मंगलबार छविसपाथिभेरा गाउँपालिका–३ को बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव थियो।
व्यवस्थापन समितिको अध्यक्ष पदका लागि नेकपा पक्षधर नेकपा र नेपाली कांग्रेस पक्षधर दुई प्यानलमा देखिएका थिए।
दुबै पक्षका तर्फबाट उम्मेदवारी परेको थियो।
२०७५ को वैशाखमै उक्त विद्यालयमा व्यवस्थापन समितिको कार्यकाल सकिएको थियो। त्यसै वर्ष नयाँ समिति गठनका लागि प्रयास भए पनि सम्भव भएको थिएन।
यस वर्ष कात्तिकमा पनि विद्यालय व्यवस्थापन समिति गठनका लागि बैठक बसेको थियो। त्यस बेलादेखि नै अध्यक्ष पदका लागि उम्मेदवारी दिएकाबीच सहमति हुने छाँट नदेखिएपछि चुनाव हुने पक्का थियो।
त्यसपछि पनि छलफल भए। सर्वसम्मत अध्यक्ष चयन हुन नसकेपछि चुनाव तय भयो। मंसिरमै चुनाव गर्ने भनिए पनि सर्दै माघ १३ गतेसम्म पुगेको थियो।
पुसको अन्त्यतिर केही विद्यार्थी, शिक्षक र अभिभावकसहितले व्यवस्थापन समिति गठन हुनुपर्ने, विद्यालयमा शिक्षक दरबन्दी अनुसार हुनुपर्ने लगायतका माग राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए।
बान्नीचौर माध्यमिक विद्यालयमा २८ जना शिक्षक छन्। यहाँ कक्षा १२ सम्म पढाइ हुन्छ।
व्यवस्थापन समितिको चुनाव हुने भएपछि दुबै उम्मेदवारका तर्फबाट भोट माग्न अभिभावकलाई भेट्ने काम भएको थियो।
एक जना स्थानीयले राष्ट्रिय चुनावकै झल्को दिने गरी भोट माग्ने काम भएको बताए।
‘चुनावका लागि माहोल बेग्लै थियो, आफ्ना पक्षमा भोट माग्न दुबै पक्ष लागेका थिए,’ उनले भने।
१३ गते बिहान ११ देखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको थियो।
जिल्ला सदरमुकामबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब ३० जना जतिको टोली निर्वाचनस्थलमा खटिएको थियो।
निर्वाचन अधिकृत गाउँपालिकाका सहायक प्रमुख गगन अयडी थिए। गाउँपालिकाका केही वडाका अध्यक्ष र शिक्षा शाखाका कर्मचारी पनि चुनावमा सहभागी थिए।
मतदान शान्तिपूर्ण तरिकाले सकियो। यसबेलासम्म मानिसहरूबीच ठूलो विवाद देखिएको थिएन।
जम्मा मतदाता अभिभावकको संख्या ३ सय ७० जना थियो। ती मध्ये ३ सय ३७ मत खसेको थियो।
अध्यक्ष पदका उम्मेदवार लोकन्द्र बोहराले १७७ ल्याए भने उनका प्रतिद्वन्द्वी गजेन्द्र धामीले १४८ मत प्राप्त गरेका थिए।
यस्तै, शिक्षक अभिभावक संघको अध्यक्षमा सुरेश रोकायाले १७० मत ल्याए भने उनका प्रतिद्वन्द्वी कल्याण बोहराले १४८ मत ल्याएका थिए।
चुनावमा बहुमत ल्याएका कांग्रेस पक्षले विजय जुलुस निकाल्यो। केही पर पुगेर कोणसभा गरिएको थियो।
बेलुका सबै घरतिर हिँडे।
साढे सात बजेतिर पाटागाउँमा घटना भयो भनेर सुनियो। नजिकै रहेका जंगबहादुर सिंहले आफू केही मिनेटमै घटनास्थल पुगेको बताए।
‘दिउँसो म पनि निर्वाचनमै एजेन्टका रुपमा थिएँ, बेलुका घटना भएको सुनेर त्यहाँ पुगें,’ उनले भने।
विजय जुलुस भएका बेला दुई पक्षबीच विवाद भएको उनले बताए।
‘प्रहरीकै अगाडी केही युवाहरूले हेल्मेट प्रहार गरेका थिए,’ उनले भने।
बेलुका घटनास्थल झोरखेल्लामा पुग्दा रगताम्य अवस्थामा अमृत सिंह भेटिएका थिए।
‘उनको घाँटी र कानको बीचमा चोट थियो, उनी बेहोस भएर पल्टेको अवस्थामा थिए,’ उनले भने।
उनले त्यहाँकै स्थानीयले एक जनालाई तुरुन्तै समातेको बताए। त्यसबेला अरु फरार भइसकेका थिए।
एक घण्टाजति समयपछि प्रहरी पुगेको उनले बताए।
‘प्रहरी आएपछि जिपमा उनलाई सदरमुकाम लगियो र समातेको एक जनालई पनि बुझाइयो,’ उनले भने।
सदरमुकाम चैनपुर लैजाँदै गर्दा युवकको बाटोमै मृत्यु भइसकेको हुनसक्ने उनले अनुमान गरे।
‘पक्राउ परेका युवकसँग एक हात लामो तरबार पनि थियो,’ उनले भने।
मृतकका आफन्तले राजनीतिक वा अन्य कुनै पनि ‘रिसिइबी’ले हत्या गर्नु अपराध हो भन्दै चार जनाका नाममा किटानी जोहरी दिएका छन्।
‘यहाँ नेकपाको बुहमत छ, उनीहरू सबै ठाउँमा आफ्नै मान्छे राख्न खोज्छन्, त्यसकै उपज यो घटना भयो,’ उनले भने।
चुनावमा विजयी भएका बोहराले मृतक आफ्नो समर्थक भएको बताए।
‘उहाँले ज्यान गुमाउनु परेकोमा दु:ख व्यक्त गर्छु, यस घटनाले बझाङ जिल्ला नै शोकमग्न भएको छ,’ उनले भने।
तर, नेकपा पक्षका एक नेताले भने उनीहरूबीच पहिले पनि बेला-बेला झगडा हुने गरेको दाबी गर्दै यो राजनीतिक घटना नभएको बताए।
‘राजनितिक घटना भए त दिउँसो चुनावकै बेला हुनुपर्ने, राति किन हुन्थ्यो?,’ उनले भने।
त्यहाँ राजनीतिक भन्दा पनि व्यक्तिगत ‘इबी’ हुनसक्ने उनको भनाइ छ।
मृतकको पोष्ट मार्टम भएको छैन। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा जाहेरीका आधारमा चार जनालाई पक्राउ गरिसकेको छ।
पक्राउ पर्नेमा छविसपाथिभेरा गाउँपालिका-२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी, सोही ठाउँका केदार ऐडी र ज्ञानबहादुर कडायत रहेको बझाङका प्रहरी नायब उपरीक्षक खड्काले बताए।
मृतक अमृत सिंह नेपाल तरुण दलका गाउँपालिका संयोजक रहेको बताइएको छ। उनले बझाङबाट प्लस टु सकेर काठमाडौंमा ब्याचलर पढेका थिए। उनी दसैंयता गाउँमै थिए।