महानगरीय प्रहरी परिसर ललितपुरमा अहिले ३५ जना थुनुवा छन्। अधिकांश थुनुवाहरूले एउटा साझा माग राखेका छन्, किताबको।
हिरासतमा रहँदा पढ्नका लागि किताबको व्यवस्था मिलाइदिन उनीहरूले परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्जलाई आग्रह गरेका हुन्।
प्रहरीले नियमित रूपमा हिरासत कक्षको निरीक्षण गरिरहेको हुन्छ। गत बिहीबार प्रमुख बज्राचार्य नै हिरासत कक्षमा पुगिन्। त्यहाँ भएका धेरैजसो थुनुवाहरू १९ देखि ३० वर्ष उमेर समूहका युवा पुस्ता थिए।
थुनुवाहरूमाथि प्राय: चोरी, अभद्र व्यवहार, लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको थियो। थुनुवाहरूकै बीचमा पनि तीन जना विप्लव समूहका छन्।
जसमध्ये सचिवालय सदस्य रहेका धर्मेन्द्र बाँस्तोला पनि छन्। उनीहरूलाई प्रहरीले गत पुस २९ गते पक्राउ गरेको थियो।
बाँस्तोलाले उक्त भेटमा बज्राचार्यलाई अनुसन्धानको क्रममा रहँदासम्म केही किताबहरू पढ्न पाए हुने कुरा बताए।
बाँस्तोलाको मागपछि बज्राचार्यले त्यहाँ भएका अन्य थुनुवाहरूलाई पनि सोधिन्- तपाईंहरूलाई के गर्न मन छ?
जवाफमा उनीहरूले खाली समय बिताउन किताब पढ्न मन भएको बताए। हिरासत कक्षमा अहिले टिभी र खेल्ने लुँडोको व्यवस्था मिलाइदिएको छ।
‘टिभीको व्यवस्था त थियो। तर, मैले के गर्न मन छ भनेर सोध्दा उनीहरूले अनुसन्धान हुँदासम्म केही किताबहरू पढ्न पाए हुन्थ्यो भन्ने कुरा गरे,’ उनले भनिन्, ‘अनि मैले साँच्चै किताब पढ्ने हो त भनेर फेरि सोधेँ। उनीहरूले उत्साहित भएर पढ्छौं भने।’
त्यसपछि बज्राचार्यले उनीहरूले पढ्न चाहेको किताबको सूची नै मागिन्। उनीहरूले मागेका किताबको सूची पनि रोचक खालको छ।
‘सीपसँग सम्बन्धित, व्यावसायिक, चर्चित, राजनीतिक व्यक्तित्व लगायतसँग सम्बन्धित किताबहरू पढ्न पाए हुन्थ्यो भनेका छन्,’ बज्राचार्यले भनिन्, ‘संविधान पनि हामीले पढ्न पाए हुन्थ्यो, कानुनका किताब पनि पढ्न पाए हुन्थ्यो भनेका छन्।’
सूचीमा नेपालको संविधान, हरिवंश आचार्यको 'चिना हराएको मान्छे', बिपी कोइरालाको आत्मकथा, 'जेल जर्नेल', विजयकुमारको 'खुसी', म्याक्सिम गोर्कीको 'आमा' उपन्यास, डायमण्डशमशेर राणाको 'सेतो बाघ'जस्ता किताबहरूका नाम थिए।
त्यसैगरी, हिरासतमा रहेकाहरू सीपमुलक किताब, प्रविधि, ड्राइभिङ लाइसेन्स सम्बन्धी, अंग्रेजी, जापानी, कोरियन, चिनियाँ भाषासम्बन्धी किताबको मागेका छन्।
प्रहरीको अनुसन्धान हुँदा कम्तिमा पनि कसुर हेरेर हिरासतमा बस्नुपर्ने दिनको निर्धारण हुन्छ।
‘किताब मागेपछि म पनि उत्साही भएँ। अनुसन्धान हुँदाहुँदै जति किताब पढ्छन्। त्यो सँग प्रभावित भएर उनीहरूले आफ्नो जीवन सुधारे भने सबैभन्दा ठूलो उपलब्धि हुन्छ भन्ने लाग्यो,’ बज्राचार्यले भनिन्।
उनले केही दिनमा नै किताब उपलब्ध गराउने प्रतिवद्धता जनाएकी छन्।
अहिले उनी किताब जुटाउने प्रयत्न गरिरहेकी छन्। हिरासतमा किताब राख्ने कुरा थाहा पाएर आफ्ना साथीहरू नै सहयोग गर्न तयार भएको बज्राचार्यले बताइन्।
सरकारले हिरासतमा किताब राख्नका लागि बजेट छुट्याएको छैन। हिरासत कक्ष सरसफाइका लागि बजेट छुट्याए पनि किताबका लागि छैन।
‘थुनुवाहरूलाई किताब उपलब्ध गराउने भन्ने नयाँ नै हो। यसको लागि आफैंले नै कसरी गर्न सकिन्छ मिलाउने प्रयास गर्दैछु। मेरो विचारमा किताबहरूका लागि समस्या हुन्छ जस्तो लाग्दैन। साथीहरूले फोन गरेर म १०-१५ वटा किताब दिन्छु भनिसक्नु भएको छ। त्यसले गर्दा तुरून्तै गर्छु भनेर लागिरहेकी छु,’ उनले भनिन्।
उनले किताबहरू राख्नका लागि एउटा र्याक पनि तयार पार्दैछिन्।
यसरी हिरासतमै किताब राख्ने ललितपुर परिसर पहिलो हो। यसअघि उपत्यकाका कुनै पनि हिरासतमा किताब दिने व्यवस्था नबनेको उनले बताइन्।
किताब पढेर थुनुवाहरू आफ्नो सोच परिवर्तन गरी फर्कियोस् भन्ने उद्देश्यले नै यस कामका लागि अग्रसर भएको उनी बताउँछिन्।
हिरासतमा बस्दा जिज्ञासाहरू पनि बढ्ने हुँदा किताब पढ्न मन भएको एक थुनुवाले बताए।
‘हिरासतमा बस्दा जिज्ञासाहरू बढ्ने रहेछ। हिरासतमा पहिले परेको थिएन,’ उनले भने, ‘मैले मनोविज्ञानसम्बन्धी किताब मागेको थिएँ। पढ्दा अलिअलि भए पनि ज्ञान हुन्छ भनेर।’
पक्राउ पर्नुअघि उनी ड्राइभिङका लागि ट्रायल दिन लागेका थिए। त्यसैले, ड्राइभिङसम्बन्धी किताबको पनि माग राखेको उनले बताए।
हिरासतमा समय बिताउन गाह्रो हुँदा तनाव पनि बढ्ने र त्यसबाट छुट्कारा पाउन पनि पढ्न चाहेको अर्का थुनुवाले बताए।
‘बाहिर बसेर काम गर्दा हाम्रो फुर्सद पनि हुन्न, थिएन। यहाँ बस्दा फुर्सद छ। फुर्सदमा यतिकै बस्नुभन्दा पनि थाहा नभएको कुरा बुझ्दा राम्रै होला भनेर किताब माग्यौं,’ उनले भने, ‘किताब पढेपछि दिमाग फ्रेस हुन्छ। थाहा नभएको कुरा सिक्न पाइन्छ र जिन्दगीमा अघि बढ्न सकिन्छ। हौसला दिन्छ भनेर पनि किताब माग्यौं।’
परिसरको हिरासतमा केही दिनमै किताब उपलब्ध हुने बज्राचार्यले बताएकी छन्। त्यसरी नै अरू सबै हिरासत कक्षहरूका एक कुनामा किताबहरू राखिदिनु पर्ने उनको भनाइ छ।
‘कस्तो किताबहरू उपलब्ध गराउने भन्ने विषयमा प्रोटोकोल पनि बनाउन जरूरी हुन्छ। त्यो अनुसार प्रेरक, धर्म, अनुशासनसम्बन्धी किताबहरू उपलब्ध गराउँदा हिरासतको बसाइ उपलब्धिमूलक हुन्छ। राज्यले उनीहरूलाई सुधार्नका लागि राखेको हुन्छ। सजायबाट भन्दा पनि किताब पढेर उनीहरू सुध्रिएर जान्छन् भने सस्तो र प्रभावकारी उपाय नै यो हो भन्ने लाग्छ, त्यसैले सबै ठाउँमा विस्तार गर्न जरूरी छ,’ उनले भनिन्।