माघ १५ गते एक समूह जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ३ को कार्यालयमा पुग्यो।
वडा अध्यक्ष प्रचण्ड वलीसहितका पदाधिकारीलाई भेटेर दुर्गम क्षेत्रका अति विपन्न, गरिब, दलित, जनजाति समुदायका परिवारलाई सोलार र सुधारिएको फलामे चुलो वितरण गर्ने विषयमा छलफल गर्यो।
ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल (आरडीसिएन) र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान कार्यक्रम अन्तर्गत अति दुर्गम क्षेत्रका परिवारलाई ८० वाटको सोलार र तीनमुखे सुधारिएको चुलो वितरण गर्ने वडालाई जानकारी गरायो।
यसका लागि तीन हजार ७५० रुपैयाँ एउटा परिवारबाट उठाउनुपर्ने भन्दै वडा कार्यालयलाई रसिद समेत थमायो। ‘उनीहरूले हामीलाई १५ गते भेटेर रसिद दिए, १९ गते १० बजेभित्र उठाएको रकम बैंक खाताभित्र जम्मा गरिसक्नुपर्ने भनेका थिए,’ वडाअध्यक्ष वलीले भने, ‘हामीले त्यही रसिद दिएर रकम पनि संकलन गर्यौं, बैंकमा जम्मा गर्नुअघि नै त्यो समूह ठगी गर्न आएको रहेछ भन्ने थाह भइसक्यो।’
अध्यक्ष वलीका अनुसार वडाभित्रका १६८ घरधुरीबाट जम्मा ६ लाख ३० हजार रुपैयाँ समेत संकलन गरिसकिएको थियो। उनीहरूले ठगी गर्ने योजना बनाएको थाहा भएपछि रकम संकलन गर्न स्थगित गरिएको र संकलित रकम सम्बन्धित परिवारलाई फिर्ता गर्न थालिएको उनले बताए।
नलगाड नगरपालिकाको कार्यालयबाट पनि उनीहरूले १५ गते नै सोलार र चुलो वितरणका लागि स्वीकृति लिइसकेका थिए। ‘वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको नक्कली लेटरप्याड बनाएर उनीहरूले अरु कागजात पनि जुटाएका रहेछन्, त्यो कुरा हामीले केन्द्रसँग कुरा गरेर पत्ता लगायौं,’ वडाअध्यक्ष वलीले भने, ‘त्यसपछि केन्द्रले पनि आफूहरूसँग कुनै समन्वय नभएको भनेर विज्ञप्ति जारी गर्यो, हामीले पनि पैसा संकलन गर्ने कामलाई स्थगित गरिदियौं।’
माघ १४ गते उक्त समूहले नलगाड नगरपालिका–५ का वडा अध्यक्षलाई भेटेको थियो। वडाअध्यक्ष केशवप्रसाद शर्मासँग आफूहरुले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा विपन्न परिवारलाई सोलार र आधुनिक चुलो दिने कुरा सुनायो। केही थान रसिद त्यहाँ पनि दियो।
‘मसँग आएर उनीहरूले त्यो कुरा गरे, मैले पहिले नगरपालिकाबाट स्वीकृति ल्याउनुस् अनि वैधानिकता हेरेर हामीले पनि सहजीकरण गर्छौं भनेर भनेँ,’ वडा अध्यक्ष शर्माले भने, ‘उनीहरूले भोलिपल्टै नगरपालिकाको स्वीकृति लिएर फेरि मलाई भेट्न आए, त्यसपछि हामीले रकम संकलन गर्न रसिदहरू गाउँमा पठायौं।’
अध्यक्ष शार्माका अनुसार वडाभित्रका दुई सय परिवारबाट रकम संकलन गरिएको थियो। उठेको ७ लाख ५० हजार रुपैयाँ सम्बन्धित परिवारलाई फिर्ता गरिसकिएको उनले बताए।
‘हामीले रकम संकलन गर्दै गर्दा त्यो समूह अवैधानिक हो भन्ने हल्ला चल्यो, हामीले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रलाई फोन गर्यौं,’ अध्यक्ष शर्माले भने, ‘उताबाट हामीले त्यो बारेमा कुनै सहकार्य गरेका छैनौं। हामी विज्ञप्ति निकाल्छौं, तपाईंहरू रकम संकलन गर्न छोड्नुस् भन्ने कुरा आएपछि हामीले त्यो काम छोड्यौं।’
ग्रामीण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल (आरडीसिएन) नामक संस्थाको नाममा स्थानीयलाई ठगी गर्न खोज्ने यो समूहका चार जना अहिले प्रहरीको हिरासतमा छन्। माघ १८ गते नै उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले स्थानीयको सहयोगमा पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–९ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–१८ मा बस्दै आएका २६ वर्षीय यगप्रसाद रेग्मी, चन्दननाथ नगरपालिका–९ कै ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल, जाजरकोटको बारेकोट गाउँपालिका–१ का ४० वर्षीय हरिचन्द्र बस्नेत र सोही ठाउँका ३३ वर्षीय मानबहादुर महतारा रहेका छन्।
‘हामीले स्थानीयको सहयोगमा उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेका छौं, उनीहरूमाथि ठगी तथा कसुरमा मुद्दा दर्ता गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी मधुकुमार थापाले भने, ‘प्रारम्भिक सोधपुछ गर्दा सात हजार थान सौर्य ऊर्जा तथा सुधारिएको चुलो वितरण गर्ने भनी ठगी गर्न खोजेको बुझिएको छ।’
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई सदरमुकाम खलंगास्थित एक होटलमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरूको साथबाट ४ लाख ४० हजार ४४५ भारतीय रुपैयाँ पनि बरामद गरिएको छ।
यस्तै, आरडिसिएन (ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल) को लेटरप्याड, त्यसको छाप, अमन इन्टेरियर एण्ड डेकोरेसन बिजनेश ग्रुप लेखिएको लेटरप्याड, छाप, रकम संकलन गरिएको रजिष्टर, रकम बुझाउनेको अर्धकट्टी, ६ जनाको नागरिकता, ३ जनाको मतदाता परिचय पत्र, कृषि विकास बैंकको चेकबुक, नलगाड नगरपालिकाको पत्र पनि उनीहरूको साथमा भेटिएको कर्याालयले जनाएको छ।
नलगाड नगरपालिका–३ का वडा अध्यक्ष वलीका अनुसार नगरपालिकाभित्रका १, २, ३, ४, ५ र १३ नम्बर वडामा उक्त समूहले ठगी गर्न खोजेको थियो। ती वडाहरूमा पुगेर समूहले रजिष्टर र रसिद दिएको थियो।
नलगाडको छिमेकी गाउँपालिका बारेकोटमा पनि उक्त समूहले ठगी गर्न खोजेको अध्यक्ष वलीले बताए। ‘बारेकोट गाउँपालिकाका पनि ७-८ वटा वडाहरूमा यो समूह गएर यही काम गर्न खोजेको रहेछ,’ उनले भने।
जिल्ला प्रहरी कार्यालयका अनुसार यो समूहले जाजरकोटसँगै डोल्पा, कालिकोट र रुकुममा पनि यही योजना लिएर ठगी गर्ने योजना बनाएको थियो। ‘अति दुर्गम क्षेत्रलाई अवलोकन गरी विकट जिल्ला जाजरकोट, डोल्पा, कालिकोट, रुकुममा सौर्य ऊर्जा (सोलार) र सुधारिएको फलामे चुलो विरतण गर्ने योजना उनीहरूको रहेछ,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटले आफ्नो फेसबुक पेजमा लेखेको छ।
पहिल्यै सामान प्राप्त गरेको रसिद!
गाउँ पसेको ‘ठगी गिरोह’ले वडा कार्यालयलाई एउटा रसिदसँगै रजिष्टर पनि उपलब्ध गराएको थियो। समूहले रकम लुट्न ठूलै चलाखी गरेको देखिन्छ।
समूहले वडा कार्यालयलाई दिएको रसिद ‘पैसा बुझाएको’ नभएर ‘सामान प्राप्त’ गरेको भन्ने छ। ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल सुरुमा लेखिएको रसिदको शीर्षक ‘सामान प्राप्त रसिद’ छ। रसिदमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा भन्ने पनि उल्लेख गरिएको छ। सामान वितरण गर्ने संस्थाको नाम ‘अमन इन्टेरियर एण्ड डेकोरेसन विजनेश ग्रुप’ उल्लेख गरिएको छ।
वडा कार्यालयमा पुगेर सहजीकरणको लागि आग्रह गरेको त्यो समूहले माघ १९ गते १० बजेभित्र बैंक खातामा संकलित रकम वडा कार्यालयकै तर्फबाट जम्मा गर्न भनेको थियो। सामान भने फागुन १ गतेदेखि वितरण गर्ने भनेको थियो।
तर, वडा कार्यालयहरूले पैसा संकलन गरेर वितरण गरेको रसिद्मा भने ‘हामीले सामान पाईसक्यौं’ भनेर उल्लेख गरिएको छ।
‘हामीलाई रसिद र रजिष्टर उनीहरूले दिएका थिए,’ नलगाड–५ का वडा अध्यक्ष केशव शर्माले भने, ‘पैसा बुझाएको परिवारलाई सामान पाएको भन्ने रसिद दिने र उनीहरूले दिएको रकम रजिष्टरमा लेख्ने भनिएको थियो।’
रसिदमा पैसा बुझाउने परिवारको कोही एक जना सदस्य र वडा अध्यक्षको हस्ताक्षर समेत गराइएको छ। कुनै रसिदमा सामान पाइसकेको मितिसमेत उल्लेख छ भने कुनैमा मिति खाली छोडिएको छ।
नलगाड नगरपालिका–५ का स्थानीय पूर्णबहादुर बुढाले प्राप्त गरेको रसिदमा फागुन २ गते सामान प्राप्त गरेको मिति हालिएको छ। यद्यपि, उनले रसिद भने माघ १६ गते पाएका छन्।
नगरपालिकाले गर्यो आफ्नो बचाउ
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदान दिने भन्दै आरडीसिएन नामक संस्था उल्लेख गरेर ठगी गर्न आउने गिरोहलाई माघ १५ गते नलगाड नगरपालिकाले अनुमति दिएको थियो।
नगरपालिकासँग सम्झौता गर्ने क्रममा उक्त समूहले ८० वाटको सोलार प्यानल, ५५ एम्पियर क्षमताको ब्याट्री, १० एम्पियरको चार्ज कन्ट्रोलर, ब्लब लगायतका आवश्यक समाग्री तथा ३५ किलो तौल भएको आधुनिक फलामे चुलो दिने उल्लेख गरेको छ।
जसको मूल्य २५ हजार रुपैयाँ हुन आउने उल्लेख छ। त्यसमध्ये २१ हजार ७५० रुपैयाँ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र आरडिसिएनले व्यहोर्ने उल्लेख गरिएको छ।
आरडिसिएनको लेटरप्याड र छापका आधारमा गाउँमा सोलार र चुलो नबाँड्दै रकम संकलन स्वीकृति दिएको नलगाड नगरपालिकाले भने एक विज्ञप्ति निकालेर आफ्नो बचाउ गरेको छ।
‘संस्थाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा नलगाड नगरपालिकाभित्रका अति विपन्न, गरिब जनजाति, दलित समुदायलाई लक्षित गरी सोलार सेट, धुवाँरहित चुल्हो अनुदानमा वितरण गर्न अनुमति पाउँ भनी आवश्यक कागजातसहित दिएको निवेदनमा भएको कुरालाई आधार मानी स्थानीय जनताको हितका लागि उक्त संस्थालाई अनुमति पत्र दिइएको व्यहोरा यथार्थ हो,’ नगर प्रमुख टेकबहादुर रावलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसै कुरालाई आधार मानी नगरपालिकाको मिलेमतो भनी गरिएको भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको छ।’
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले भने आरडिसिएन नामक संस्थाले गाउँमा सोलार सेट र चुलो बाँड्ने विषयमा आफ्नो कुनै समन्वय नरहेको बताएको छ।