नेकपा दमकका नेता रेवतराज पुरी ‘गगन’विरूद्ध सवा १२ करोड बिगो माग्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सरकारी जग्गा आफ्नो नाममा ल्याएर बेचेको अभियोग लागेका पुरीमाथि अनुसन्धान थालेको विभागले १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो माग्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पुरीसँगै विभागले उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार र संगीता पुरीविरूद्ध पनि मुद्दा दायर गरेको छ।
केशावतीविरूद्ध १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो मागिएको छ। दिदी मनमायाविरूद्ध ९९ लाख ४ हजार रूपैयाँ बिगो मागिएको विभाग स्रोतले जनाएको छ।
देवकुमार पुरीविरूद्ध ४६ लाख २४ हजार रुपैयाँको बिगो छ। सम्पत्ति जफत प्रयोजनका लागि संगीताविरूद्ध मुद्दा दायर भएको विभाग स्रोतले बतायो।
दमक नगरपालिका-८ (साबिक १३ र १४) मा रहेको ३४ बिगाहा सरकारी जग्गा पुरीले आफू, श्रीमती, दिदी र आफन्तका नाममा ल्याएको विभागको अनुसन्धानमा देखिएको छ।
त्यसमध्ये ३० बिगाहा जग्गा बिक्री गरिसकेको पाइएको एक अनुसन्धान अधिकृतले बताए। बाँकी चार बिगाहा जग्गा रोक्का राख्न मालपोतलाई चिठी लेखिएको उनले जानकारी दिए।
पुरीले २०६६ सालयता सरकारी जग्गा किर्ते गरी आफ्नो र आफन्तको नाममा ल्याएर बिक्री-वितरण गरेको विभागको अनुसन्धानले देखाएको छ। मुद्दामा सरकारी जग्गा बेचेर आर्जित र बढे बढाएको केही सम्पत्ति जफत गर्न माग गरिएको छ।
विभागका अनुसार पुरीकी श्रीमती केशावतीको नाममा रहेको ११ हजार ८४६ वर्गमिटर जग्गा, दुई वटा घर, बा १५ च ७०७६ नम्बरको गाडी, देवकुमारको नाममा रहेको ३९१ वर्गमिटर जग्गा, उनको नामको घर, संगीता र कृष्णकुमार पुरीको नाममा रहेको बिर्तामोडको ३५९३.५२ वर्गमिटर जग्गा जफत गर्न माग गरिएको छ।
रतुवा खोलो-पैनी-बाटो नै पुरीका नाममा
अनुसन्धान अधिकृतका अनुसार पुरीले ३४ बिगाहा सरकारी/ऐलानी जमिन आफ्नो नाममा ल्याउँदा नापी टोली, मालपोत र नापी कार्यालय दमकका कर्मचारीलाई हात लिएका छन्।
ती निकायका कर्मचारीको मिलोमतोमा सरकारी जग्गा आफ्नो नाममा दर्ता गराएपछि पुरीले साना-साना टुक्रा पारेर बेचबिखन गरेको अनुसन्धानमा देखिएको छ।
ती अधिकृतका अनुसार पुरी र उनको परिवारका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा भएको कारोबार, मालपोत तथा नापी कार्यालय झापाबाट प्राप्त श्रेष्ता, लिखत, कागजात तथा विवरण, यातायात व्यवस्था कार्यालयहरू, आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, बयानसमेतका आधारमा अभियोग पत्र तयार भएको छ।
साबिक दमक-१३ मा आफ्नो नाममा रहेका जग्गा अद्यावधिक गर्दा पुरीले ऐलानी, पर्ति जग्गाहरूलाई आफ्नो नाममा श्रेस्ता कायम गराएका छन्। साबिकमा आफ्नो नाममा नै नरहेका सरकारी जग्गाहरूलाई आफ्नो श्रेस्ता कायम गरी अस्वाभाविक तथा गैरकानुनी रूपमा जग्गा बढाएका छन्।
उनी र उनको परिवारका नाममा ६ बिगाहा तीन कठ्ठा १० धुर (४१८२०.९९ वर्गमिटर) मात्र जग्गा देखिएको छ। यसबाहेक उनले आर्जन गरेको सम्पत्तिको स्रोत खुलेको छैन।
सो जग्गा अद्यावधिक गर्दा उनले सरकारको नाममा कायम पैनी, झाँडी, रतुवा खोला, दिपनी खोला, सडक र पर्ति समेतका जग्गा घुसाएर १ लाख १० हजार ६६४ वर्गमिटर आफ्नो नाममा कायम गराएको देखिएको छ।
त्यसरी नै श्रीमती केशावतीको नाममा पुरीले १ लाख ४ हजार ५५७ वर्गमिटर सरकारी जग्गा ल्याएर बेचेको पुष्टि भएको छ। श्रीमतीका नाममा आएको जग्गा पनि झाँडी, रतुवाखोला, दिपनी खोला, सडक र पर्तिसमेतका भू-भाग घुसाइएको छ।
‘यो अवधिमा आम्दानीभन्दा खर्चको विवरण अत्याधिक र खर्चको विवरणको स्रोतसमेत नखुलेको देखिन्छ,’ पुरीविरूद्धको अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै ती अधिकृतले भने।
मनमाया पुरीको नाममा अंशबण्डा हुँदा २ बिगाहा १३ कठा जग्गा थियो। मनमायाको आफ्नो निजी, सरकारको कायम दुई सिटबीचको ग्याप, बल्कबाहिर, झाँडी, दिपनी खोला र पर्तिसमेत जग्गा घुसाएर ८१ हजार १२८ वर्गमिटर जग्गा बढाएको देखिन्छ। जसमध्ये ७७ हजार वर्गमिटर सरकारी जग्गा देखिएको अनुसन्धान प्रतिवेदन छ।
देवकुमार पुरीको नाममा अंशबण्डा हुँदा तीन बिगाहा १४ कठ्ठा जमिन थियो। त्यसमा ९ हजार १० वर्गमिटर सरकारी जग्गा घुसाइएको छ।
‘बिक्री गरेको जग्गा रोक्का राखी संरक्षणार्थ नगरपालिकालाई लेखी पठाइएको छ, बिक्री हुन बाँकी जग्गा रोक्का राख्न मालपोतलाई लेखिएको छ,’ विभाग स्रोतले भन्यो।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सहयोग गर्ने तत्कालीन मालपोत कर्मचारीहरूलाई कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई चिठी लेखिएको छ।
पुरीले सरकारी जग्गा आफू, श्रीमती र आमाको नाममा बढीजसो राखेर बेचेको देखिएको छ। पुरी एक्लैले ५५ जनालाई ५५६०६.५२ वर्गमिटर सरकारी जग्गा बेचेको भेटिएको छ।
पुरीले श्रीमतीलाई हक छोडेको ७९९.२१ वर्गमिटर जग्गा देखिएको छ।
श्रीमती केशावतीले आफ्नो नाममा ल्याएको जग्गा ७८ जनालाई ६०४०१.५४ वर्गमिटर बिक्री गरेको देखिएको छ। आमा मनमाया पुरीले २३ जनालाई ६७९१२.५९ वर्गमिटर जग्गा बेचेको देखिएको छ।
देवकुमारले १६ जनालाई २३४७८.८८ वर्गमिटर जग्गा बेचेको भेटिएको छ।
जफत प्रयोजनमा परेको केशावतीका नाममा रहेका दुई वटा घरको हालको मूल्यांकन ५ करोड ५० लाख ७५ हजार रहेको छ। देवकुमारको नाममा रहेको घरको मूल्यांकन ६१ लाख ६७ हजार ७०० रहेको छ।
रेवतराज र पुरीकी श्रीमती केशावतीले यस अवधिमा विभिन्न ठाउँमा १ करोड ४७ लाख ५० हजार लगानी गरेको देखिएको छ।
रेवतराजले सुखानी मिडिया, बुहारी ग्यास उद्योग, फाल्गुनन्द आयल सप्लायर्स र प्रधान त्रिवेणी कन्स्ट्रक्सन उद्योगमा लगानी गरेका छन्।
केशावतीले आमा कृषि फार्म प्रा.लि., आदर्श कृषि फार्म, कुशुम कृषि परियोजना तथा पशुपालन केन्द्र र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा लगानी गरेको पाइएको छ।
केशावतीको नामा सानिमा बैंकमा २१ लाख ६५ हजार ६८२, रेवतराजका नाममा नबिल बैंकमा १० लाख ९ हजार ८५९ र एमएमबी एबैंकमा ७५ हजार ९०० ऋण देखिन्छ। श्रीमान् श्रीमतीको बैंक मौज्दात भने एकदमै कम छ। १० करोड बैंकिङ कारोबार गरेकोमा ६७ हजारमात्रै बैंक मौज्दात रहेको भेटिएको छ।
केशावतीले दुई वटा घर बनाउँदा ५ करोड ५० लाख ७५ हजार खर्च भएको थियो। त्यसमध्ये ४ करोड ५१ लाख ९० हजार १७३ रुपैयाँको स्रोत खुलेको देखिँदैन।
रेवतराज र केशावतीले २ करोड ८० लाख १० हजार ५७० रुपैयाँमा विभिन्न २१ ठाउँमा जग्गा किनेकोमा २ करोड ४० लाख ४३ हजार १७५ रुपैयाँ स्रोत खुलेको छैन।
विभिन्न कम्पनीमा लगानी गरेको १ करोड ४७ लाख ५० हजार रकममध्ये एक करोड ३१ लाख ३५ हजार ६२६ रुपैयाँको स्रोत खुलेको छैन।
उनीहरूको नाममा चार वटा सवारीसाधन खरिद गरिएको देखिन्छ। जसमध्ये ५३ लाख ६४ हजार ८५२ रुपैयाँको स्रोत खुलेको छैन।
ऋणको साँवा ब्याज भुक्तानी, जग्गा कर भुक्तानी, बैनावापतको रकम, सुन खरिद र बैंक मौज्दातमा ११ करोड २७ लाख १० हजार ९१८ रुपैयाँ रहेकोमा ९ करोड १४ लाख ९० हजार ९६९ रुपैयाँको स्रोत नखुलेको पाइएको छ।
कुनै कालखण्डमा राज्य निकायको सहयोग लिएर व्यक्तिगत रूपमा सरकारी जग्गा खाइमास्ने व्यक्तिहरू अरू पनि हुनसक्ने भएकाले त्यसको खोजबिन गर्न पुरी प्रकरणले बाटो खोलिदिएको विभागका अधिकारीहरूको बुझाइ छ।
‘पुरी अनुसन्धानबाट भूमिसुधार मन्त्रालयले यस्ता व्यक्तिहरूमाथि समयमै निगरानी गर्न सकोस् र सरकारी जग्गा व्यक्तिको नाममा पुग्नुअगावै कारबाही गर्न थालोस् भन्ने सन्देश दिएको छ,’ विभागका एक अधिकारीले भने।
यो जग्गा पुरीले आफ्नो नाममा ल्याएपछि दमक नगरपालिकाको तत्कालीन नेतृत्वले भोगचलनको अधिकार दिलाएको थियो। नगरपालिकाले सर्जमिन मुचुल्का तयारी गरिदिएपछि आफ्नो नाममा ल्याएको सरकारी जग्गा बिक्रीका लागि बाटो खुलेको थियो।
को हुन् पुरी?
पुरी नेकपा एकै ठाउँ हुँदा प्रदेश नम्बर १ कमिटी सदस्य हुन्। हाल उनी नेकपा प्रचण्ड-माधव नेपाल समूहमा रहेको स्थानीय नेताहरू बताउँछन्।
जारी सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा विभागको हिरासतमा उनी ३९ दिन बसे। विभागले दिनहुँ हाजिर हुने सर्तमा हिरासत मुक्त गरेपछि उनी दमक फर्किन पाएनन्। उनको राजनीतिक सक्रियता स्वत: ओझेलमा परेकाले उनी आफैंले आफू कुन कित्तामा रहेको भन्ने खुलाएका छैनन्।
पुरी परिवार दमक-८ (साबिक १३-१४) पुर्ख्यौली जग्गा भएका हुन्। भगवान पुरीका तीन श्रीमतीमध्ये उनी माइलीका छोरा हुन्।
रतुवा खोलाले २०४२ सालमा भगवान पुरीको जमिन बगाएपछि उनीहरू विस्थापित भएर धनकुटा जिल्ला पुगेका थिए।
बाढीले उठाएपछि पुरी परिवार धनकुटाको साबिक तेलिया गाविस पुगेको थियो।
धनकुटामा पनि जग्गाजमिन भएका भगवान दमकबाट उठ्दा पुरी सानै थिए।
बालक पुरीले प्राथमिक कक्षा तेलियामै पढे। माध्यमिक शिक्षाका लागि नजिकै स्कुल थिएन। धनकुटा सदरमुकाम कि तेह्थुम जानुपर्थ्यो।
पुरी तेह्रथुमको साबिक फाक्चामारा गाविस्थित नवीन शिक्षा सदन माध्यमिक विद्यालयमा भर्ना हुन पुगे।
पुरी फाक्चामारामा २०४७ सालतिर पुगेको देखिन्छ।
उनी फाक्चामाराका इन्द्रप्रसाद लुइँटेलको घरमा बसेका थिए। कक्षा ६ देखि १० सम्म इन्द्रप्रसादकै घरमा बसेर पढे।
नवीन शिक्षा सदनकै सेन्टरबाट पुरीले एसएलसी परीक्षा लेखे। पास भएपछि पुरी आइए पढ्न पुरी धनकुटा बहुमुखी क्याम्पस गए।
धनकुटाबाट पुरी परिवार २०५६ सालमा दमक झरेको थियो।
दमकका स्थानीयका अनुसार २०४२ सालमा बाढी आउनुपूर्व भगवानकै घरछेउको ऐलानी जग्गामा सुकुम्बासी बसालिएको थियो।
रतुवा खोलाको बाढी पसिरहने भएकाले उक्त क्षेत्रको नाम ‘बालुवाटार’ नामाकरण गरिएको थियो। हेर्दा आँखाले नभ्याउने उक्त फाँटमा तत्कालीन पञ्चायतले २०३९ सालमा ८४ परिवार सुकुम्बासीलाई जग्गा बाँडेको थियो।
पुरी फर्केपछि उनकै अग्रसरतामा २०६५ सालमा रतुवा खोलामा बाँध बाँधेर जग्गा जोगाउन थालियो। पुरीले फिल्डबुक आफ्नो नाममा गराए। ती सुकुम्बासी हेरेको हेरै भए। फिल्डबुक हातमा रहेका सुकुम्बासी अझै पनि आफ्नो जग्गा सम्झेर बसिरहेका छन्।
रतुवामा बाँध हाल्दा पुरीले आफ्नोसँगै ८४ घर सुकुम्बासीको जग्गा पनि छेकेका थिए। छेउछाउमा कोठा भाडा लिएर बसेका सुकुम्बासीलाई ‘तिमीहरूको जग्गा निस्किँदैछ’ भन्दै पैसा पनि उठाए।
धनकुटाबाट दमक झरेपछि पुरी मोहनविक्रम सिंहको राष्ट्रिय जनमोर्चा पार्टीमा सक्रिय भएका थिए।
धनकुटाबाट फर्किँदै पुरी जनमोर्चामा मेची-कोसी इञ्चार्ज थिए।
जनमोर्चा माओवादी सशस्त्र द्वन्द्वको विपक्षमा थियो। जनमोर्चाको मोर्चा चलाउनेहरू माओवादी नजरमा बिझाएका थिए।
पुरी भने विरोधी मोर्चामा रहेकाले ‘तारो’ बनेका हैनन्। माओवादीका नाममा लाखौं चन्दा उठाएको आरोप लागेपछि कारबाही सूचीमा परेका थिए। २०५८ सालमा पुरीलाई माओवादीले ‘जनकारबाही’ गर्ने निर्णय गर्यो।
‘जनकारबाही’बाट जोगिन पुरीले भित्र-भित्र माओवादीलाई नै सहयोग गरे।
२०६२-२०६३ मा जनआन्दोलन भयो। संविधानसभा चुनाव घोषणा हुँदा पुरी जनमोर्चाबाटै इलाम क्षेत्र नम्बर ३ मा सुवास नेम्वाङसँग चुनाव उठे। उनले १७३ मत ल्याएका थिए।
चुनावपछि जनमोर्चाका कार्यकर्ता कि पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी गए, कि राजनीति छोडे। पुरी दाहाल नेतृत्वको माओवादीमा जिल्ला सदस्य बनेर भित्रिए।
पार्टी कार्यालय नै स्थापना गरेर माओवादी आन्दोलनमा सक्रिय भएपछि पुरी नेताहरूको नजरमा पर्न थालेका थिए।
उनी स्थानीय तहको निर्वाचन हुँदा दमक नगरपालिकाबाट मेयर उठे पनि पराजित भएका थिए।
सम्बन्धित समाचार: