धनुषाबाट मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
प्रहरीले गिरोहका पाँच जनालाई चोरीका ६ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो।
सशस्त्र प्रहरी जवान मिथिलेशकुमार राउतले पार्किंङ गरी राखेको मोटरसाइकल चोरी भएको थियो। उनको मोटरसाइकल चोरी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले चोरीका मोटरसाइकल पत्ता लगाउने क्रममा गिरोहलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए।
पक्राउ पर्नेमा सिरहा विष्णुपुर गाउँपालिकाका रोहितकुमार यादव, प्रमोदकुमार यादव, मनोजकुमार यादव र धनुषाको सबैला नगरपालिका-४ अमरेन्द्रकुमार यादव छन्।
त्यस्तै प्रहरीले चोरीको मोटरसाइकल खरिद गर्ने धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका जितेन्द्र यादवलाई पनि पक्राउ गरेको मिश्रले बताए।
प्रहरीले उनीहरूबाट ज ८ प ८७७५ नम्बरको अपाचे, ज १२ प ६११८ नम्बरको २२० सीसीको पल्सर, स ७ प ५२०३ नम्बरको डिस्कभर, को ३८ प ७६४ नम्बरको सुपर स्प्लेण्डर, स ४ प ५७४६ नम्बरको २२० सीसीको पल्सर र ना ३९ प ६३८२ नम्बरको १५० सीसीको पल्सर फेला पारेको हो।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।