सुर्खेतको वीरेन्द्रनगरमा पर्ने काँक्रेबिहार संरक्षित क्षेत्र जरायोको बासस्थानका रूपमा रहेको छ।
नेपालको पहिलो संरक्षित वनका रूपमा रहेको काँक्रेबिहारमा ८० भन्दा धेरै जरायो छन्। अरू विभिन्न खालका वन्यजन्तु पनि त्यहाँ बसोबास गर्छन्।
पछिल्लो समय काँक्रेबिहार क्षेत्रमा बस्ने वन्यजन्तु जरायोको संरक्षणमा भने चुनौती बढ्दै गएको छ। वर्षेनि जरायो मर्ने गरेका छन्। कतिपय जरायो चोरी सिकारी गर्नेको निशानामा परेर मरेका छन् भने कतिपय जंगलबाहिर निस्कँदा विचलित भएर मर्ने गरेका छन्।
काँक्रेबिहार क्षेत्रभित्र गत आर्थिक वर्ष मात्र चार वटा जरायो मरे। तीमध्ये एउटाको घाइते अवस्थामा उद्दार गरी उपचार गर्ने क्रममा मृत्यु भएको थियो। बाँकी मृत फेला परेका तीन वटा जरायोलाई गोली लागेको थियो।
‘गत वर्ष तीन वटा जरायोलाई गोली लागेको अवस्थामा मृत भेटिएपछि चोरीसिकारी गर्नेहरूबाट जरायोहरू जोखिममा रहेको देखिन्छ,’ डिभिजन वन कार्यालय वीरेन्द्रनगरका वन अधिकृत टेक रावलले भने, ‘ती जरायोहरूलाई गोली हान्नेहरू भने पत्ता लगाउन सकिएन, अहिले पनि काँक्रेबिहारमा बस्ने जरायोहरू चोरीसिकारीको निशानामा छैनन् भन्न सकिँदैन।’
यो वर्ष काँक्रेबिहार क्षेत्रको एउटा जरायो मरेको छ। माघ ४ गते बुलबुले तालमा फसेको अवस्थामा अन्दाजी तीन वर्षको जरायोको उद्धार गरिएको थियो। उपचारका क्रममा दुई दिनपछि उक्त जरायो मर्यो।
आफ्नो समूहसँग जंगलबाहिर निस्किएको उक्त जरायो विचलित भएर बुलबुले तालतिर जानेक्रममा तारबारमा ठोक्किएर मरेको अनुमान गरिएको छ। ‘जरायोहरू बाहिर निस्कँदा समूहमा निस्कने गर्छन्, कतिपय साना जरायोहरू त्यसबेला विचलित भइहाल्ने रहेछन्,’ वीरेन्द्रनगर–९ का वडा अध्यक्ष सुरेश मानन्धरले भने, ‘त्यो जरायो पनि त्यसै भएर बुलबुलेतर्फ दौडिने क्रममा तारबारमा ठोक्किएर मरेको हुन सक्छ।’
काँक्रेबिहार संरक्षित क्षेत्र वरिपरि पर्खाल नबन्दा त्यहाँको वन्यजन्तुसँगै वन पनि संरक्षणमा चुनौती भएको वडाध्यक्ष मानन्धर बताउँछन्।
उनका अनुसार काँक्रेबिहार वरिपरि ७ किलोमिटर पर्खाल बनाउनुपर्छ। यसका लागि ठेक्कासमेत भइसकेको भए पनि सम्बन्धित निकायबाट काम अगाडि नबढेको उनले बताए।
‘वरिपरि पर्खाल नहुँदा वन्यजन्तुमध्ये केही चोरीसिकारी गर्नेको आँखामा पर्छन्, केही विचलित भएर बाहिरै मर्ने गरेका छन्,’ वडा अध्यक्ष मानन्धरले भने, ‘पर्खाल नबनाएसम्म वन र वन्यजन्तु जोगाउनै नसकिने भयो, सम्बन्धित निकाय यसमा गम्भीर भइदिएकै छैन।’
क्रमगत रूपमा निर्माण गर्नेगरी पहिलोपटक १४ करोडको ठेक्का वन निर्देशनालयमार्फत् भइसकेको उनले बताए।
‘हामीले यो काम सुरू गर्न बारम्बार निकायलाई भनिरहेका छौं, तर सुनुवाइ नै भएको छैन,’ उनले भने।
काँक्रेबिहार संरक्षित वनभित्रका वन्यजन्तु र वनको संरक्षणका लागि स्थानीयको पनि छुट्टै समूह रहेको उनले बताए।
स्थानीय समूह र प्रहरीमार्फत् संरक्षणको अधिक प्रयास भए पनि पर्खाल नहुँदा सम्भव नभएको मानन्धर बताउँछन्।
काँक्रेबिहार संरक्षणका लागि डिभिजन वन कार्यालयको पोष्ट पनि स्थापना गरिएको वन अधिकृत रावलले बताए। उक्त पोष्टमा पाँच जना कर्मचारी छन्। उनीहरूले स्थानीयसँग समन्वय गरेर गस्ती गर्ने काम गरिरहेको उनले बताए।
‘खासमा त्यो पोष्ट थुनुवाहरूलाई राख्नका लागि बनाइएको हो, तै पनि त्यहाँका कर्मचारीले रेखदेखको काम पनि गर्ने गरेका छन्,’ रावलले भने, ‘स्थानीयहरूले पनि आफ्नो तर्फबाट समूह बनाएर त्यहाँ रेखदेख गर्ने काम गरिरहनुभएको छ।’
स्थानीयलाई बाली जोगाउनै मुश्किल
चारैतिर बस्ती भएकाले काँक्रेबिहार वन क्षेत्रमा बस्ने वन्यजन्तुबाट स्थानीय कृषकको बालीसमेत जोगाउन मुश्किल परेको वडा अध्यक्ष मानन्धरले बताए। वन क्षेत्रभित्र घाँसको अभाव हुँदा पनि वन्यजन्तु बारीमा लगाइएको बाली खान जाने गरेको उनले बताए।
‘वरिपरिका किसानले लगाएको बाली खान काँक्रेबिहार वन क्षेत्रका वन्यजन्तु जाने गर्छन्, स्थानीयले हामीलाई गुनासो सुनाउनुहुन्छ,’ उनले भने, ‘खुला क्षेत्र भएकाले त्यहाँका कृषकहरूको वर्षभरिको मेहेनत समेत कहिलेकाहीँ खेर जाने गरेको छ।’
१७५ हेक्टर क्षेत्रफलमा फैलिएको नेपालकै पहिलो संरक्षित वन काँक्रेबिहारमा जरायो, मृग, बँदेल लगायतका वन्यजन्तुसँगै केही दुर्लभ वन्यजन्तुको समेत बसोबास रहेको छ।
काँक्रेबिहार वन क्षेत्रमा काठ तस्करीदेखि वन्यजन्तुको सिकार गर्ने क्रम पनि बढ्दो रहेको स्थानीय केशव कोइरालाले बताए।