नागरिक आन्दोलनले घरिघरि सम्झने नाम हो जनवादी गायक प्रदीप देवान, जो आफ्नो गीतमार्फत् आन्दोलनमा आएका मान्छेहरूलाई ऊर्जा थप्छन्।
बृहत नागरिक आन्दोलनमै तीन–चारपटक उनले आफ्नो प्रस्तुति दिइसके।
आन्दोलन न हो, कहिले ढुंगामुढा, कहिले लाठी त कहिले पानीको फोहोरा खानुपर्छ, हेक्कै हुन्न। यो त अझ केही होइन। माओवादी द्वन्द्वकालमा बम-बारुदकै सामना गरेका छन् उनले। यी सबैबीच उनलाई एउटै चिन्ताले सताउँछ– गितारलाई केही नहोस्।
त्यसैले त बालुवाटारमा नागरिकमाथि प्रहरी दमन हुँदा उनी एक कुनामा गितार र साउन्ड सिस्टम च्यापेर बसेका थिए। गणतन्त्र स्थापनाताका यस्तै झडपमा बानेश्वरमा आफ्नो गितार फुटेको सम्झना उनलाई अझै ताजा छ।
त्यस दिन नागरिक आन्दोलनका लागि बालुवाटार जाँदा उनी अर्कै मुडमा घरबाट हिँडेका थिए। उनीसँग विद्यार्थी नेता रञ्जित तामाङले लेखेको एउटा गीत थियो–
हामी भन्छौं, जोडजोडले भन्छौं,
हामी बोल्छौं, सत्यतथ्य बोल्छौं
प्रतिगामी मुर्दाबाद, फाँसीवादी मुर्दाबाद।
जसै त्यहाँ उपस्थित जमातलाई देखे, उनलाई लाग्यो सबैले सुनेको, सबैले गाउन सक्ने गीत पो गाउनुपर्छ। अनि गाउन थाले– एक जुगमा एकदिन एकचोटि आउँछ...।
गीत गाउँदै थिए, आफूले लगेको साउन्ड सिस्टमले बीचमै धोका दियो। कार्यक्रम सञ्चालककै साउन्ड सिस्टम जोड्न थाल्दै थिए, आन्दोलनमा आएकाहरूले स्वर मिलाइहाले, '...उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ...।'
उनी जुन ऊर्जाले गीत गाउँछन्, त्यो ऊर्जा त्यहाँ उपस्थित हुनेमा पनि सञ्चार भएजस्तो लाग्थ्यो।
प्रदीप द्वन्द्वकालताका माओवादीमा लागेका युवाहरूलाई संगीत सिकाउँथे। पार्टीको कार्यक्रमदेखि गाउँको हाटबजारमा गीत सुनाउँथे। ०६० सालको असारे झरीमा पुष्पकमल दाहाल 'प्रचण्ड' लाई रोल्पामा गीत सुनाएको क्षण उनलाई हिजोजस्तै लाग्छ।
अहिलेजस्तै उनको गीतबाट उर्जा पाएर युद्धमा होमिएका युवाहरूलाई सम्झँदा कहिलेकाहीँ प्रदीपलाई लाग्छ, 'ला! मैले गाएको सुनेर कति सहिद भए होलान् है? त्यसको पाप त लाग्दैन नि मलाई?'
उनले अगाडि भने, 'बुढाहरूले देश त बनाएनन्। त्यसैले, मैले गलत पो गरेछु कि भनेर कहिलेकाहीँ आत्मग्लानीजस्तो हुन्छ। युद्धमा सहिद हुनेहरूको सपना त अझै पूरा भएको छैन।'
'आफू होइन, देश बनाउनुपर्छ' भन्ने विचारधारा मनपरेर प्रदीप २०५४ सालमा माओवादीमा लागेका थिए। देश बनेपछि त आफू बनिहाल्छु भन्ने उनलाई थियो।
उनको विचारधारा माओवादीसँग मेल खान्थ्यो– मानिस एकै खालको भएकाले समान रूपमा बाँच्न पाउनुपर्छ। न्याय, स्वतन्त्रता बराबर हुनुपर्छ।
'हामीले जुन हावा लिइरहेका छौं, सत्तामा रहेकाले पनि त्यही हावा लिइरहेका हुन्छन्। एकदिन मर्नु नै छ भने किन बाँचुन्जेल एकअर्कामा असमानता राख्ने?' उनले भने, 'यस्तै समाजवादी चेतना भएकाले म माओवादी आन्दोलनमा लागेको थिएँ।'
जसै माओवादी प्रत्यक्ष राजनीतिमा आए, उनीहरूले जनताका संघर्षका दिन बिर्सिए। देश बनाउन हिँडेकाले आफैंलाई मात्र बनाउन थाले।
'पञ्चहरूले त्यही गरे। त्यसको विरोध गर्नेहरू बहुदल आएपछि व्यक्तिगत स्वार्थमै रूमलिए। माओवादी त्यस्तो हुँदैनजस्तो लागेको थियो, उनीहरू पनि त्यस्तै भए,' उनले भने, 'मुठीभर मान्छेले मस्ती गरेर आमजनतालाई शोषण गर्ने काम गणतन्त्रमा पनि भइरहेको छ।'
जबसम्म राज्य संरचना ठीक हुँदैन, तबसम्म जनवादी गीतको खाँचो भइरहने प्रदीप बताउँछन्। त्यही भएर देशमा भइरहेका घटनाक्रम शब्दमा हालेर उनी मान्छेलाई ऊर्जाका साथै चेतना दिन्छन्। संगीतिक तरिकाले बताइएका कुरा प्रभावकारी भएकैले मान्छेलाई छुन्छ भन्ने उनलाई लाग्छ।
०६२/६३ को जनआन्दोलनमा भने उनी जनवादी गीत लिएर सहभागी हुन पाएनन्। उनी २०६१ मंसिर २७ गते काठमाडौंमा पक्राउ परे। एक महिना सेनाले कालोपट्टि बाँधेर राख्यो भने तीन महिना हनुमानढोका लग्यो। पछि १६ महिना नख्खु जेल बसे। शान्तिवार्ता सुरू भइसकेपछि ०६३ भदौ ३० गते बल्ल उनी छुटे।
त्यसपछि नेपाल टेलिभिजनमा २०६४ देखि ०६७ सालसम्म कार्यक्रम 'आस्थाको स्वर' चलाए। त्यसमा विभिन्न जनवादी तथा देशभक्त गीतको चर्चा हुन्थ्यो। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनले १९ महिना सचिवालयमा काम गरे। त्यसपछि स्कुलमा संगीत पढाउन थाले।
'अरुण तरेर नाना तमोर तरेर' गीतबाट परिचित प्रदीपले जहाँ पुगे पनि संगीतलाई साथै लगे। कालिङपोङमा जन्मेका उनी २०३८ सालतिर रेडियो नेपालमा गायकै बन्ने हुटहुटी लिएर आएका थिए। ०४२ देखि ०४५ सालसम्म उनले धेरैका गीतमा संगीत भरे। ०४७ सालमा मात्र आफ्नो स्वर परीक्षण गराए।
काठमाडौं आएपछि उनको भेट प्रसिद्ध संगीतकार अम्बर गुरुङसँग भएको थियो। अम्बरकै रोहबरमा संगीत बुझ्ने मौका पाएको उनी बताउँछन्।
राजनीतिलाई नजिकबाट नियाल्ने प्रदीपलाई कम्युनिस्ट पार्टीले दुईतिहाइ ल्याएपछि देश विकास हुन्छ कि भन्ने लागेको थियो। तर ससंदै भंग गरेर एकलौटी सत्ता चलाउन खोजेपछि त्यो कुरा बेठिक लागेरै सडकमा ओर्लेको उनको भनाइ छ।
जनवादी गायकलाई त सधैं आन्दोलन भइरहोस् जस्तो पनि लाग्दो हो कि?
उनी भन्छन्, 'आन्दोलन हुनु एकदमै दुःखद हो। नेताहरूले विकास र समृद्धिको सही गति नसमातेकाले यस्तो स्थिति आएको हो आन्दोलन त देश विकास होला कि भनेर गरेको। तर विकासै नभएपछि जिन्दगीभर आन्दोलन गर्नु र जनवादी गीत गाउनुको के अर्थ?'
'जनवादी गीत गाएर पैसा आउने पनि होइन। हामी त समाज परिवर्तन होस् भनेर सेवाका लागि सडकमा आएका हौं। त्यसैले, जनवादी गीत गाउनु रहरभन्दा बढी बाध्यता हो,' उनले भने।
प्रदीपलाई लाग्छ– यस्तो गीत जिन्दगीमा कहिल्यै गाउन नपरोस्। जनताको न्याय, स्वतन्त्रता एवं समानतानिम्ति संघर्ष गर्दा जन्मिएका जनवादी गीतहरू इतिहास बन्नुपर्छ।
जब राज्यसत्तामा पुगेका मान्छेले आफ्नो स्वार्थ छाडेर देशबारे सोच्छन्, तब नै प्रदीपहरूले जनवादी गीत गाइरहनुपर्दैन। अनि ती गीतहरू ऐतिहासिक दस्तावेज बनेर बस्छन्।
त्यस्तो बेला जनवादी गायकहरूको पहिचान के होला? कस्ता गीत गाउने त उनीहरूले?
'हामीले जनवादी गीत गाउनैपर्छ भन्ने के छ र? समयअनुसार हाम्रो पहिचान बदलिओस् न। तब पो देश विकास भएको संकेत बन्छ,' प्रदीप भन्छन्, 'मलाई त विकास, समृद्धि एवं खुसीका नयाँ गीत गाउन मन छ।'
जुन बेरोजगारी, असमानता, लुटपाट एवं गन्जागोल हिजो देखेका थिए, समाज त्योभन्दा बिग्रिँदै गएको उनले महशुस गरेका छन्। त्यसैले त भन्छन्, 'समय बित्दैछ, संरचना भने परिवर्तन भएन। सत्ता परिवर्तन भयो, संस्कार, संस्कृति एवं आर्थिक–सामाजिक पाटा उस्तै रहे।'
हिजो राजावादी, प्रजातन्त्रवादी, साम्यवादी वा जुनसुकै विचारधारा लिएर हिँडेका भए पनि ती सबैले सच्चिनुपर्ने उनी ठान्छन्। 'हामीले केही लिएर जादैनौं भने किन लोभ गर्ने?' उनी प्रश्न गर्छन्, 'सबै जना सच्चिनुहोस् र जनवादी गीतलाई इतिहास बनाउनतिर लाग्नुहोस्।'
अहिले नागरिक आन्दोलनमा प्रदीपसँग विद्यार्थी नेता रञ्जित तामाङको 'प्रतिगामी मुर्दाबाद, फाँसीबादी मुर्दाबाद' र युग पाठकको 'जाग जाग सडक हो, उठ उठ सडक हो' बोलका दुई गीत छन्। ती गीत गाएका भने छैनन्।
उनी आन्दोलनमा उपस्थित जमात हेर्छन्, त्यहाँको स्थिति बुझ्छन् र त्यो सुहाउँदो गाउँछन्।
त्यसैले, प्रदीपको कुनै तयारी हुँदैन, तर उनी जहिल्यै तयार अवस्थामा बस्नुपर्छ। गत साता गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा शोभाभगवतीमा भएको नागरिक आन्दोलनमा भेट्दा उनले भनेका थिए, 'आज त रञ्जित भाइको गीत गाइदिनुपर्ला जस्तो छ।'
जसै मञ्चमा आए, उनले गणेश इजमको गीत सुनाए, 'खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सबको रुन्छ कि दुःख बिसाउँदा।'
यो गीत सुनाउनुको कारण खुलाउँदै भने, '२०३६ सालमा धनकुटामा तत्कालीन सत्ताको निरंकुशताविरूद्ध आवाज उठाउने २५ युवालाई खाल्डो खनेर एउटै चिहान पारिएको थियो। त्यसैको सेरोफेरो यो गीत लेखिएको हो। त्यस्तै निरंकुश प्रवृत्ति अझै हटेको छैन।'