पोखरामा गत वर्षको नोभेम्बरमा फाटफुट वर्षा भयो। जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार त्यसयता वर्षा भएको थिएन। वर्षात नहुँदा पोखराका आकाश राम्ररी खुल्न पाएन। हिउँ पग्लिएको कालो हिमाल धुमिल देखिन्थ्यो। शुक्रबार विहानैदेखि छिटपुट वर्षा भएसँगै आकाश राम्ररी खुल्ने जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख राजारामप्रसाद ढकालले बताए।
‘वर्षाले वायुमण्डलका धुँवा, धुलो पखाल्छ’, उनले भने, ‘मौसम सफा हुने वित्तिकै आकाश राम्ररी खुल्छ।’ वर्षा भएपछि हिउँदेवाली पनि सप्रिने ढकालले बताए। यसवर्षको हिउँदमा पश्चिम नेपालको जुम्लालगायतका केही ठाउँमा छिटपुट वर्ष भए पनि गण्डकी प्रदेशमा पहिलो पटक वर्षा भएको उनले बताए।
वर्षापछि पोखरा उत्तरतर्फका हिमाली भेगमा भने हिमपात भइरहेको छ। कास्कीका उत्तरी क्षेत्रका गाउँ ताङतिङ, सिक्लेसलगायतका स्थानमा गत वर्ष पुस १२ गते नै हिउँ परेको थियो। यसपटक गाउँमा हिउँ नपरे पनि गाउँ माथिका डाँडामा भने हिउँ परिरहेको स्थानीयले जानकारी दिएका छन्।
पोखराबाट नजिकै रहेको मर्दी हिमाल पदमार्गमा भने व्यापक हिमपात भइरहेको छ। पदमार्गको फरेष्ट क्याम्पदेखि माथि हिमपात भएको स्थानीय व्यवसायीले बताएका छन्। पदमार्गको हाइक्याम्पमा बिहान ६ बजेदेखि नै निरन्तर हिमपात भइरहेको स्थानीय पर्यटन व्यवसायी चिमनारायण गौतमले जानकारी दिए। गत वर्ष मंसिर अन्तिम साता नै परेको हिउँ अहिले माघ अन्तिममा आएर परेको उनले बताए।
हाइक्याम्पस्थित होटल एक्सेलेन्ट भ्यूका सञ्चालकसमेत रहेका गौतमले हिमपात भएपछि देशका धेरै ठाउँबाट नेपाली पर्यटक घुम्न आउन चाहेको उनले बताए। ‘मलाई धेरै जनाले फोन गर्नुभएको छ घुम्न आउनुपर्यो भनेर’, उनले भने, ‘हिमपात भएपछि पर्यटक रमाउँछन्।’
कास्कीमा मात्र होइन, मनाङ, मुस्ताङ, बाग्लुङको ढोरपाटन शिकार आरक्ष लगायतका स्थानमा पनि विहानैदेखि हिउँ परेको जानकारी आएको छ। हिउँ परेपछि हिमाली क्षेत्रमा लगाइएका बालीनाली सप्रने स्थानीय किसानले विश्वास लिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारपछि मात्र मौसम सफा हुने जनाएको छ। महाशाखाले निकालेको आगामी दिनदिनको बुलेटिनमा उच्च पहाडी तथा हिमाल क्षेत्रमा हिमपात र वर्षा हुने भएकाले चिसोबाट जोगिन आग्रह गरेको छ।