कैलालीको कैलारी गाउँपालिका-१ हसुलीयाकी ५५ वर्षीया सीता चौधरी झाडु बेच्न विभिन्न बजारसम्म पुग्छिन्।
उनी केही दिनअघि धनगढी बजारमा दुई सय झाडु बोकेर आएकी थिइन्।
आफैंले बनाएका झाडु ३० रुपैयाँका दरले घरघरमा पुगेर बेच्ने सीताले बताइन्। कैलारी र धनगढीसँगै कञ्चनपुर र भारतका गाउँमा समेत उनले बनाएका झाडु मानिसले किन्छन्।
सीताले केही दिनअघि मात्र भारतको बनगाउँमा झाडु बेचेर फर्केको बताइन्।
उनी हरेक वर्षको भदौमा झाडु बनाउन चाहिने सामग्री खपेहेर लिन जंगल जाने गर्छिन्।
यस वर्ष पनि उनले बसन्ता वनबाट बयलगाडा (डल्लव) मा खपेहेर ल्याएकी थिइन्।
‘झाडु खपेहेरबाट बन्छ, मेरो घरबाट तीन घन्टा टाढा वनबाट डल्लवमा ल्याउनुपर्छ,’उनले भनिन्।
भदौमा ल्याएको खपेहेर दुई हप्ताजति सुक्न दिएपछि झाडु बनाउन सुरू गर्छिन्।
उनले यस वर्ष ४ महिनासम्म पुग्ने खपेर वनबाट ल्याएकी थिइन्।
‘खपेहेर ल्याउन बिहानै ४ बजे साथीसँगै वन जान्छौं, दिनभरि खोजेको काटेर रातिमात्र फर्किन सकिन्छ,’ उनले भनिन्।
खपेहेरलाई झाडु बनाउन प्लाष्टिकको डोरीले बाँध्नुपर्छ। यस्तो डोरी भने बजारबाट किन्ने गरेको उनले बताइन्।
उनले खपेहेर ल्याएबापत् वनबाट ५ सय रुपैयाँ तिरेर रसिद काट्नु पर्ने बताइन्।
अहिले उनी सुकेको खपेहेरबाट एक दिनमा ३० देखि ४० वटा झाडु बनाउँछिन्।
‘एउटा झाडु बनाउन मलाई ५ मिनेट लाग्छ। यो वर्ष ४ सय झाडु बिक्री गरिसकें। अझै ६०-७० वटा बाँकी छन्। बिक्री धेरै भए झाडु बनाउने काम बढाउँदै जान्छु,’ उनले भनिन्।
उनी हसुलियाबाट रिक्सामा ल्याएर टाउकोमा बोक्दै घरघरमा पुर्याउँछिन्।
उनका झाडु केहीले रूचाउँछन् त कतिले महंगो भयो भनेर किन्न मान्दैनन्।
‘एक झाडुको ३० रुपैयाँ लगाए पनि महंगो भयो, सस्तो गरे किन्छौं भन्छन्,’ उनले भनिन्।
उनको गाउँका अरू महिलाले पनि झाडु बनाउने काम गर्छन्। बिक्री गर्न पनि दुई वा त्योभन्दा धेरै महिलाहरू समूहमा आउँछन्।
यसरी झाडु बेचेको पैसाले घर खर्चमात्र चल्ने नभई सीताले सहकारीमा मासिक बचत पनि गर्दै आएकी छन्।
उनले कम लगानीमा आफ्नो मेहनत र हातको सीपले बुनेको झाडु बेचेर गाउँकै सहकारीमा मासिक २ हजार ५ सय बचत गर्न थालेको बताइन्।
‘पैसा नभएर छोराछोरीलाई धेरै पढाउन सकिएन। दुबैले १० क्लासमात्रै पढ्ने पाए। छोरा होटलको गाडी चलाउने काम गर्छ। लकडाउनपछि त्यो काम छुटेको छ, घरमै छ’, उनले भनिन्।
उनले झाडु बनाउने काम गर्न थालेपछि घरमा छोरा बुहारी, श्रीमान् र नातिनातिनीको पालन-पोषणदेखि खर्च गर्न सहज मिलेको छ।
‘लकडाउनपछि छोरा घरमै हुँदा पैसा थिएन मैलो यो काम गरिरहेकी हुँदा अहिले सबैलाई मद्दत पुगेको छ’ उनी भन्छिन्।
उनलाई अहिले झाडु बनाएर बेच्न थालेको ३ वर्ष भयो।
सीताजस्तै सोही ठाउँकी मीना चौधरीले पनि झाडु बनाएर बेच्ने गरेको बताइन्।
‘धनगढीमा ३० रुपैयाँका दरले एउटा झाडु बिक्री गरे पनि भारतमा ४० रुपैयाँका दरले बिक्री हुन्छ,’ उनले भनिन्।
उनले भारतको पलिया, चन्दनचौकीका बजारमा झाडु बिक्री गर्ने गरेको बताइन्।
झाडु बनाउने काम ४ महिना र अरूबेला खेतीपातीको काम गर्ने गरेको उनले बताइन्। झाडु बेचेर नगद आउन थालेपछि अहिले श्रीमानसमेत यो काममा लाग्ने गरेको उनले सुनाइन्।
सानातिनो पैसाका लागि श्रीमानको भर पर्नुपर्ने बाध्यता हटेको उनले बताइन्।
‘मैले पनि बचत गर्न थालेकी छु,’ उनले भनिन्।
पार्वती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक कौशीकुमारी बोहराले हसुलियासहित कैलारीको १, ३ र ४ वडाका १६ सय महिला सदस्य सहकारीमा आवद्ध रहेको बताइन्।
‘यहाँका साना र घरमै व्यवसाय गरिरहेका महिला पनि बचत गर्न थालेका छन्,’ उनले भनिन्।
उनका अनुसार सहकारी आफैंले पनि महिलाका लागि झोला बनाउने उद्योग खोलेको छ।
सहकारीले आफ्नो विधानअनुसार सदस्य बन्न पाउने व्यवस्था गरेका हुन्छ। सहकारीमा आवद्ध भएका महिलाले ऋण लिन, तालिममा सहभागी हुन, सशक्तिकरणका अभियानमा सहभागी हुन पाउने उनले बताइन्।
बोहोराले मासिक सय रुपैयाँ वा सोभन्दा बढी पनि आफ्नो सहकारीमा बचत गर्न सकिने बताइन्।
यस्ता सीप भएका महिलालाई कैलारी गाउँपालिकाबाट तालिम तथा सहयोग भने हुन सकेको छैन। गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले रोजगार कार्यक्रमहरू सञ्चालन भइरहेका बताए। जानेकै सीपको प्रवर्द्धन र व्यवसायिकताका लागि गाउँपालिकाले काम नगरेको उनले स्वीकारे।
‘खाजा, नास्ता बनाउने, ड्राइभिङ, ब्युटिपार्लरसम्बन्धी तालिम दिन एउटा संस्थालाई जिम्मेवारी दिएका छौं,’ चौधरीले भने।
गाउँपालिकाकाले हातमा भएको सीप सुहाउँदो तालिम दिन नसकेको त्यहाँका महिलाहरूको पनि गुनासो छ।