झापा, बाहुनडाँगीकी कृष्णकुमारी मगरलाई धामीझाँक्रीको औधि भर लाग्थ्यो। टाउको दुखोस् वा आपतविपत, उनी धामीकैमा पुग्थिन्। उनको घरको सिकुवामा धेरैपटक धामी उफ्रे। परिवारमा आइलागेको 'खड्गो काट्ने' बहानामा धेरै कुखुरा काटिए।
ठूली छोरी बेपत्ता भएको करिब दस वर्षपछि उनी फेरि धामीकै शरणमा पुगिन्। काँसको थालमा चामलका दाना जोडी बाँधेर केहीबेर गमेपछि धामीले सुनाइदिए, 'त्यो केटी ज्यूँदै देखिएन। अब उसको अन्तिम कर्म (मृत्यु संस्कार) गर्नू।'
धामीको त्यो घोषणाले ७२ वर्षीया आमाको मुटु बाउँडियो। गहभरी आँशु पारेर कृष्णकुमारी घर फर्किइन्। मनमा अनेकथरी कुरा खेले।
'म धामीका सबै कुरा पत्याउँथेँ,' कृष्णकुमारीले सेतोपाटीसँग भनिन्, 'त्यो चाहिँ पत्याऊँ कि नपत्याऊँ भयो।'
आफ्नी छोरी नरहेको आँखैले देख्दा त आमाको मनले पत्याउँदैन, धामीले भनेका भरमा कसरी स्विकार्नु!
आ...होस्, केही वर्ष हेर्छु भनेर उनी चुपचाप बसिन्। यो कुरा कसैलाई सुनाइनन्, मन धरमर बनाउँदै बसिरहिन्। आफ्नै काखमा हुर्किँदै गरेका उनका सन्तान देखेर बेलाबेला भक्कानो छुट्थ्यो। तर तिनै नातिनातिना हेरेर उनी छोरी फर्किने आशमा दिन काट्थिन्।
एकदिन उनको घरमा दुई जना अपरिचित मान्छे आइपुगे। उनीहरूले एउटा नम्बर हातमा थमाउँदै भने, 'यो नम्बरमा तपाईंहरूले फोन गर्नू अरे।'
नम्बरसित एउटा नाम पनि थियो। कृष्णकुमारीले हतासिँदै फोन गरिन्। फोन उठ्दा उनी चिच्याउनै खोजेकी थिइन्। तर गला ख्याप्पै भयो।
'ए तँ ज्यूँदै छेस्? मैले त यति मात्रै सोध्न सकेछु,' कृष्णकुमारीले भनिन्, 'उसले पनि अँ हौ आमा, के भनेको मात्रै भनी।'
कृष्णकुमारीकी वर्षौंदेखि हराएकी जेठी छोरी जुना मगर किसान ज्यूँदै थिइन्, सम्पर्कमा आइन्। यो कुराकानी भएको छ महिनापछि अहिले जुना घरै आइपुगेकी छन्।
१४ वर्षपछि छोरी घर फर्किँदाको खुसी र धामीप्रतिको भर ध्वस्त भएको बेला एउटै परेको छ कृष्णकुमारीको जीवनमा।
हुन त जुनासँग फोनमा कुरा हुनेबित्तिकै उनी धामी भेट्न पुगेकी थिइन्, 'मेरी ज्यूँदै छोरीलाई मरेको भनेर झन्डै काम गर्न लायौ। अब तिम्रो विश्वास लागेन मलाई।'
धामी 'जोखानाले त्यस्तै देखाकोथ्यो' भनेर पन्छिन खोजे। त्यो दिनदेखि कृष्णकुमारी धामीका गफबाट जोगिएकी छन्।
जुना फर्किएपछि उनको अनुहारको चमक बदलिएको छ। नातिनातिनालाई हेर्दै उनी ढुक्कको सास फेर्न थालेकी छन्।
उनकी छोरी जुना १४ वर्षअघि पैसा कमाउँछु भन्दै बिदेसिएकी थिइन्। गएदेखि नै सम्पर्कमा आइनन्। छोरी बेपत्ता भएकै बेला कृष्णकुमारीका श्रीमान बिते। जुनाकी जेठी छोरीले आफैं बिहे गरिन्। तीन बच्चा भएपछि ज्वाइँसँग अलग भइन्। ती बालबच्चा पनि कृष्णकुमारीकै काखमा आइपुगे। नातिनीले अर्को बिहे गरिन्। कान्छी नातिनीले पनि आफैं बिहे गरेकी थिइन्, तीन वर्षअघि ज्वाइँ पनि बिते। लक्का जवान भइसकेका नाति पनि डिप्रेसनको शिकार भए।
एकातिर आफ्नै परिवारको हेरचाह गर्नुपर्ने, अर्कातिर पनाति-पनातिना सम्हाल्नुपर्ने। मजदुरीका भरमा गुजारा चलाउने सात दशक कटेकी कृष्णकुमारीका लागि दुःखहरू भारीमाथि सुपारी भनेजस्तो थियो। बुढेसकालमा हराएकी छोरीको विचल्ली परिवार समेट्नुपरेको थियो।
जुनाको विदेश यात्राले परिवारलाई लामो समय तनावसँगै भताभुंग अवस्थामा पुर्यायो। उनको विदेश यात्राको योजना एकै दिनमा बनेको थियो।
उनी बारीमा कोदो टिप्दै थिइन्, छिमेकी महिला हाँपदाँप गर्दै त्यहीँ आइपुगिन्। छिमेकीले जे सुनाइन्, जुनाका लागि त्यो सपनाजस्तै लाग्ने नयाँ विपनाको सुरूआत बन्न सक्थ्यो।
'विदेश लाने मान्छे आ'का छन्। कागजपत्र सबै रेडी छ अरे। के छ विचार? अरू त जाने भए।'
त्यस बेलाको तिथिमिति उनलाई याद छैन। कुन बार कसको बारीमा काम गर्न जाने पहिल्यै तय हुने भएकाले बार भने कन्ठै हुन्थ्यो। १४ वर्षअघि कोदो टिप्दै गर्दा त्यो खबर पाएको दिन शुक्रबार थियो।
छिमेकीको प्रस्ताव सुन्दा उनी अनकनाइन्। घरगाउँको दुःख सम्झिइन्। दिन–दिनभर अर्काको खेतबारीमा गरिने श्रमले हुर्किँदै गरेका छोराछोरीलाई खुवाउन हम्मे पर्थ्यो। २०४७–४८ सालतिरै गाउँकै बन्दा किसानसँग प्रेम विवाह गरेकी जुनाकी जेठी छोरी १३, छोरा ९ र कान्छी छोरी ७ वर्षका थिए।
श्रीमान गाउँघरमै मजदुरी गर्थे। उनी डोकोभरि मल बोकेर, अर्काको खेतबारी खनेर साँझ लखतरान घर आइपुग्दा जब श्रीमानलाई देख्थिन्, मन-मष्तिष्कमा अर्को हैरानी थपिन्थ्यो। मदिरामा हरदम लठ्ठिने श्रीमानको दैनिकीले दिक्क पार्थ्यो।
'यो सप्पै कुरा सम्झेँ, विदेशमा राम्रो हुने कुरा सुनेकी थिएँ। जान्छु भन्दिएँ,' जुनाले भनिन्।
यो उनले छिमेकी महिलालाई बारीमै सुनाएको निर्णय थियो। कसले, कसरी र कहिले लैजान्छ विदेश, बिल्कुल बेखबर थिइन्। त्यहाँबाट उनी सोझै छिमेकीको घर पुगिन्। त्यहाँ उनीहरूलाई विदेश लैजाने मान्छे गफ दिएर बसिरहेका थिए।
गाउँलेलाई बताएअनुसार ती व्यक्तिको नाम सुरेश धिमाल थियो। काँकडभिट्टा घर बताउने उनी गाउँका महिला भेला पारेर विदेशमा हुने कमाइ र कामबारे रंगीन सपनाको बिस्कुन लगाउँदै थिए।
यो झापा बाहुनडाँगीको तल्लो तिरिङ भनिने गाउँ थियो। काँकडभिट्टाबाट झन्डै २२ किलोमिटर ढुंग्यौलो बाटो छिचोलेर पुगिने यो ठाउँका अधिकांशको काम कृषि मजदुरी थियो। गरिबीले पिल्सिएका जनजाति बहुल यो ठाउँका महिलालाई सजिलै लोभ्याउन सकिने अनुमानका आधारमा काँकडभिट्टाका सुरेश धिमाल बाहुनडाँगी उक्लिएका थिए।
उनको अनुमान फेल खाएन। गाउँका तीन महिला उनको साथ लागेर 'विदेश' जान राजी भए।
'ल भोलि बिहान तपाईंहरू तयार भएर बस्नू,' उनले भने, 'भोलि नै हिँड्नुपर्छ।'
आजको भोलि नै विदेशिने तयारी भइसक्दासम्म जुना र साथीहरूलाई कुन देश, कस्तो काममा जाँदै थिए, सुइँकोसम्म थिएन। घरभित्रको काम हो, आम्दानी राम्रो हुन्छ मात्र भनिएको थियो।
'त्यही लोभले हामी भोलिपल्टै उनको साथ लागेर जान तयार भयौं,' यही साता बाहुनडाँगीको घरमा जुनाले भनिन्, 'साथमा पैसा थिएन। पैसा, कागजपत्र सबै म मिलाउँछु भनेपछि हामी ढुक्क थियौं।'
घर पुगेर उनले श्रीमानलाई सुनाइन्। उनले 'तँलाई मन लाग्छ भने जा' भनिदिए। छोराछोरी माइती लगिन्। साथमा ६ सय रूपैयाँ, नागरिकता र केही लुगाकपडा च्यापेर शनिबार बिहानै उनी हिँडिन्।
गाउँका अरू दुई महिला र सुरेश धिमालका साथ लागेर उनी भारतीय सहर सिलिगुढी पुगिन्। त्यहाँ पाँच दिन बसेपछि उनीहरूलाई दिल्ली पुर्याइयो। दिल्ली पुगेपछि सुरेश 'केही दिन लाग्छ, तपाईंहरू बस्नू' भनेर हिँडे।
'हामीलाई खान, बस्न दिएको थियो, पैसा पनि कसैले माग्थेन,' एकमहिने दिल्ली बसाइपछि उनीहरूमध्ये केहीलाई कुवेत र उनीहरू तीन जनालाई साउदी अरेबिया लगियो।
साउदी पुगेको दिन उनीहरूलाई एउटा अफिस लगियो। त्यहाँ पुगेपछि बल्ल उनलाई थाहा भयो, उनको हातमा रहेको पासपोर्ट र नागरिकतामा फोटो उनकै थियो, नाम अर्कैको। उनको साथमा गएका दुई साथी र अन्तैबाट गएका सबैको हालत त्यही रहेछ।
बाहुनडाँगी–९ तिरिङकी जुना मगर किसान त्यहाँ पुग्दा झापा लखनपुरकी लीलामाया धिमाल बनिसकेकी रहिछन्। नक्कली पासपोर्ट बनाएर लगेका रहेछन्। त्यही अफिसबाट उनीहरूलाई आ–आफ्ना मालिकले लिएर गए। त्यस बेलासम्म साथीहरू छुटिसकेका थिए। उनलाई साउदीको ताबुक सहरकै एउटा बिरानो ठाउँ पुर्याइयो। जुनालाई लाग्छ, त्यहीँबाट उनका दूर्दिन सुरू भए।
पहिलोपटक लगिएको घरमा उनी ११ दिन मात्रै टिक्न सकिन्।
'एकदमै नराम्रो व्यवहार हुन थाल्यो, म भागेर अफिस गएँ,' उनले भनिन्, 'त्यसपछि अर्को घरमा ८ महिना बसेँ। त्यहाँ पनि कुट्ने, पैसा नदिने गर्न थाले।'
त्यसपछि अर्को घर, फेरि अर्को घर हुँदै चार वर्षमा उनी चार घर पुगिन्।
दोस्रो घर पाकिस्तानीको थियो। त्यहीँ हुँदा उनको मोबाइल चर्पीमा खस्यो। जसै मोबाइल खस्यो, उनले साथमा भएका सबै सम्पर्क नम्बर गुमाइन्। घरतिरबाट आउने फोन बन्द भयो। न कुनै नम्बर उनलाई कन्ठ थियो, न कतै टिपेर राखेकी थिइन्। विदेशिएको वर्ष दिन नपुग्दै उनी सम्पर्कविहीन भइन्।
पाकिस्तानीहरू घर फर्कने भएपछि जुनालाई उनीहरूकै साथीकहाँ लगियो। त्यहाँ उनलाई मोबाइल चलाउन पूर्ण निषेध थियो। यहाँ उनले कति कुटाइ खाइन्, त्यसको लेखाजोखा छैन। मालिककै पिटाइबाट देब्रे आँखा देख्न छाडेको धेरै भयो। हिसाब उनले काम गरेको पैसाको पनि थिएन। यसअघि भने उनले १२ हजार रूपैयाँ घर पठाउन सकेकी थिइन्।
मासिक ५ सय रियाल दिने भनिएको थियो, तर मालिक दिनै मान्दैनथे। जुना सम्पर्क र पैसाविहीन थिइन्। कतै जाऊँ खर्च नहुने, चिनेको कोही नहुने। बिरानो देशमा उनको चिच्याहट सुन्ने कोही हुँदैनथ्यो।
'घरबाट पहाड देखियो भने हाम्रै सलकपुर होलाजस्तो लाग्थ्यो,' उनले सुनाइन्।
यातना र बिनापैसा काम, परिवारबाट सम्पर्क टुटेको झोंकमा एकदिन एउटा घरमा तरकारी काट्ने छुरी लिएर उनी मालिकमाथि नै जाइलागेको सम्झिन्छिन्।
'अति भएपछि जे होला होला भनेर छुरी हातमा लिएकी थिएँ,' उनले सुनाइन्, 'मालिक पछि हटेर जोगियो, नत्र हान्दिन्थेँ।'
मालिकमाथि जाइलागेपछि उनलाई अर्कै घर पुर्याइयो। त्यहाँ उनले १० वर्षभन्दा बढी समय लगभग बन्धक जीवन बिताइन्। घरबाहिर रहेको पसलसम्म मात्रै पुग्न पाउँथिन् उनी।
'मालिकका पाँच छोराछोरी थिए, ती सबै मेरै जिम्मामा,' उनले भनिन्, 'पछिल्लो आठ महिनायता मोबाइल चलाउन दिएका थिए। तर, पैसा दिएका थिएनन्।'
झन्डै डेढ दशकमा उनीसँगै गएका गाउँका दुई साथी समयमै घर फर्किए। फेरि विदेशिए। आउजाउ चलिरह्यो। घरबार सम्हाले। उनीहरूले घर आउँदा भन्थे, 'हामीसँग पनि जुनाको सम्पर्क छैन। अझै आएकी छैनन्?'
परिवारका सदस्य झन् अत्तालिन्थे। उनलाई सम्पर्क गर्न निरक्षर र गरिब परिवारसँग कुनै उपाय थिएन।
एकदिन जुनाको जीवनमा उज्यालो किरण आयो। उनले काम गर्ने घरनजिकैका पसलेले उनको मोबाइलमा इमो र ह्वाटसएप डाउनलोड गरिदिए। चलाउने तरिका सिकाइदिए।
जुना आफ्नो नम्बरजस्तै अर्को नम्बरमा फोन गर्थिन्, नेपाली खोज्थिन्। फेला पर्थेनन्। यसरी हप्तौंसम्म खोजी गर्दा इमोमा एक जना नेपाली फेला परे। देउतै भेटेजस्तो लागेका उनले सुरूमा केही नेपालीको नम्बर दिए। तर विस्तारै यौन हिंसाजन्य कुरा गरेर उनको घाउमा नुन छरिदिए।
तिनै व्यक्तिले दिएको नम्बरमध्येबाट बाहुनडाँगीकै एक युवा उनको सम्पर्कमा आए। उनी नेपाल फर्कनै लागेका थिए।
नेपाल आएर उनको घर खोज्दै ती युवा तिरिङ पुगे र उनकी आमा कृष्णकुमारीलाई कागजमा लेखिएको नम्बर र नाम दिए।
५० वर्षे जुनालाई ती युवाको नाम याद छैन।
त्यो दिनपछि आमा र छोरीबीच सम्पर्क हुन थाल्यो। जुनाले बल्ल थाहा पाइन्, उनका श्रीमान तीन वर्षअघि बितेछन्। बुबा र ससुरा पनि बितेछन्। छोरीले तीन छोराछोरी आमालाई जिम्मा लगाएर अर्को बिहे गरिछन्। कान्छीले पनि घरजम गरिछन्। डिप्रेसनले सताएका छोरा बिनाउपचार भौंतारिएका छन्। खर र बाँसका भाटाले बनेको घरको नामनिसान छैन।
वर्षौंपछि परिवारसँग भेटिएको खुसीबीच यी सबै सुन्दा भाउन्न भयो उनलाई। रून कराउन पनि नसक्ने अवस्था थियो।
'म विदेश आएपछि यो सबै भएको थियो,' उनलाई लाग्छ, 'नेपालमै भएको भए दुःखजिलो गरेर पनि परिवार सम्हाल्ने थिएँ। यो बिजोग हुन दिन्नथेँ।'
परिवारसँग सम्पर्क भएपछि उनले थाहा पाइन्, ठूलोबुबाका छोरा (भाइ) हेमराज दुबईमा छन्। हेमराज नेपालकै केही परिचित र एनआरएनको सम्पर्कमा पुगे। उनीहरूकै सहायतामा गत कात्तिक २६ गते ताबुकस्थित एउटा घरबाट जुनाको उद्धार भयो।
जेद्दास्थित महावाणिज्य दूतावासका श्रम सहचारी प्रेम उपाध्याय लगायतको टोलीले उनको उद्धार मात्रै गरेन, यतिन्जेलको पारिश्रमिक दिलाउन श्रम अदालतमा मुद्दा पनि लडिदिए। करिब ३० हजार रियाल हात पारेर उनलाई सुरक्षित रूपमा नेपाल पठाइदिए।
काठमाडौं ओर्लेपछि उनलाई पिँजडाबाट बाहिर निस्केको चराजस्तो अनुभव भएको थियो रे।
'काठमाडौं आइपुगेपछि बल्ल बाँचेजस्तो लाग्यो,' उनले सुनाइन्। काठमाडौंमा बहिनीकहाँ केही दिन बसेर उनी झापा घर आइपुगेकी हुन्।
'अब सबभन्दा पहिले छोराको उपचार गर्नुपर्नेछ,' जुनाले योजना सुनाइन्, 'सानो घर बनाउन थालेकी छु। त्यही पैसाले सानोतिनो केही व्यवसाय गर्ने पनि विचार छ।'
त्यसबाहेक काखे तीन नातिनातिनाको भविष्यको जिम्मा उनकै काँधमा सरेको छ, 'अब भताभुंग भएको परिवार सम्हाल्छु भन्ने आँट छ।'
उनको आत्मविश्वासले सबभन्दा ठूलो खुसी आमा कृष्णकुमारीलाई दिएको छ। बुढेसकालमा काँधको भारी कम भएको छ।
जुनालाई भेट्न घर आउनेहरू जोकोहीलाई कृष्णकुमारी अचेल भन्छिन्, 'यो धामीको भर पर्नु हुने रैनछ है। झन्डै मलाई यसको काम (मृत्यु संस्कार) गर्न लगायो। अब धामीलाई कहिले जोखाना हेराउँदिनँ।'