बिहीबार राति ९ बजेतिर तेस्रोलिंगी समुदायका केही व्यक्ति काठमाडौंको नयाँ बसपार्कमा हिँड्दै थिए। केही समयमै एकाएक महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्यो। उनीहरूले बाटोमा हिँड्नेलाई हैरान पारे भन्ने प्रहरीको आरोप थियो।
'तीन-चारवटा भ्यानमा आएर घेरा हालेछन्,' अल्पसंख्यक समुदाय (एलजिबिटिक्युआई) का अविन गहतराजले त्यही समूहमा रहेका एक साथीको भनाइ उद्धृत गर्दै सेतोपाटीसँग भने, 'एक जनालाई कम्तीमा चार जना प्रहरीले भुइँमा लडाएर कुटेछन्, अनुहारमा थुकेछन् र लात्तै लात्ताले हानेछन्।'
उनका अनुसार प्रहरी आक्रमणबाट बच्न गुहार मागेपछि वरिपरिका अन्य तेस्रोलिंगी व्यक्ति भेला भए।
'आफ्नो सुरक्षाका लागि ढुंगा उठाएर हान्न खोज्दा प्रहरीले कपाल भुत्ल्याउने र केहीलाई कपडा फुकालेर हिर्काउने काम गरे। अपमानपूर्ण र अश्लील गाली गरे,' गहतराजले भने, 'प्रहरीले आक्रमण गरेपछि दुवै समूहबीच हात हालाहाल भयो।'
'प्रहरीको नियत नै ठिक छैन। बाटोमा कोही तेस्रोलिंगी देख्यो भने 'सेक्स-वर्कर' ठान्छन्। साथीहरूसँग उभियो भने पनि त्यही रूपमा लिन्छन्। एक-दुई जनाले त्यस्तो गरे भन्दैमा सबैलाई उही रूपमा हेर्न मिल्दैन,' उनले भने।
बिहीबार रातिको घटना प्रहरीको यस्तै सोचाइको उपज भएको उनको भनाइ छ।
उक्त घटनापछि प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर नयाँ बसपार्कको महानगरीय प्रहरी प्रभाग लगेको थियो। त्यहाँ पनि झडप भएपछि स्थिति नियन्त्रणमा लिन महाराजगन्ज र बालाजुबाट थप प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
उनीहरूले प्रहरी अधिकृतहरूमाथि नै हातपात गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए।
तेस्रोलिंगी समुदायका व्यक्ति भने प्रहरीले बिनाकारण आक्रमण र अपमानपूर्ण व्यवहार गरेपछि जवाफ दिनुपरेको जिकिर गर्छन्।
उक्त घटनाका केही तस्बिर र भिडिओ शुक्रबार सार्वजनिक भयो, जसमा तेस्रोलिंगी समुदायका केही व्यक्तिको टाउकोमा गहिरो चोट र शरीरमा निलडाम देखिन्छ। यो चोट प्रहरी आक्रमणले भएको उनीहरूको भनाइ छ। प्रहरी भ्यानमा समेत केहीलाई कपडा नलगाएको अवस्थामा राखिएको देखिन्छ। तस्बिर र भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरी कारबाहीको विरोध भइरहेको छ।
ब्लु डाइमन्ड सोसाइटीले शुक्रबारै विज्ञप्ति जारी गर्दै १५ जना तेस्रोलिंगी व्यक्तिलाई प्रहरीले बन्दुकको कुन्दा र भाटाले कुटपिट गरेको जनाएको छ। तीमध्ये दुई जनाको टाउकोमा पाँचवटाभन्दा बढी टाँका लगाउनुपरेको विज्ञप्तिमा छ।
सोसाइटीले राज्यको सुरक्षा निकायबाटै तेस्रोलिंगी समुदायमाथि हिंसात्मक हमला भएको भन्दै भर्त्सना गरेको छ। प्रहरी हिरासतमा रहेका १६ जनाको अविलम्ब रिहाइ र घटनाको स्थलगत छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगसँग माग पनि गरिएको छ।
एसएसपी सिंहले भने यसको खण्डन गर्दै उल्टै प्रहरीमाथि हातपात भएको प्रस्टीकरण दिएका छन्। उनीहरूले रात्रिकालीन अवस्थामा विकृति फैलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिन खोजेको उनले बताए।
'प्रहरीले आक्रमण गरे भन्ने आरोप गलत हो। उल्टो प्रहरीले सोधपुछ निम्ति नियन्त्रणमा लिएर आइसकेपछि नयाँ बसपार्क प्रहरी कार्यालयको क्यान्टिनमा राखेका काेकका बोतल, पानीका बाेतल तोडफोड गरियो, प्रहरीमाथि नै हातपात भयो,' एसएसपी सिंहले भने, 'दस जना प्रहरी घाइते भएका छन्।'
प्रहरी कार्यालय ल्याएपछि उनीहरूले उत्तेजित भएर 'हामीलाई किन समातेको' भन्दै तोडफोड गरेको र केहीले आफ्नो टाउकोमा आफैंले प्रहार गरेको उनको दाबी छ।
प्रहरीले उनीहरूलाई महाराजगन्ज कार्यालयमा हिरासतमा राखेर अभद्र व्यवहारको मुद्दा चलाएको छ।