नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीलाई सोमबार सडकमा निकालेको छ। राति १० बजेपछि सेनाले चक्रपथ क्षेत्रमा हतियारसहितका बख्तरबन्द गाडी कुदाएको हो।
१० युद्ध कवज गण स्वयम्भूबाट हातहतियारले सुसज्जित बख्तरबन्द गाडीसहित सडकमा नेपाली सेनाले परेड निकालेको हो।
यसलाई सेनाले मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ।
प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण मानिए पनि जंगी अड्डाले यसलाई नियमित अभ्यासको रूपमा लिएको बताएको छ।
यसअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो शासन हातमा लिँदा बख्तरबन्द गाडी सडकमा निकालिएको थियो।
जंगीअड्डाले यसअघिनै जानकारी दिएर बख्तरबन्द गाडी सडकमा निकालेको हो। दिउँसोको समयमा ट्राफिक जाम हुने भएपछि सेनाले आफ्ना बख्तबरन्द रातिको समयमा सडकमा निकालेको हो।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसलाई नियमित अभ्यासको रुपमा मात्र हेरिदिन आग्रह गरेका छन्। सेनाका अनुसार राति बख्तरबन्द गाडीहरुले काठमाडौं चक्रपथको एक चक्कर लगाएको हो।
हेर्नुहोस् तस्बिरहरू