पोखरा– १ टुँडिखेलस्थित राष्ट्रिय माविका प्रध्यानाध्यापकसहित ३ जना शिक्षक पक्राउ परेका छन्।
सोही विद्यालयमा अध्ययनरत एक छात्रालाई कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षिक विधि विषयको परीक्षा होटलमा लगेर लिएको अभियोगमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा विद्यालयका प्रध्यानाध्यापक सूर्य तिवारी, शिक्षक घनश्याम रेग्मी र शिरीष बस्ताकोटी रहेका छन्।
परीक्षामा प्रध्यानाध्यापक तिवारी केन्द्राध्यक्ष रहेका थिए भने रेग्मी सहायक केन्द्राध्यक्ष रहेका थिए।
उनीहरू दुवै जनाको मिलेमतोमा बस्ताकोटीले लेखनाथको एक होटलमा लगेर ती छात्राको परीक्षा लिएका थिए।
परीक्षा लिएको डेढ महिनापछि मात्र उक्त घटना सार्वजनिक भएको थियो।
घटनाका बारेमा जानकारी पाएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडीले छानबिन गरी प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डको कार्यालय, पोखरामा बुझाएका थिए।
उनले बोर्डले थप अनुसन्धान गरी दोषीलाई कारबाही गर्न समेत बोर्डलाई आग्रह गरेका थिए।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माघ २ गते घटनाका बारेमा कागजातसहित कारबाही गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेखेको थियो।
सोही पत्रका आधारमा घटनामा संलग्न ३ जना शिक्षकलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।
परीक्षा बोर्डले प्रहरीलाई पठाएको पत्रमा ‘छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगी अमर्यादित रूपमा परीक्षा लिएको र अन्य प्रचलित कानुनविपरीत कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकाले आवश्यक अनुसन्धान गरी दोषीउपर कारबाही गर्न’ भनेको छ।
डिएसपी हमालका अनुसार तीनै जना शिक्षकलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
उनीहरूलाई शिक्षा ऐन अनुसार मुद्दा चलाउने तयारी भएको र जिल्ला अदालत कास्कीबाट अनुसन्धानका लागि ५ दिन म्याद लिएको डिएसपी हमालले बताए।
यो पनि :
पोखरामा किशोरीलाई होटलमा लगेर शिक्षकले परीक्षा लिएपछि...