सम्पदा संरक्षणको लडाइँमा फेरि एकपटक पुरानै कथा दोहोरिएको छ।
२०७२ को भुइँचालोपछि रानीपोखरीको जस्तो हविगत थियो, त्यस्तै अवस्था छ कमलपोखरीको। त्यति बेला पनि भुइँचालोले रानीपोखरी सुकाएको थिएन, महानगरले पुनर्निर्माणका नाममा जानाजान सुकायो। अहिले कमलपोखरी त्यसैगरी सुकाइएको छ, त्यहाँका माछा रातारात गायब पारिएका छन्। सुख्खा पोखरीको अवशेष मात्र बाँकी छ।
यतिले नपुगेर, रानीपोखरीमा जसरी रातारात डोजर चलाइएको थियो, यसपालि कमलपोखरीमा त्यसैगरी डोजर हुलेर त्यहाँको माटो अन्यत्र ओसार्न खोजियो।
काठमाडौंका यी दुई महत्वपूर्ण पोखरी सम्पदाको अतिक्रमणमा जिम्मेवार निकाय एउटै हो- महानगरपालिका।
रानीपोखरीको घटनामा स्थानीयको विरोध झेलेको महानगरले त्यसबाट पाठ सिक्नुको साटो अतिक्रमणको पुरानै कथा दोहोर्याएपछि संरक्षण अभियन्ताहरू फेरि एकपटक सडकमा ओर्लिएका छन्।
कमलपोखरीको ऐतिहासिक, सांस्कृतिक र वातावरणीय पर्यावरण मासिने गरी पुनर्निर्माण नगरियोस् भन्दै उनीहरूले मंगलबार सुन्धाराको बागदरबारस्थित महानगरपालिका कार्यालयमा धर्ना दिए।
कमलपोखरीलाई कंक्रिटको 'स्विमिङ पुल' मा बदल्ने गरी भइरहेको पुनर्निर्माण पुरातत्व विभागको निर्देशनविपरीत छ।
पुरातत्वले सोमबारै महानगरलाई चिठी लेखेर त्यहाँको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी निर्माण कार्य सञ्चालन नगर्नू भनेको थियो। महानगरले भने चिठी प्राप्त भएकै रात डोजर हुल्ने र माटो खनेर ओसार्ने कदम चाल्यो। यो थाहा पाउनेबित्तिकै संरक्षण अभियन्ताहरू रातारात संगठित भएर बचाउमा लागे।
‘पुरातत्वले मौलिक स्वरुप नबिगारी पुनर्निर्माण गर्नू भनेर चिठी पठाए पनि महानगरले पोखरीमा डोजर चलायो। यो आपराधिक काम हो,’ सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरले धर्ना क्रममा भने, ‘पिँधको माटो निकालेपछि पोखरीलाई पुरानै स्वरूपमा फर्काउन गाह्रो हुन्छ। यसरी माटो खन्नुको मतलब ढलान गर्ने नियत पो हो कि जस्तो देखियो।’
उनले अगाडि भने, ‘हिजोको जस्तो गलत काम फेरि नदोहोरियोस्। महानगरले पटकपटक गल्ती गरिरहने र हामी उनीहरूलाई सम्झाउन सडकमा आइरहनुपर्ने अवस्था नहोस्।’
धर्नामा आएकाहरूले ‘डियर मेयर, रानीपोखरीबाट पाठ नसिकेकोमा हामी लज्जित छौं’, ‘डियर मेयर, सिमेन्ट र डण्डीको कमल हामीलाई चाहिँदैन’, प्रकृतिको दोहन बन्द गर, दुर्लभ सिमसारको संरक्षण गर, जीवनका आधारभूत वस्तु माटो र पानीसँग हाम्रो आत्मीयता छ, यसलाई बचाऊँ’ लगायत प्लेकार्ड बोकेका थिए।
पूर्व मिस नेपाल श्रृंखला खतिवडा पनि प्लेकार्ड लिएर कार्यक्रममा सहभागी भएकी थिइन्।
‘हामीले रानीपोखरीबाट धेरै पाठ सिक्नुपर्ने थियो। विकासको नाममा पोखरी मास्ने र त्यसलाई कंक्रिटको बनाउने कुराबाट संरक्षण हुँदैन, झनै बिग्रँदै जान्छ भन्ने कुराका धेरै उदाहरण छन्। त्यति धेरै उदाहरण पाएर पनि संरक्षणमा चुक्नु भनेको ठूलो गल्ती हो,’ उनले भनिन्, ‘त्यही गल्ती बारम्बार दोहोर्याइरहँदा र रातारात डोजर चलाइरहँदा सरकारी निकायमाथिको आस्था हट्ने मात्र होइन, विश्वास पनि मरेर जान्छ। भविष्यमा उहाँहरूले हाम्रो सहरलाई राम्रो बनाउनुहुन्छ भनेर हामीलाई कत्ति पनि विश्वास छैन।’
कमलपोखरीमा पार्क लगायतका संरचनासँगै बीचमा कंक्रिटको कमल फूल राख्ने महानगरको योजनाबारे श्रृंखलाले भनिन्, ‘कमलपोखरीजस्तो ठाउँमा हामीलाई सिमेन्टको फूल चाहिँदैन। यसलाई प्राकृतिक रूपमै बचाइरहनुपर्छ भनेर म यहाँ आएकी हुँ।’
रानीपोखरी पुनर्निर्माण क्रममा पनि महानगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’ भन्दै वरिपरि कंक्रिट संरचना र कफी पसल लगायतको योजना ल्याएको थियो। पुनर्निर्माण र सुन्दरताका नाममा सम्पदाको मौलिकता बचाउन नसक्नुमा अभियन्ताहरूले आफैं लज्जित भएको बताएका छन्। उनीहरूले गत शनिबार आफ्नै अनुहारमा कमलपोखरीको माटो दलेर आफू लज्जित भएको सन्देश दिएका थिए।
‘रानीपोखरीबाट सम्बन्धित निकायले पाठ सिकेन भनिरहँदा कमलपोखरीमा डोजर चलाएर बाँकी अवशेष पनि बिगारेको हामीले पायौं,’ सोमबार मध्यरात डोजरले खन्ने काम रोक्न कमलपोखरी पुगेका अभियन्ता गणपतिलाल श्रेष्ठले भने।
कमलपोखरीमा डोजर चलेको खबर पाउनेबित्तिकै उनीसँगै पाँच जना अभियन्ता राति नै कमलपोखरी पुगेका थिए। त्यहाँको माटो खनेर बुढानिलकण्ठ लैजाने काम भइरहेको थियो। एक ट्रक माटो लगिसकिएको भए पनि बाँकी गतिविधि उनीहरूले रोके।
धर्ना क्रममा उनले भने, ‘सम्पदाको मर्म जसले बुझ्नुपर्ने हो, उसैलाई बारम्बार बुझाउनुपरेको छ। रानीपोखरीबाट त महानगरले पाठ सिक्न सकेन तर कमलपोखरीबाट पुग्ने गरी पाठ सिकाउने हाम्रो लक्ष्य छ।’
धर्ना कार्यक्रमपछि अभियन्ताहरूले महानगरपालिकालाई ध्यानाकर्षण पत्र पनि बुझाए। नगर प्रमुखको अनुपस्थितिमा उनीहरूले आफ्नो पत्र उपप्रमुख हरिप्रभा खड्गीलाई बुझाएका थिए।
खड्गीले सोमबार राति कमलपोखरीमा डोजर चलेको घटनाबारे आफू अनभिज्ञ भएको र अभियन्ताहरूले राति नै फोन गरेपछि बल्ल थाहा भएको बताइन्। ‘पोखरी सुकाएको र माछाको पनि बिजोग भएको थाहा पाएँ। रानीपोखरीको इतिहास फेरि दोहोरिएजस्तै भएको रहेछ। मैले फोटोबाटै थाहा पाएँ,’ उनले भनिन्।
बजेट एवं पोखरी निर्माणका योजना नगर प्रमुखले गर्ने भएकाले आफूलाई त्यसबारे थाहा नभएको उनले बताइन्। ‘मलाई पनि कमलपोखरीको दुर्दशा देख्दा निकै नराम्रो लागेको छ। अभियन्ताहरूकै सक्रियतामा हामीले मौलिक स्वरूपको रानीपोखरी ब्युँताउन सफल भएका थियौं। यो पोखरीलाई पनि त्यसैगरी बनाउन पहल गर्नेछु,’ उनले भनिन्।
ज्ञापनपत्र बुझ्दै उनले अगाडि भनिन्, ‘तपाईंहरूको कुराको ध्यानाकर्षण भएको छ। विकासको नाममा विनाशको सिलसिला हुनुहुन्न।’
यी पनि हेर्नुहोस्: