दुई वर्षअघि कर्णाली प्रदेश अस्पतालमा कार्यरत केही चिकित्सकहरु कालिकोटको पचालझरना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गर्न गए। पचालझरना गाउँपालिका-४ जार्कोट भन्ने ठाउँमा शिविर आयोजना गरिएको थियो।
कर्णाली राजमार्गको बीचमै गाडीको यात्रा छोडेर चार घन्टा उकालो हिँडेपछि शिविर सञ्चालन गरिने गाउँ पुगिन्थ्यो। चिकित्सकहरूको टोली उकालो लाग्यो। उनीहरूसँगै एकजना वृद्ध मानिस लौरी टेकेर चिकित्सकको पछिपछि केही नबोलेर उकालो हिँडिरहे।
‘उहाँले त्यहाँ डाक्टर आउँछन् भन्ने खबर सुन्नुभएको रहेछ, हामीसँग केही नबोलेर हाम्रो पछि लौरी टेकेर उकालो हिँडिरहनुभएको थियो,’ कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले भने, ‘त्यहाँ पुगेपछि हामीले उहाँ जचाउन आउनुभएको थाहा पायौं।’
ती वृद्धले शिविरमा आफ्नो समस्या सुनाए। उनलाई छातीको दायाँ भागमा दाद भएको रहेछ। चिकित्सकले त्यहाँ केही औषधी दिए। थप उपचारका लागि एक महिनापछि सम्पर्क गर्न भने।
आफ्नो छातीमा भएको दादको उपचार गराउन लौरी टेकेर चार घन्टा लाग्ने उकालो काटेर गएका वृद्ध र त्यस्ता दुर्गम बस्तीका मानिसले विशेषज्ञको सेवा पाउन परेको कठिनाइलाई देखेपछि चिकित्सकको टोलीले एउटा नयाँ सोच बनायो- कर्णालीमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने।
‘शिविर गर्ने बेला हामीले त्यहाँको अवस्था हेर्यौं, त्यस्ता अति दुर्गम क्षेत्रलाई पनि चित्रण गर्यौं,’ डा. केसीले भने, ‘यस्ता दुर्गम ठाउँका मानिसलाई सुर्खेतमै भएका बेला पनि विशेषज्ञ सेवा दिन पाए हुन्थ्यो भन्ने लाग्यो, हामीले अध्ययन गर्दा टेलिमेडिसिन सेवाबाट यो सम्भव छ भन्ने बुझ्यौं र यहाँ आएर सुरू गर्यौं।’
कर्णाली प्रदेश अस्पतालबाट अनौपचारिक रूपमा सञ्चालन भइरहेको टेलिमेडिसिन सेवा गत वैशाखबाट औपचारिक रूपमा नै स्थापना गरिएको छ। त्यसअघि कर्णाली प्रदेश अस्पतालका चिकित्सकले अन्य अस्पताललगायत स्वास्थ्य संस्थामा आएका मानिसलाई त्यहाँका स्वास्थ्यकर्मीको फोन सम्पर्कमा रहेर सेवा दिने गरेका थिए।
अहिले प्रदेश अस्पतालको एउटा कोठालाई ‘टेलिमेडिसिन अपरेटर’ कक्षका रूपमा स्थापना गरिएको छ। एकजना हेल्थ असिस्टेन्ट (एचए) लाई अपरेटरको जिम्मा दिइएको छ। टेलिमेडिसिन सेवाका लागि आवश्यक पर्ने छुट्टै इन्टरनेट, कम्प्युटर र ट्याबलेट (एन्ड्रोइड सिस्टम) राखिएको छ।
‘टेलिमेडिसिन सेवा सुरू भएका स्वास्थ्य संस्थाबाट यहाँको अपरेटर रूममा वा अपरेटरको मोबाइलमा फोन आउँछ,’ प्रदेश अस्पतालका टेलिमेडिसिन अपरेटर नरेन्द्र चन्दले भने, ‘उहाँहरूले कसलाई कस्तो खालको सेवा चाहियो भनेर भन्नुहुन्छ, सकेसम्म सम्बन्धित डाक्टरलाई यही कक्षमा बोलाएर भिडिओमार्फत् सेवा दिइन्छ।’
सम्बन्धित चिकित्सक व्यस्त भएको खण्डमा भने ट्याबलेट बोकेर अपरेटर नै चिकित्सकको कार्यकक्षमा पुग्ने गरेको उनले बताए।
कर्णाली प्रदेश अस्पतालमा सञ्चालन गरिएको टेलिमेडिसिन सेवा देशकै पहिलो प्रभावकारी सेवा भएको डा. केसी बताउँछन्। अन्य क्षेत्रमा यो सेवा दिने प्रयास गरिएको भए पनि सफल नभएको पाइएको उनले बताए। काठमाडौंबाट समेत चिकित्सकको टोली आएर यहाँको टेलिमेडिसिन सेवा र यसको उपयोगबारे बुझेर गएको उनले बताए।
टेलिमेडिसिन सेवा सञ्चालन गरिएपछि यसबाट फाइदा पनि धेरै नै लिइएको डा. केसीले बताए।
‘छाला रोगीहरू, बालबालिकाको स्वास्थ्य समस्या, आपतकालीन अवस्थामा सुत्केरी सेवा, हाडजोर्नीका समस्या फोटो र भिडिओबाट धेरैजसो समाधान गर्न सकिने रहेछ,’ उनले भने, ‘यो कुरा हामीले टेलिमेडिसिन सेवा सुरू गरिसकेपछि थाहा पायौं।’
टेलिमेडिसिन सेवामार्फत् गाउँका स्वास्थ्यकर्मी र चिकित्सकबीच समस्या साटासाट हुने भएकाले नागरिक र स्वास्थ्यकर्मीलाई पनि फाइदा पुग्ने गरेको छ। यो सेवाले दुर्गम क्षेत्रमा स्वास्थ्य सुविधा बढाउन सहयोग पुग्ने डा. केसी बताउँछन्।
‘चिकित्सकसित कुरा गरिराख्यो भने त दुर्गम क्षेत्रमा के समस्या रहेछ र कस्तो खालको सेवा आवश्यक रहेछ भन्ने जानकारी हुन्छ, त्यसअनुसार त्यहाँ सुविधा बढाउन पनि यसबाट सहयोग पुग्छ,’ उनले भने, ‘औषधीको गुणस्तरसँगै सुविधाको गुणस्तरलाई बढाउन पनि टेलिमेडिसिनले सहयोग पुर्याउँछ।’
कोरोनाका बेला अझ प्रभावकारी
प्रदेश अस्पतालमा सञ्चालन गरिएको टेलिमेडिसिन सेवा कोरोना भाइरसको महामारीका बेला झनै प्रभावकारी बन्यो। चिकित्सकहरू सबै ठाउँमा पुग्न नसकेको अवस्थामा कोरोना संक्रमतिलाई टेलिमेडिसिन सेवाबाटै परामर्श दिने गरिएको छ।
कोरोनाजस्तो महामारीमा टेलिमेडिसिनको उदाहरणीय प्रयोग भएको डा. केसीले बताए। ‘कोरोना पोजिटिभ भएको रिपोर्ट आएपछि मानिस आत्तिन्छ र कसलाई फोन गरौं भन्ने भइरहेको हुन्छ, उहाँहरूलाई हामीले नै यहाँबाट फोन गर्छौ,’ केसीले भने, ‘यो सेवाबाट उहाँको लक्षण, अरू रोगबारे चिकित्सकले बुझ्ने काम हुन्छ। औषधी दिनुपर्यो भने सिफारिस गरिन्छ। गाह्रो नै भयो भने यहाँबाट चिकित्सक बिरामीकहाँ पुग्ने वा अस्पताल ल्याउने भन्ने निर्क्र्यौल गरिन्छ।’
टेलिमेडिसिन अपरेटर चन्दका अनुसार कात्तिकको अन्तिम हप्तादेखि हालसम्म ४ सय कोरोना संक्रमितले टेलिमेडिसिनमार्फत चिकित्सकीय सेवा लिएका छन्।
वैशाख यता कोरोनाका बाहेक अन्य ४४७ जना नागरिकले टेलिमेडिसिन सञ्चालन भएको नजिकको स्वास्थ्य संस्थाबाट यो सेवा लिएका छन्। अपरेटर चन्दका अनुसार हाल विभिन्न ३८ वटा स्वास्थ्य संस्थामा यो सेवा सञ्चालन गरिएको छ।
जाजरकोट, हुम्ला, मुगु, सुर्खेत र डोल्पाको जिल्ला अस्पतालसहितका अन्य स्वास्थ्य संस्थामा यो सेवा सञ्चालन गरिएको छ। दैलेखमा भने महाबु गाउँपालिकामा रहेको रानीबन स्वास्थ्यचौकीमा मात्र सञ्चालन गरिएको उनले जानकारी दिए। हालसम्म विभिन्न जिल्लाका दुर्गम क्षेत्रका ८ वटा स्थानीय तहहरूमा टेलिमेडिसिन सेवा सञ्चालनमा रहेको उनले बताए।
टेलिमेडिसिन सेवा सञ्चालनका लागि इन्टरनेट र टेलिफोन कमजोर हुँदा केही स्वास्थ्य संस्थामा समस्या भएको छ।
‘अहिले यो सेवा सञ्चालन भएका स्वास्थ्य संस्थामध्ये १० वटामा मात्र नियमित सेवा दिने काम भइरहेको छ,’ अपरेटर चन्दले भने, ‘अन्य ठाउँमा इन्टरनेट र फोनको कमजोरीका कारण नियिमत हुन सकेको छैन।’
टेलिमेडिसिन सेवाअन्तर्गत सेवा दिँदा सम्बन्धित संस्थाका स्वास्थ्यकर्मीहरूले इन्टरनेट उपलब्ध नभएको वा राम्रोसँग काम नगरेको खण्डमा टेलिफोनमार्फत् पनि जोडिने गरेको उनले बताए।
टेलिमेडिसिनको लागि ‘कर्णाली केयर’ नामक छुट्टै सफ्टवेयरसमेत बनाइएको छ। उक्त सफ्टवेयरमा सेवा सञ्चालन भएका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले बिरामीको नाम, ठेगानासहित उनीहरूका समस्या अपलोड गर्छन्। त्यसलाई अपरेटिङ कक्षबाट हेरेर अपरेटरले सम्बन्धित चिकित्सकलाई सम्पर्क गराउने काम गर्छन्।
सफ्टवेयरमार्फत चिकित्सक र स्वास्थ्यकर्मीबीच भिडिओ कन्फ्रेन्स गर्नुका साथै बिरामीलाई प्रत्यक्ष देखाएर भिडिओमार्फत् नै परामर्श पनि दिने गरिएको अपरेटर चन्दले बताए।
स्वास्थ्यकर्मीलाई सञ्चार खर्च
टेलिमेडिसिन (दूर चिकित्सा सेवा) मार्फत चिकित्सकसँग बिरामीको सम्पर्क गराउने सम्बन्धित स्वास्थ्य संस्थाका कर्मचारीलाई समेत सञ्चार खर्च उपलब्ध गराउने गरिएको छ। यो सेवा प्रदेश अस्पताल आफैंले व्यवस्था गरेको हो।
स्वास्थ्य संस्थामा टेलिमेडिसिनमा काम गर्न एक जना स्वास्थ्यकर्मीलाई जिम्मा दिइएको हुन्छ। उनीहरूले चिकित्सकसँग बिरामीलाई सम्पर्क गराएबापत् निश्चित रकम पाउँछन्।
बालरोग विशेषज्ञ डा. केसीका अनुसार दैलेखको महाबु गाउँपालिका र डोल्पाका स्वास्थ्यकर्मीलाई एक जनालाई सेवा दिएवापत् ५० रुपैयाँ दिने गरिएको छ। अन्य स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई २५ रुपैयाँ प्रतिव्यक्ति दिने गरिएको छ।
‘टेलिमेडिसिन सेवामार्फत् एक जनालाई चिकित्सकसँग सम्पर्क गराएर सेवा दिएवापत् निश्चित रकम त्यो स्वास्थ्यकर्मीको व्यक्तिगत खातामा जान्छ,’ डा. केसीले भने, ‘यो उनीहरूका लागि प्रोत्साहन सँगै सञ्चार खर्चका रूपमा पनि हामीले बुझ्नुपर्छ।’
कर्णाली प्रदेश सरकारले पनि टेलिमेडिसिन सेवा सञ्चालनका लागि छुट्टै निर्देशिका बनाएको छ। निर्देशिकामा स्वास्थ्यकर्मीलाई सञ्चार खर्च दिने उल्लेख नगरिए पनि सेवा सञ्चालन गरिरहेको प्रदेश अस्पतालले नै व्यहोर्ने गरेको छ।
कर्णालीमा यो सेवालाई दीगो र अझ धेरै प्रभावकारी बनाउनका लागि प्रदेश सरकारसँग समन्वय गरेर इन्टरनेट तथा कम्प्युटरको व्यवस्था सबै अस्पतालमा गर्न खोजिएको डा. केसीले बताए। उनकाअनुसार प्रदेश अस्पतालबाट एक जनालाई टेलिमेडिसिनसम्बन्धी छुट्टै अध्ययनका लागि बाहिर पठाउने तयारीसमेत गरिएको छ।