‘पानी पधेंरै छ, दुई जनी साउनकी छोरी
मुखी अधेरै छ, पूर्णिका भरिया जुन’
यसको अर्थ हुन्छ- पधेंरोमा पानी छ, साउनको महिना छ, दुई जना छोरी छन् तर पूर्णिमाको जुनमा पनि उनीहरूलाई अँधेरो छ।
कैलालीको लम्कीचुहा-४ की कविता मल्लले यही देउडा गीतबाट आफ्नो परिचय दिइन्।
उनी दृष्टिविहीन हुन्। अहिले उनी धनगढी उपमहानगरपालिका-५ को पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दैछिन्।
‘१७ वर्षको उमेरमा मेरो क्याम्पस पढ्ने बेला हो। तर, समयमा स्कुल जान नपाएर ढिलो भयो,’ उनले भनिन्।
उनको नगरपालिकामा दृष्टिविहीनले पढ्ने स्कुल छैन।
‘दृष्टिविहीनले पढ्ने स्कुल कहाँ छ थाहै नपाएर पढ्न ढिलो भयो,’ उनले भनिन्।
काठमाडौंमा आँखाको उपचारका लागि गएका बेला डाक्टरले पढाइ हुने स्कुलबारे भनिदिएपछि उनी धनगढीको स्कुलमा भर्ना भएकी हुन्।
सुरूमा ब्रेल लेख्न र पढ्न सिकेपछि उनले कक्षा ५ बाट पढ्न सुरू गरिन्। कक्षामा अरू साथीहरूसँगै बसेर उनी पढ्छिन्।
‘अरूले जस्तो एक जना एक सेट किताब हामीलाई मिल्दैन, कक्षाका सबै जना एकै सेट किताब मिलेर पढ्छौं,’ उनले भनिन्।
उनीहरूले पढ्न सक्ने ब्रेल लिपिमा छापिएका किताब उनको कक्षाभरिका लागि एक सेटमात्र दिइएको छ।
उनी पढ्ने स्कुलका प्रधानाध्यापक हरिशकुमार ओझाले सबै कक्षामा एक सेट पुस्तकमात्रै भएको बताए। उनले दृष्टिविहीन विद्यार्थीलाई त्यही किताब पालैपालो पढ्न दिने गरेको बताए।
उनका अनुसार कक्षा ९ र १० मा पढ्नेले पाउने किताबमा ऐच्छिक विषयको ब्रेल लिपिमा छापिएको पुस्तक नै स्कुलमा छैन।
कविताका दाजु चक्र यही स्कुलमा कक्षा १० मा पढ्छन्। उनी पनि दृष्टिविहीन विद्यार्थी हुन्।
उनले पढाइप्रति आफू र बहिनीको निकै रुची भए पनि पाठ्यपुस्तक नै नपाएर समस्या हुने गरेको बताए।
कक्षा ११ मा पढ्ने जानकी भट्टले कुनै पनि विषय ब्रेल लिपिमा नभएको बताइन्।
‘११ र १२ मा पढ्नेले त बिनाकिताब नै पढ्छौं,’ उनले भनिन्।
जानकीले कक्षामा शिक्षकले पढाएको सुनेकै भरमा पढ्नु परिरहेको छ।
प्रधानाध्यापक ओझाले कक्षा ११ र १२ का ब्रेल लिपिमा किताब देशभरि नै नभएको दाबी गरे।
‘११ र १२ का ब्रेल लिपि किताब हुन्छ भन्ने मलाई थाहा छैन,’ उनले भने।
२०४६ सालमै एसएलसी पास गरेकी शकुन्तला लिम्बु सोही विद्यालयकी शिक्षिका हुन्। उनी पनि दृष्टिविहीन हुन्। स्कुल पढ्दा उनले पनि कविताले जस्तै एकै सेट पुस्तक कक्षाका सबैले मिलेर पढ्नु परेको सुनाइन्।
‘मैले पढ्दा पनि ब्रेलमा किताब थिएन, तीस वर्षपछि अहिले पनि अवस्था त्यही छ,’ उनले भनिन्।
अहिले ब्रेल पुस्तक बनाउन प्रविधिले सहज पारिदिए पनि राज्यको इच्छाशक्ति नभएरै ‘एक व्यक्ति एक पुस्तक’ पाउन नसकेको उनले बताए।
पाठ्यपुस्तकको अभावमा पञ्चोदयका दृष्टिविहीन विद्यार्थीहरू साथीको मद्दतमा पढ्ने गरेका छन्।
‘सरले पढाएका बेला सुन्छौं, अरू बेला पनि साथीहरू एकले पढेर सुनाउने र अर्कोसँग व्याख्या गरिमाग्छौं,’ जानकीले भनिन्।
अपांगताभित्रकै श्रवण शक्ति नभएका विद्यार्थीहरूलाई पनि सांकेतिक भाषाका किताब नहुँदा पढ्न गाह्रो हुने बताएका छन्।
धनगढीको दक्षिणकाली ‘बहिरा आधारभूत विद्यालय’का शिक्षक परिवर्तन कोइरालाले शिक्षाको पहिलो आधार मानिने पाठ्यक्रम नै अपुरो रहेको बताए।
‘पाठ्यक्रम नै पूरा गर्न नसक्नुले हाम्रो देश शिक्षामा कति पछाडि छ भन्ने मूल्यांकन गर्न सक्छौं,’ उनले भने।
बहिरा विद्यार्थीहरूलाई पनि पाठ्यपुस्तकको अभाव रहेको उनले बताए।
‘सांकेतिक भाषाका पढाउन सक्ने, दोभाषे र संकेतसहितका पुस्तकको अभाव छ,’ उनले भने।
राज्यले अपांगता भएका विद्यार्थीलाई हेर्ने दृष्टिकोण थोरैमात्र फेरिएको उनले बताए।
‘अपांगले पढेर के गर्छन्, हात हल्लाएर के हुन्छ भन्ने भावना केही बदलिए पनि पढाइ सकेर रोजगार पाएन भने हेप्नेले भनेजस्तै हुनेछ,’ उनले भने।
श्रवण शक्ति नभएकाले पनि पढेर जागिर गर्न सक्छन् है भन्ने बनाउन राज्यले सोच्नुपर्ने उनले बताए।
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले अपांगता भएका विद्यार्थीहरूलाई पाठ्यक्रमकै समस्या छ भन्ने कुरा बल्ल थाहा पाएको बताएका छन्।
‘मैले दृष्टिविहीन विद्यार्थीलाई पढ्न किताब छैन भन्ने कुरा आज थाहा पाएँ,’ उनले भने।
मेयर वडले स्थानीय तहले अडिओ वा पाठ्यक्रम विकास केन्द्रले पारित गरिसकेका विषय छाप्न मिल्ने भए त्यहीअनुसार पहल गर्ने प्रतिवद्धता जनाए।
धनगढी-१ मा रहेको त्रिनगर माध्यमिक विद्यालयमा कक्षा १२ मा पढिरहेका टोपबहादुर मल्लले ह्विलचियरमा स्कुल आउन-जान मैत्री संरचना नभएर समस्या हुने गरेको बताए।
‘अपांगमैत्री संरचना नभएका कारण साथीहरूलाई बोकेर राखिदेऊ भन्नुपर्छ,’ उनले भने।
चालु शैक्षिक सत्रमा सुदूरपश्चिम प्रदेशका ३० विद्यालयमा ३ सय ७३ जना अपांगता भएका विद्यार्थी भर्ना भएका छन्।
अन्य विद्यार्थीभन्दा आफूहरू निकै कम भए पनि राज्यले अहिलेसम्म पाठ्यक्रम पर्याप्त मात्रामा उपलब्ध गर्न नसकेको उनीहरूको भनाइ छ।
शारीरिक रूपमा अपांग भए पनि शिक्षामा जोडिएर केही गर्ने लक्ष्यले पढ्न थालेकाहरू राज्य नहेर्दा सपना तुहाउन बाध्य बनेको विद्यार्थी भास्कर बमको भनाइ छ।
‘हामी सुहाउँदो विद्यालयमा अपांगतामैत्री संरचना छैन, ईश्वरले त हामीलाई ठग्यो ठग्यो, राज्यले पनि हेरेन,’ उनले भने।
अपांगता भएका विद्यार्थीहरूको पढाइमा सहज होस् भनेर प्रदेश सरकारले अपांगमैत्री कार्यक्रम अगाडि बढाएको प्रदेशको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए।
‘अपांगता भएका विद्यार्थीहरूलाई सहज रूपले विद्यालयमा जान-आउन मिल्ने वातावरण होस् भनेर कार्यक्रमअन्तर्गत ३० लाख बजेट छुट्याएर काम अगाडि बढाएका छौं,’ उनले भने।
प्रदेशका विभिन्न जिल्लामा विद्यालयका संरचना निर्माणमा काम गरेको मन्त्री सुवेदीको दाबी छ।
पाठ्यपुस्तक अभाव भएर विद्यार्थीहरूले भोग्नु परेका समस्या प्रदेश सरकारसम्म आइनपुगेको उनले बताए।
‘माध्यमिक तह शिक्षाको जिम्मेवारी स्थानीय सरकारको हो। पाठ्यपुस्तक अभाव छ भने उसले नै काम गर्नुपर्ने हो,’ उनले भने।
कोही विद्यार्थी पाठ्यपुस्तक अभाव भएर पढ्न गाह्रो भएको छ भने मन्त्रालयमा खबर गर्न उनले अनुरोध गरे।