कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण पूरा नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्।
म्याग्दीको दानादेखि पर्वतको कुश्मा खुर्कोटसम्म बनेको २२० केभी क्षमताको प्रसारण लाइन र सवस्टेसनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्न लागेका हुन्।
प्रधानमन्त्री ओली, ऊर्जामन्त्री टोपबहादुर रायमाझी लगायतका टोली यही माघ २२ गते हेलिकप्टरमार्फत् प्रसारण लाइनको उद्घाटन गर्न कुश्मा आउने कार्यक्रम रहेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिए।
कालीगण्डकी नदी र यसका सहायक नदीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न उक्त प्रसारण लाइन निर्माणाधीन छ।
म्याग्दीको दानादेखि बुटवल जोड्ने यस प्रसारण लाइन दुई खण्डमा विभाजन गरेर बनिरहेको छ। जसको पर्वतदेखि बुटवलसम्मको खण्डमा भने आधामात्र काम भएको आयोजनाका अधिकारीहरूले बताएका छन्।
प्रधानमन्त्री ओलीले नै इच्छा देखाएर दानादेखि खुकोर्टसम्म बनेको प्रसारण लाइन उद्घाटन गर्न लागेको जनाइएको छ।
अहिले म्याग्दीको दानादेखि पर्वतको कुश्मा खुकोर्टसम्म मात्र प्रसारण लाइनको तार टाँगिएको छ भने दाना र खुर्कोटमा गरी २ वटा सवस्टेसन बनेको छ।
दानादेखि कुश्माको खुर्कोटसम्म ४० किलोमिटर प्रसारण लाइन र दुइटा सवस्टेसन तयार भएर परीक्षण प्रसारण भइरहेको आयोजनाका प्रमुख चन्दन घोषले बताए।
उनका अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ।
पहिलो खण्डका रूपमा रहेको दानादेखि कुश्मासम्मको काम सकिएको र कुश्मादेखि बुटवलसम्मको काम ५० प्रतिशत पूरा भएको बताए।
एसियाली विकास बैंकको सहयोगमा निर्माणाधीन यस परियोजनाको दानादेखि कुश्मासम्म प्रसारण लाइन र सवस्टेसन बनाउन २ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ।
यस्तै, कुश्मादेखि बुटवलसम्मको प्रसारण लाइन बनाउन करिब ३ अर्ब रुपैया लाग्ने आयोजना प्रमुख घोषले जानकारी दिए।
उक्त परियोजना २०७१/७२ मा सम्झौता भएर २०७५/०७६ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
सम्झौतामा उल्लेख भएको आयोजना पूरा हुनुपर्ने समय १ वर्ष ढिला भइसकेको छ। अझै आधा काम बाँकी नै रहेको परियोजनाले जनाएको छ।