माघको चिसो पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि बृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै बिहिबारदेखि एक महिना लामो माधव नारायण मेलाको ब्रत सुरू गरेका छन्।
नेपाल संवतको आठौं शताब्दीदेखि सुरु भएका एक महिने माधवनारायण ब्रत एवं मेला हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ।
बिहिबार बिहान हनुमानघाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधव नारायणको पूजा गरेपछि ब्रत सुरू भएको थियो।
यो मेला भक्तपुरमा नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको मानिन्छ ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामाग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।
कोभिड १९ का कारण यस वर्ष पूजा गर्ने कि नगर्ने अन्योल भए पनि स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार बढी भिडी नगरी ब्रत बस्न दिएको माधवनारायण ब्रत व्यबस्थापन समितिका सदस्य एवं पूजारीले जानकारी दिए।
‘पोहोर वर्षहरुमा निक्कै संख्यामा महिला र पुरूषहरू ब्रत बसे पनि यसपालि कोरोना महामारीले गर्दा त्यति भीड छैन’, उनले भने,‘आजको सुभारम्भ कार्यक्रम पनि अघिल्ला वर्षको जस्तो लामो भएन।’
ब्रतालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरि ईन्द्रेश्वर महादेवको दर्शन गरि अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरि जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्धादशीमा चाँगुनारायण शंखदहमा स्नानगरि कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पुर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर एक महिने ब्रत समापन गर्ने परम्परा रहेको छ ।
ब्रतालुहरुले माघ शुक्ल पूर्णिमाको दिन विहान त्रिवेणी खोलामा आएर स्नान गरि माधवनारायणको पुजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका बिभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर ब्रत समापन गर्ने परम्परा रहेको छ ।