रुकुम पश्चिमा आठबीसकोट नगरपालिकास्थित राडी बजारमा स्थानीय युवाहरुबीच भएको विवादले ठूलो रुप लिन थालेपछि प्रहरीले हवाइ फायर गरेको छ।
नेपाली काँग्रेस र नेकपा निकट युवाबीच विवाद भएको हो। सामान्य विषयमा सुरु भएको विवादले ठूलो रुप लिन थालेपछि प्रहरीले नियन्त्रणमा लिन हवाइ फायर गरेको हो।
आठबीसकोट नगरपालिकाका मेयर गोर्ख बहादुर केसीका अनुसार सुरुमा दुई जना युवाबीच विवाद भएको थियो। ‘एक जना नेकपा र अर्को काँग्रेस निकट मानिने दुई जना युवाबीच झगडा सुरु भएको थियो, विस्तारै त्यो विवाद उग्र बन्यो,’ मेयर केसीले भने, ‘त्यसलाई मिलाउने क्रममा धाँदली भएपछि प्रहरीले हवाइ फायर गरेको रहेछ।’
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुब कुमार श्रेष्ठका अनुसार स्थिति नियन्त्रण गर्न ९ राउण्ड हवाइ फायर गरिएको हो।
‘आपसी झगडा प्रहरीसम्म आइपुगेपछि प्रहरीले मिलाउन खोज्दा केही व्यक्तिले चौकीमै ढुंगामुढा गरेछन्,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको छ।’
डिएसपी श्रेष्ठका अनुसार अहिले अवस्था नियन्त्रणमा आइसकेको छ। केही मानिसले प्रहरी चौकीमा ढुंगा हान्दा तीन प्रहरीको टाउकोमा चोट लागेको उनले जानकारी दिए।
डिएसपी श्रेष्ठका अनुसार घटनाका विषयमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति समेत गठन भएको छ।
* यसअघि अन्यथा हुन गएकोमा सच्याइएकाे : सम्पादक