प्रधानमन्त्री केपी शर्मा ओलीले माघ ५ गते गरेको असंवैधानिक संसद विघटनको विरूद्ध काठमाडौंमा नागरिक आन्दोलन जुर्मुरायो।
आन्दोलनमा क्रममा बालुवाटारमा नागरिक आन्दोलनमाथि पानीको फोहोरा हान्ने लगायत सरकारले बल प्रयोग गर्यो। त्यतिबेलासम्म चुपचाप बसेका पोखराका नागरिक उक्त घटनापश्चात् जुर्मुराएको छ।
‘बृहत नागरिक आन्दोलन’को ब्यानरमा शनिबार पोखरामा युवाहरूले जुलुस निकाले।
मानव अधिकार चोकबाट उनीहरूले निकालेको जुलुस महेन्द्रपुलस्थित शहीद भीमसेन दाहालको शालिक अगाडि पुगेर कोण सभा गरेका थिए।
दाहाल २०६२/०६३ को आन्दोलनमा सेनाको गोली लागेर शहीद भएका थिए।
शहीदको शालिक अगाडि उभिएर आन्दोलन उठाउन लागिपरेका सुदर्शन पौडेलले हजुरबुवादेखि आफ्नो पुस्तासम्म लोकतन्त्रको लडाइँमा लाग्नुपरेको भन्दै कहिलेसम्म लाग्ने हो ? भनेर प्रश्न गरे।
देश विधिको शासनमा नचल्दा नागरिकले दु:ख पाएको भन्दै ओलीतन्त्रको छिट्टै अन्त्य हुने बताए।
सभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्रधानमन्त्री ओलीको बोली र व्यवहारले नेपालीको शिर झुकाएको बताए।
‘संविधान कुल्चेर लामो समय सत्तामा बस्न खोजेका छन्’, उनले भने, ‘तिमीहरूको लहडले देश चल्दैन।’
नागरिक सभामा बोल्दै अर्का वक्ता आस्था नेपालीले ओली प्रवृत्तिविरूद्ध सबै युवाहरू सडकमा आउनुपर्ने बताइन्।
प्रधानमन्त्री ओलीले संवैधानिक निकायहरूमा समेत हस्तक्षेप गरेको भन्दै उनले लोकतन्त्रका लागि लड्नुपर्ने अवस्था आएको बताइन्।
लेखक गनेस पौडेलले विगतमा जेका विरूद्ध लडाइँ लडिएको थियो, अहिले त्यसैको पुनरावृत्ति भएको बताए।
‘निरंकुशताले फेरि जन्म लिएको छ’, उनले भने, ‘हाम्रो फेरि पुनर्जन्म हुन जरूरी छ।’
प्रधानमन्त्री ओलीले संसद विघटनमात्र होइन संविधान नै विघटन गरेको पौडेलले आरोप लगाए।
नागरिक आन्दोलनको ब्यानरमा सबै दलका नेता कार्यकर्तालाई आन्दोलनमा सहभागी हुन समेत उनले आह्वान गरे।
‘हामी पहिलो नागरिक हौं, त्यसपछि मात्र पार्टीका हौं’, उनले भने, ‘तपाईं जुनसुकै दलमा लागि पनि नागरिक आन्दोलनमा निर्वाध रूपमा आउनुहोस्।’
प्रधानमन्त्री ओलीले घर झगडाको नाममा देशमै आगो लगाएको समेत पौडेलले बताए।
‘तपाईं आफ्नो घरमा आगो लगाउन पाउनुहुन्छ, गाउँमा आगो लगाउने अधिकार तपाईंलाई छैन’, पौडेलले भने, ‘गाउँ भनेको हाम्रो देश हो, यस्तो अवस्थामा चुप लाग्नु भनेको राष्ट्रघात गर्नु हो।’
नागरिक आन्दोलनमा संगम सांगीतिक मञ्चले गीत प्रस्तुत गरेको थियो। मञ्चका गायक विकास लुङ्गेली र गायिका ममता गुरूङले गीतमार्फत् आन्दोलनका सहभागीहरूलाई उत्साह भरेका थिए।
उनीहरूले गीतमा ‘थुन थुन विमतीका आवाजलाई थुन, कालोलाई कालो हो, भन्न नदिन।’ बोलको गीत गाउँदा आन्दोलनका सहभागी मुग्ध बनेका थिए।
एउटा स्पिकर र एउटा मात्रै माइकबाट उनीहरूले मादल र हार्मोनियम बजाएर गीत सुनाएका थिए।
उक्त गीतको दोस्रो लाइन ‘थुन थुन तिमीलाई हेर्ने आँखाहरू थुन, नांगिएको तिम्रो रूप हेर्न नदिन’ गाउँदा आन्दोलनमा सहभागी नागरिक चुपचाप सुनेका थिए।
विभिन्न नाराबाजी सहित निस्किएको जुलुसका सहभागीहरूले प्लेकार्डमा समेत प्रधानमन्त्री ओलीको कदम सच्याउन माग राख्दै प्लेकार्ड बोकेका थिए।
कोणसभामा पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थी सन्तोष न्यौपानेले कविता वाचन गरेका थिए भने निर्मला न्यौपाने, रामराज रेग्मी, लगायतले मन्तव्य राखेका थिए।