सरकारले कोरोना भाइरसविरूद्धको खोप सुरूमा स्वास्थ्यकर्मीहरूलाई लगाउने भने पनि स्वास्थ्यकर्मीहरू भने खोप लगाउने/नलगाउने भन्ने अन्यौलमा छन्।
कोरोना संक्रमितको उपचारमा खटिएका एक चिकित्सक भन्छन्, 'खोप लगाउन भनेर फाराम त भरियो तर धेरै स्वास्थ्यकर्मीहरू अन्यौलमा छन्। धेरैले यसको प्रभावकारिता के हो भन्नेमा सरोकार राखेका छन्।'
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज बिहीबार नेपाल आइपुगेको छ।
अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ। उक्त खोपलाई भारतमा कोभिसिल्ड नाम दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट अनुदानमा पाएको उक्त खोप सुरूमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीलाई लगाउने जनाएको छ।
आगामी सातदेखि दश दिनभित्र खोप लगाउन सुरू गर्ने मन्त्रालयले तयारी गरेको छ।
तर धेरै स्वास्थ्यकर्मीहरू भने खोप लगाउन उत्साहित भएको पाइएको छैन।
कोरोना उपचारमै खटिएका अर्का चिकित्सक भन्छन्, 'खोप लगाउन भनेर सूचीमा नाम गइसकेको छ। तर धेरै स्वास्थ्यकर्मीहरूले खोप लगाएपछि के होला भन्ने चिन्ता देखाउनुभएको छ।'
भारतले नेपाललाई दिएको खोपको प्रभावकारिता ६५ देखि ९० प्रतिशतसम्म देखिएको थियो।
ती चिकित्सक भन्छन्, 'फुल डोज लगाउँदा पनि यसको प्रभावकारिता ६५ प्रतिशतसम्म देखिएको छ। तर यथार्थ कुराहरू धेरै बाहिर भनिएको छैन। त्यसले गर्दा पनि स्वास्थ्यकर्मीहरू अन्यौलमा छन्। त्यसैले यथार्थ सूचना बाहिर आउनुपर्छ।'
तर अहिलेसम्मको अनुसन्धानले खोप सुरक्षित र पूर्ण प्रभावकारिता नभए पनि प्रभावकारिता भने भएको भन्दै स्वास्थ्यकर्मीहरूले खोप लगाउनुपर्ने उनले जोड दिए।
अर्का चिकित्सकले भने नेपालमा पनि अन्य देशमा जस्तै उच्च पदस्थ व्यक्तिले सुरूमा खोप लगाए त्यसले अरूलाई ढुक्क बनाउने बताए।
'अमेरिकी राष्ट्रपति, बेलायत महारानीलगायत अन्य देशमा पनि उच्च पदस्थहरूले सुरूमा खोप लगाए। नेपालमा पनि कोही त्यस्ता व्यक्तिले खोप लगाए अरूलाई ढुक्क हुने वातावरण सिर्जना हुन्छ।'
उनले खोपबारे भारतमा आएका केही समाचारहरूको प्रभावले गर्दा पनि नेपालमा स्वास्थ्यकर्मीहरूमा खोप लगाउन अन्यौल सिर्जना गरेको जनाए।
गत माघ ४ गतेबाट खोप अभियान सुरू गरेको भारतमा खोप लगाएपछि दुई जना व्यक्तिको मृत्यु भएको समाचार बाहिर आएको थियो। तर त्यसकै आधारमा नेपालमा खोप लगाउन डराउनु नपर्ने एक चिकित्सक बताउँछन्।
उनले भने, 'पहिले पनि हात्तीपाइलेको औषधि खाँदा एक/दुई जना व्यक्तिको मृत्यु भएको थियो। जसका कारण पछि धेरै मानिसहरू औषधि खान नै डराएका थिए। अहिले खोपमा पनि त्यही डर मानिसहरूमा छ। एक लाखमा दुई जनाको मृत्यु हुनु भनेको डरलाग्दो होइन। खोप नलगाउँदा पनि त्यति व्यक्तिको मृत्यु हुनसक्छ।'
भारतबाट पाएको १० लाख डोज खोपले कम्तिमा ४ लाख जनालाई लगाउन पुग्ने बताइएको छ।
तर मन्त्रालयले खोप लगाउन कहिलेबाट सुरू गर्ने भन्ने मिति तय गरेको छैन।
अहिले भारतबाट आएको खोपलाई स्वास्थ्य विभागमा भण्डारण गरेर राखिएको छ।
मन्त्रालयले खोप जिल्ला जिल्लामा पठाएर स्वास्थ्यकर्मीलाई लगाउने तयारी गरेको छ।
मन्त्रालयले कम्तिमा ३ लाख स्वास्थ्यकर्मी रहेको जनाएको छ।