२०७६ भदौमा सुर्खेतको कटकुवा जंगलमा मरेका भेटिएका र बेवारिसे अवस्थामा छोडिएका गाई-गोरूको विषयमा अदालतले १० जनालाई जेल सजाय सुनाएको छ।
बुधबार सुर्खेत जिल्ला अदालतले नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजाय सुनाएको हो।
अदालतले उनीहरूलाई ३ महिनादेखि डेढ वर्षसम्म जेल सजाय तोकेको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीलाई सबभन्दा धेरै डेढ वर्ष कैद सजाय तोकिएको छ।
यस्तै, नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई १ वर्ष, नगर प्रहरी जवानहरू सुवर्ण तारामी मगर, कमल बयक, चन्द्रबहादुर राना र सुशान्त शाहीलाई ६/६ महिना जेल सजाय तोकिएको छ।
नगर प्रहरी जवान पवनकुमार कनोजियालाई ५ महिना जेल सजाय तोकिएको छ भने राकेश भारती, धर्मेन्द्र नेपालीलाई ३/३ महिना तोकिएको छ।
फायरम्यान कमल थापा मगरलाई पनि ३ महिना कैद सजाय तोकिएको छ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले मुलुकी अपराध संहिताको दफा २८९ (२) बमोजिम उनीहरूलाई जेल सजाय सुनाएको हो।
नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित कान्जी हाउसमा रहेका गाई/गोरू र बाच्छाबाच्छी २०७६ भदौ १३ गते ट्रकमा राखेर दैलेख पठाउन थालिएको थियो। त्यसक्रममा २९१ गाई/गोरू र बाच्छाबाच्छीमध्ये ३९ वटा मरेका थिए।
छिन्चु–सुर्खेत सडक खण्ड र सुर्खेत–दैलेख सडक खण्डमा ती पशु मरेको भेटिएका थिए।
बाँचेका अरू गाई-गोरूलाई पनि सडकमै अलपत्र अवस्थामा छोडिएको थियो।
ट्रकहरूलाई स्कर्टिङ गरेर आएको नगर प्रहरी निरीक्षकको टोलीले भदौ १३ गते राति नै सुर्खेतको कटकुवा र बिउरेनी जंगलमा गाई-गोरू झारेको थियो।
मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने सफाइ पाएका छन्।
गाई-गोरू दैलेख पठाउन ट्रक उपलब्ध गराउने गुड्स क्यारियर ट्रान्सपोर्टका सञ्चालक सन्तृप्त सिंह श्रेष्ठ, ट्रक चालकहरू हिमबहादुर जिसी, दामोदर केसी, शत्रुधन चौधरी, सागर विश्वकर्मा र सहचालकहरू विवेक कुँवर, कृष्णबहादुर बिसीले सफाइ पाएका छन्।
गौहत्या प्रक्ररणमा अनुसन्धानमा तानिएका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलसमशेर राणा, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, बाँकेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय र जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाको हकमा भने मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ।
पशु ढुवानी मापदण्ड निर्देशिकाविपरीत लोड गरेर ढुवानी गर्दा गाई-गोरू निस्सासिएर, एकअर्काले कुल्चिएर मरेको अनुसन्धानको क्रममा भेटिएको छ।
अदालतमा पेश गरिएको मेडिकल रिपोर्टमा पनि मृतक गाई-गोरू चोटपटक लागेर मृत्यु भएको उल्लेख छ।