छेउमै वडा कार्यालयले बनाइदिने भनेको अधुरो घर छ। गोर्भु सुनाहको परिवार भने त्यही अधुरो घर हेर्दै चिसो शितलहरबाट बच्ने दिनको पर्खाइमा छन्।
गोर्भुकी छोरी च्यातिएको त्रिपाल हेरेर सोध्छिन्- हाम्रो राम्रो घर किन छैन, बाबा?
उनले यही प्रश्न गोर्भुलाई गरेको ६ वर्ष पुग्नै लाग्यो।
गोर्भुले यस सालको चिसोमा त्रिपालमुक्त हुन्छु सोचेका थिए।
उनले छोरीलाई पनि यसपाला त राम्रो घर अवश्य बन्छ भनिसकेका थिए। गत वर्षको जेठ भित्रै घर बन्ने आशामा बसेको गोर्भुको परिवारको पर्खाई अहिलेसम्म पनि पूरा भएको छैन।
घर बन्ने आसैआसमा दिन काटेको उनीहरूको २ वर्ष पुग्न लागेको छ।
‘पोहर साल जेठमै घरमा बस्न पाउने हाम्रो सपना थियो। अब अर्काे वर्षको जेठ आउनै लाग्दासम्म पनि पूरा हुने हो कि होइन,’ उनले भने।
कञ्चनपुरको भीमदत्त नगरपालिका- १२ र १३ मा स-साना घरका चार बस्ती छन्।
महाकाली नदी छेउमै पर्ने यी बस्तीका नाम ऐरी, ओदाली, पिपरिया र भुजेला हुन्। यी चार बस्तीमा लोपोन्मुख सोनाह जातिको पनि बसोबास छ। बस्तीमा लोपोन्मुख सुनाह जातिका ६५ घरधुरी छन्।
जसमा सुनाहाको ४ सय २० जनसंख्या छ। तिनीहरूमध्ये ३५ घरपरिवारको घरबासको ठेगान छैन। त्यही घरबासको ठेगान नभएकामध्ये पिपरिया बस्तीका ४९ वर्षीय गोर्भु सुनाह एक हुन्।
गोर्भुले छिमेकी चतुर सुनाहको जग्गामा त्रिपाल लगाएर बस्न थालेको ६ वर्ष पुग्नै लाग्यो। घरबास नै नभएर परिवारलाई पाल्न निकै मुस्किल पर्न थालेपछि गोर्भुले पटक-पटक वडा कार्यालयमा गुहार मागे।
धेरै पटक समस्या सुनाएपछि वडा कार्यालयले बजेट छुट्याएर २०७६ जेठमा घर बनाउन सुरू गरेको थियो।
‘सुरूमा त्यही महिनाभित्र घर बनाएर सक्ने भन्दै काम थालियो। छतमा टिनको छाना लगाउने भनियो,’ गोर्भुले भने, ‘वडा कार्यालयबाटै फेरि टिनले हुरी बतास चलेका बेला जोखिम हुन्छ, लेन्टर नै हाल्ने भनेर छलफल गरियो भन्नेछ। मलाई त खबर गरेन।’
घर बनाउन सुरू गरेको १५ दिनसम्म निरन्तर काम चल्यो। पछि बन्द भयो। काम किन बन्द भयो भनेर सोध्दा वडा कार्यालयले एक लाखमात्रै बजेट छुट्याएकाले पैसा नपुगेको जवाफ आयो।
‘वडाध्यक्षले बजेट छैन, अब नयाँ आर्थिक वर्ष बजेट थप गर्छौ। त्यसपछि काम सक्छौं भनेका थिए,’ उनले भने।
चालु आर्थिक वर्ष सुरू भएको ७ महिना लाग्दासमेत अहिलेसम्म घर बनाउने काममा हात नहालेको उनले बताए।
भीमदत्त नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्णसिंह देउवाले अघिल्लो आर्थिक वर्षको बजेटले पूरा काम नसकिएको बताए।
‘गत आर्थिक वर्षमा १ लाख ५० हजार बजेट छुट्याएका थियौं। त्यसले काम पूरा भएन, त्यसपछि चालु आर्थिक वर्षमा योजना नै बनाएर बजेट छुट्याउने भनेका थियौं। छनौट पनि गर्यौं तर नगरपालिकाले त्यो योजना काटिदियो,’ उनले भने।
टिन लगाउन जोखिम भएकाले बजेट थप गरी लेन्टर हाल्ने तयारी गरे पनि नगरपालिकाले योजना काटेपछि अब फेरि टिन नै लगाउने तयारी भइरहेको उनले बताए।
उनले वडा कार्यालयमा भएका जस्तापाता दिएर केही दिनमा घर छाउने दाबी गरे।
गोर्भुले त्रिपालमा बस्न चिसोमा धेरै गाह्रो हुने गरेको बताए।
‘राति सुतेका बेला तपतप पानी चुहिन्छ,’ उनले भने। गोर्भुले शारिरीक रूपमा राम्रै भए पनि मानसिक रूपमा आफू केही कमजोर भएको बताए।
उनी सुस्त मनस्थिति अपांगभित्र पर्ने वडाध्यक्ष देउवाले बताए। गोर्भु अरू सरह फटाफट बोल्न सक्दैनन्, जवाफ फर्काउन सक्दैनन्।
उनकी श्रीमतीको एक हात र एक खुट्टा चल्दैन। त्यसैमाथि उनी मृगी रोगबाट ग्रसित छिन्। त्रिपालमुनि बिरामी श्रीमती र छोरीलाई राख्नुपर्दा उनको गोर्भुको मन रोएको छ।
‘चिसोमा सबै जना कठ्याग्रिन्छौं, छोरीलाई निमोनियाको समस्या देखिएको छ,’ उनले भने। यही समस्याले छोरीलाई पनि स्कुल पठाउन नसकिएको उनको भनाइ छ।
‘श्रीमती अपांग हुनाले काम गर्न सक्दिनन्, मैले गरेको मजदुरीको पैसाले बिहान-बेलुकाको छाक टार्न ठिक्क हुन्छ,’ उनले भने।
उनलाई वडा कार्यालयले आफ्नो लागि बनाइदिने भनेको घर छिटो बनाइदिए परिवारलाई सहज हुने थियो जस्तो लाग्छ।
वर्षातमा भिज्दै रात-दिन कटाएका उनीहरूले हिउँदको चिसोमा पनि उही अवस्था झेल्दै छन्। त्रिपालमुनि उज्यालो छैन। किरा, सर्पले तर्साएका अनेक घटना उनीहरूले कथाझैं सुनाउँछन्।
शौच गर्न उस्तै समस्या छ। उनीहरू शौचको लागि महाकाली नदीको किनारमै जानुपर्छ। गोर्भुजस्तै घरबासको ठेगाना नभएका भीमदत्तका सुनाह समुदायले सरकारलाई घरबासको व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।
भीमदत्त नगरपालिकाका सुदूरपश्चिम प्रदेशको एउटामात्र सुनाह जातिको बढी बसोबास भएको ठाउँ हो। अरू केही स्थानीय तहमा एक-दुई परिवार यस समुदायका मानिसको बसोबास छ।
लोपोन्मुख सुनाह जातिको मुख्य पेसा ‘सुन छान्ने’ मानिएको भए पनि अहिले त्यो पेसामा कोही छैनन्। पुर्खाहरूले सुन छानेर नै जीविकोपार्जन गरे। नदीमा गिट्टी बालुवाको उत्खनन् हुने कार्य बढ्दै गएपछि सुन खोज्ने, चाल्ने काम बन्द भएको सुनाह समुदायका मानिसहरू बताउँछन्।
गासबासको समस्या सँगसँगै सुनाह सुमदायले आफूहरूको पहिचानको मुद्दा उठाइरहेका छन्। १६ वर्षदेखि सुनाह समुदायका मानिसलाई जातीय सूचीमा राख्नुपर्ने आवाज उठाउँदै आएका छन्।