गत वर्ष कोभिड–१९ का कारण निर्माणमा अवरोध पुगे पनि चालु आर्थिक वर्षमा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढाइएको छ।
विसं २०७९/८० सम्ममा राजमार्ग सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ।
गत वर्षको क्षतिसमेत पूर्ति गर्ने गरी निर्माणको काम अघि बढाइएको निर्देशनालयकी सूचना अधिकारी प्रकृति पाण्डेले बताइन्।
उनका अनुसार गत आवमा लिइएको लक्ष्यभन्दा एकतिहाइ मात्रै सडक निर्माण गर्न सकिएको थियो। चालु आवमा अहिलेसम्म अवरोध नभएकाले निर्माणको काम अघि बढिरहेको छ’, उनले भनिन्, ‘सबै कुरा अनुकूल हुँदा काम भइरहेको छ।’
गत आवमा ३०० किमी सडक कालोपत्रको लक्ष्य रहेकामा चालु आवमा पनि ३०० किमी नै लक्ष्य लिइएको छ। कोभिडका कारण गत वर्ष ११३ किमी सडकमात्रै कालोपत्र गर्न सकिएको निर्देशनालयले जनाएको छ।
गत आवको बाँकी र चालु आवको गरी झण्डै ५०० किमी सडक कालोपत्र गर्नुपर्ने छ। त्यो पूरै नसकिए पनि त्यसको नजिक पुग्न सकिने पाण्डेले बताइन्।
गत वर्षको अन्तिम चौमासिक अर्थात् काम गर्ने समयमा नै कोभिडको रोकथामका लागि सरकारले बन्दाबन्दी गरेकाले निर्माण ठप्प थियो।
असारपछि अरु विभिन्न क्षेत्र जसरी निर्माण सञ्चालन गर्ने निर्णय गरिए पनि स्थानीय तह र स्थानीयवासीको अवरोध त कतै निर्माण सामग्री र जनशक्तिको अभावमा निर्माण सुस्त थियो। देशभरमा सक्रिय संक्रमित कम भएसँगै अहिले निर्माणका लागि वातावरण बनिरहेको छ।
राजमार्ग निर्माण गर्ने स्थान (एलानमेन्ट) रहेका क्षेत्रका विभिन्न स्थानमा सरकारले नै जलाशययुक्त आयोजनासमेत निर्माणको योजना बनाएको छ।
सुनकोशी र बूढीगण्डकीमा निर्माण हुनलागेका जलाशययुक्त आयोजनाको अहिले अध्ययन भइरहेको छ।
दुवै आयोजनाले राजमार्ग निर्माणलाई प्रभावित पार्नसक्ने देखिएको सूचना अधिकारी पाण्डेले बताइन्। ती आयोजनामा खोलाबाट निश्चित उचाइसम्म निर्माणका काम गर्न नमिल्ने भए पनि अहिले सडक त्योभन्दा कम उचाइमा रहेको छ।
राष्ट्रिय गौरवको आयोजना त्यसमा पनि सडकको काम भइसकेकाले पछि निर्माण हुन लागेका आयोजनाले त्यसमा ध्यान दिनुपर्ने आयोजनाले बताउँदै आएको छ।
सो स्थानमै सडक निर्माण गर्ने कि अन्यत्रबाट गर्ने भनी छलफल भइरहेको निर्देशनालयले जनाएको छ। अहिलेसम्म कसरी अघि बढ्ने भनी निर्णय भएर छलफलको क्रममा रहेको सूचना अधिकारी पाण्डेले बताइन्।
त्यो आयोजना बन्दासम्म यही सडकले प्रतिफल दिने भए सोही स्थानमा अहिले सडक निर्माण गर्ने कि भन्ने छलफल भइरहेको उनले जानकारी दिइन्।
देशभरका अरू विभिन्न राष्ट्रिय राजमार्गमा जस्तै यस राजमार्गमा पनि सडकको अधिकार क्षेत्र विवाद छ।
राजमार्गको अधिकार क्षेत्र २५/२५ मिटर हुने भए पनि पहाडी क्षेत्रमा त्यो कायम हुन सकिरहेको छैन। दुईतर्फी गाडी गुड्न सक्ने गरी सडक निर्माण अघि बढाइएको सूचना अधिकारी पाण्डेले बताइन्।
उनले भनिन्, ‘१० देखि १२ मिटरसम्म चौडाइमा काम भइरहेको छ।’
राजमार्ग विभिन्न खण्डमा वन क्षेत्रबाट समेत अघि बढ्छ। वन क्षेत्रमा निर्माणका लागि प्रक्रियागत झन्झट हुँदा निर्माणमा ढिलाइ हुने गरेको उनले बताइन्। सो राजमार्गमा १३९ पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म ८३ पुल सम्पन्न भइसकेको छ।
एक हजार ८७९ किलोमिटर लम्बाइको यस राजमार्ग निर्माणमा पहिले पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई कार्यालयबाट निर्माण भइरहेको थियो।
आयोजना चाँडो सक्न मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालयअन्तर्गत पाँच वटा कार्यालय बनाएर कार्यान्वनमा ल्याइएको हो।
सबै कार्यालयले मातहत हेर्ने सडक, पुल छुट्याएर काम गरिरहेका छन्। योजना कार्यालयहरू पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेखमा छन्। राष्ट्रिय यातायात नीति, २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पको रूपमा नेपालको मध्यपहाडी हुँदै पूर्वबाट पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो। सोहीबमोजिम सरकारले मध्यपहाडी राजमार्ग नामकरण गरी २०६४/६५ बाट आयोजना सुरू गरेको हो।
गत वर्ष मन्त्रिपरिषद् बैठकको निर्णयबाट राजमार्गको रेखांकन स्वीकृत भएसँगै निर्माण अघि बढेको हो।
मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करिब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ।
आयोजनाको सुरू बिन्दु पाँचथर जिल्लाको चियोभञ्ज्याङ हो भने अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ।
सरकारले आव २०६९/७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको छ।
आव २०६४/६५ बाट निर्माण सुरू गरिएको मध्यपहाडी लोकमार्ग अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यस राजमार्गको कुल लम्बाइमध्ये करिब एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक रहेको छ।
झण्डै ८७९ किमी नयाँ ट्रयाक खोली सडक निर्माण गर्नेसँगै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ। रासस