प्रहरीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ।
दोगडाकेदार गाउँपालिका–७ जडेपानीकी १७ वर्षीया भागरथीको शनिबार नै पोष्टमार्टम सकिए पनि रिपोर्ट प्राप्त भएपछि थप प्रष्ट हुने प्रहरीको भनाइ छ।
प्रहरीले अनुसन्धानबाट विभिन्न प्रमाणहरू फेला पारेको छ। जसकारण प्रहरी अनुसन्धानको सफलतानजिक पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताए।
'घटनास्थलबाट फेला परेका सबुतहरूको आधारमा अनुसन्धान भइरहेको छ। ती प्रमाणले निकै सहयोग पुगेको छ,' उनले भने।
घटनास्थलबाट प्रहरीले भागरथीको मोबाइल फोन समेत भेटाएको छ। प्रहरीले यसलाई 'ठूलो क्लु'को रूपमा मानेको छ। यसरी नै प्रमाणहरू जुटाएर अनुसन्धानको दायरालाई साँघुरो बन्दै गएको एसएसपी सिंहले बताए।
उनका अनुसार घटनास्थलबाट बरामद गरिएका अरू प्रमाणहरूलाई पनि सुरक्षित राखिएको छ। त्यसैअनुसार थप विश्लेषणहरू भइरहेको उनले बताए।
यस घटनामा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डेको नेतृत्वमा अनुसन्धान अघि बढाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपीको टोली पनि खटिएको छ। त्यसैगरी क्षेत्रीय अनुसन्धान समूह आरआइटीलगायतका प्राविधिक प्रहरी अधिकृतहरू समेत यसमा संलग्न रहेको एसएसपी सिंहले बताए।
यस टोलीले भागरथीका आफन्त, साथीभाइहरूसँग सोधपुछ गरिरहेको उनले बताए।
‘आफन्त, साथीभाइ, त्यो एरियामा सवारी चलाउने र घटनामा संलग्न सम्भावितहरूसँग सोधपुछ गर्दैछौं,’ उनले भने।
प्रहरीले भागरथीका विद्यालयका सहपाठीहरूसँग अन्तिम भेटमा के भएको भन्नेबारे पनि सोधपुछ गरिएको छ।
आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमकुमार सुवेदी अनुगमनका लागि पनि बैतडी गएका छन्।
‘सुदूरपश्चिमका डिआइजी पनि बैतडी पुग्दै हुनुहन्छ, अनुसन्धानको अनुगमन तथा सहयोगका लागि उहाँ जानुभएको हो,’ एसएसपी सिंहले भने।
निर्मला पन्तको जस्तो घटनाका दोषी पत्ता नलाग्ने नहोस् भनेर प्रहरीमा चौतर्फी दबाब परेको छ। यस घटनाको अनुसन्धानलाई निर्मला पन्तको जस्तो लम्बिन नदिइ चाँडै नै निष्कर्षमा पुग्ने एसएसपी सिंहले बताए।
‘निर्मलाको केस पनि अनुसन्धानको क्रममा छ। यसलाई अझ ठूलो राजनीतिक चुनौतीको रूपमा लिएर अनुसन्धान हुँदैछ,’ उनले भने।
यता, आफन्तले भागरथीको शव बुझेका छैनन्। हत्यारा पत्ता लगाएर निर्क्यौल नभएसम्म शव नबुझ्ने मृतकका काका शिवराज भट्टले बताए।
प्रहरीले मृतकका आफन्तलाई विश्वास दिलाएर सुरूबाटै संवेदनशील भएर अनुसन्धान गरिरहेको दाबी गरेको छ।
बुधबार स्कुल गएकी भागरथी विद्यालयबाट फर्किँदा हराएकी थिइन्। घर नफर्किएपछि आफन्तले उनको खोजी सुरू गरेका थिए। उनीहरूले प्रहरीलाई पनि खबर गरेका थिए।
आफन्त र प्रहरीले खोजी गरिरहँदा बिहीबार बेलुका उनको शव लवलेक सामुदायिक वनमा फेला परेको थियो।
शव फेला परेपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख, सरकारी वकिल र जिल्ला अस्पतालका प्रमुखसहितको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।
प्रहरीले धनगढीबाट तालिम प्राप्त कुकुर पनि पठाएको थियो। एसएसपी सिंहले कुकुरले घटनास्थल पत्ता लगाउन सहयोग गरेको बताए।