरी बस्छन्।
सप्तरीको राजविराज नगरपालिका-३ घर भएका उनी श्रीमती, छोरा र बुहारीसँग बस्थे। उनीहरूले केही वर्षदेखि नै घरको एउटा फ्ल्याट भाडामा लिएका थिए।
गत शुक्रबार बासुदेव र उनकी श्रीमती भक्तपुरको बालकोटमा रहेकी छोरीको घरमा गए। केही दिन बसेर उनीहरू फर्किने सोचमा थिए।
फ्ल्याटमा ३२ वर्षीय सागर पोखरेल र अन्दाजी २०/२२ वर्षीया निर्मला पोखरेलमात्रै थिए। प्रहरीका अनुसार उनीहरूको गत फागुनमा विवाह भएको थियो। सागर बासुदेवका एक्ला छोरा हुन्। उनी भेटेनरीका सामान सप्लाइ गर्ने गर्थे।
सोमबार बासुदेवले बिहानैदेखि सागरलाई सम्पर्क गर्न खोजिरहेका थिए। सागरले फोन उठाएनन्। बुहारी निर्मलाको पनि फोन उठिरहेको थिएन।
पटक-पटक प्रयास गर्दा पनि उनीहरूले फोन उठाएनन्। त्यसपछि बासुदेवले घरेबेटीलाई सम्पर्क गरे। घरबेटीले पनि उनीहरूको फ्ल्याटको मूल ढोकाबाट बोलाए। ढोका भित्रैबाट बन्द थियो। पटक-पटक बोलाएर कुनै प्रतिक्रिया नदिएपछि घरबेटीले उनीहरू सुत्ने कोठामा चियाएर हेरे।
सागर र निर्मला भुइँमा लडिरहेका थिए। त्यसपछि घरबेटीले तत्कालै प्रहरीको कन्ट्रोल १०० नम्बरमा फोन गरे। प्रहरीलाई दुबै जना मृत भेटिएको जानकारी गराए।
तत्कालै महानगरीय प्रहरी प्रभाग लुभुको टोली घटनास्थल पुग्यो। तल्लो कोठाको फ्ल्याटको मूल ढोका फोडेर प्रहरी भित्र प्रवेश गर्यो। उनीहरू दुबै जना सँगै मृत भेटिए। सागरले पाइन्ट लगाएका थिएनन्। निर्मलाको शरीरमा सबै लुगा थियो।
घटनाको खबर पाएपछि महानगरीय प्रहरी वृत्त, सातदोबाटो र महानगरीय अपराध महाशाखाको टोली पनि घटनास्थल पुग्यो।
अनुसन्धान गर्ने प्रहरीको टोलीले विष (सेल्फस)को दुइटा बट्टा पनि फेला पार्यो। उनीहरूले बान्ता पनि गरेको देखिएको थियो। घटनास्थल हेर्दा उनीहरूले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले बताए।
घटनास्थलको मुचुल्का उठाएपछि प्रहरीले उनीहरू दुबै जनाको शव पोष्टमर्टमको लागि ललितपुरको पाटन अस्पताल पठायो। प्रहरीले उनीहरूको मोबाइल पनि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रयोगशालामा पठाएको छ।
प्रहरीले घटनास्थलबाट कुनै सुसाइड नोट पनि भेटाएको छैन। जसकारण उनीहरूको मृत्युको कारण पत्ता लगाउन प्रहरीलाई कठिन भएको छ।
प्रहरीका अनुसार घरमा बस्ने मानिसले उनीहरूलाई आइतबार साँझ ४ बजेसम्म देखेका थिए।
अहिले प्रहरीको टोली उनीहरूको मृत्युको कारण खोज्न लागि परेको छ। एसपी महर्जनले अहिलेसम्म मृत्युको कारण नभेटाएको बताए।
प्रहरी स्रोतका अनुसार सागरले विष सेवन गरेपछि शौचालय गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
'पाइन्ट लगाएको थिएन। घटनास्थलमा हेर्दा उनले विष सेवन गरेपछि पनि शौचालय गएको देखिन्छ। त्यहाँ राम्ररी बस्न पनि नसकेको देखिन्छ,' उनले भने।
टोखा र भक्तपुरमा भएको हत्यापछि आत्महत्या जस्तै हुन सक्ने भन्दै त्यस पाटोबाट पनि अनुसन्धान अघि बढाएको एसपी महर्जनले बताए।
अहिलेसम्म त्यसको प्रमाण फेला नपरेको हुँदा त्यस्तो हुने सम्भावना कमै भएको उनले बताए।
'अहिले प्रारम्भिक रूपमा हेर्दा दुबै जनाले विष सेवन गरेकै देखिएको छ। भक्तपुर र टोखामा भएजस्तै हत्यापछि आत्महत्या हो कि होइन भन्ने पनि बुझ्दैछौं,' एसपी महर्जनले भने,'त्यँहा भएका घटना जस्तै १०-१२ घन्टाको फरकमा मृत्यु भएको देखिएमा हत्यापछि आत्महत्या भन्न सकिन्छ तर धेरै समयको ग्याप नभए भन्न गाह्रो हुन्छ।'
यसबारे उनीहरूको पोष्टमर्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने उनले बताए। प्रहरीले उनीहरूलाई केही दिनयता भेटेका आफन्तसँग पनि सोधपुछ गरेको छ। तर अहिलेसम्म कुनै समस्याबारे केही पनि नबताएको बयान दिएका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
गत पुस २४ गते काठमाडौंको टोखा नगरपालिका-३ स्थित ग्रान्डी भिलामा ३४ वर्षीय उमेश केसी र सुदीक्षा गिरी मृत फेला परेका थिए। सो घटनामा सुदीक्षाले उमेशको हत्या गरेको घन्टौंपछि आत्महत्या गरेका थिए।
भदौ २४ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका तीन जना मृत भेटिएका थिए।घरधनी सुदीप अधिकारी, श्रीमती सम्झना, छोरा सुशान्त र घरमा पालिएको कुकुरसमेत मृत अवस्थामा फेला परेका थिए। उक्त घटनामा सुदीपले सम्झना, सुशान्त र कुकुरको हत्या गरी आत्महत्या गरेका थिए।