नायब सुब्बा पदमा कार्यरत श्रीमानको बढुवा हुन्छ। शाखा अधिकृतमा बढुवा भएका श्रीमानले घरभित्र पसिनसक्दै श्रीमतीलाई खुसीको कुरा सुनाउँछन्।
लामो समय नायब सुब्बा पदमा रहेर काम गरेका श्रीमान आफूले अरू सयौं जना प्रतिपर्धीभन्दा बढी नम्बर ल्याएर अधिकृत बन्दा निकै खुसी छन्। श्रीमती जागिरमा पदको बारेमा थाहै पाउँदिनन्, चासो पनि गर्दिनन्। त्यसैले उनको अनुहारमा श्रीमान नायब सुब्बाबाट अधिकृत भएको खुसी पनि देखिँदैन।
श्रीमतीलाई एउटा मात्र चाहना छ– श्रीमानले छिमेकी बराबर पैसा कमाओस् र आफूलाई छिमेकीकै श्रीमतीलाई जस्तो गहनाले भरिदियोस्। आफ्नो घर पनि उनै छिमेकीको जस्तो होस्, आफ्नो गलामा महँगो हार होस्।
उनका छिमेकी खरिदार पदमा छन्। तर उनको चिटिक्क परेको ठूलो घर छ। घरभित्र र बाहिरको सजावट उत्तिकै आर्कषक। ती खरिदारकी श्रीमतीले बारम्बार आफ्ना श्रीमानले कमाएर जोडेको गहना, लुगा, गाडी, घर लगायत सम्पत्तिबारे सुनाइरहन्छिन्।
शाखा अधिकृतमा बढुवा भएका श्रीमान घर पुग्छन्।
श्रीमानः ए यता आउन।
श्रीमतीः हजुर।
श्रीमानः मेरो बढुवा भयो। म शाखा अधिकृत भएँ। तिमी त हाकिमनि भयौ नि लाटी।
श्रीमान श्रीमतीले हात समाएर खुसी मनाउँछन्। श्रीमान खुसी भए पनि श्रीमतीलाई हारकै धोको छ। एकछिनमा फेरि दुईजनाबीच संवाद सुरू हुन्छ।
श्रीमतीः हार ल्याउनुभो?
श्रीमानः के को हार ल्याउनु नि, जितको कुरा गर न। तिम्रो श्रीमान कति जनालाई जितेर शाखा अधिकृत भइसक्यो। जितको कुरा गर...।
श्रीमतीः मैले त्यस्तो हारको कुरा गरेको हो र? घाँटीमा लगाउने हारको कुरा पो गरेकी त।
श्रीमानः ए त्यस्तो पो!
श्रीमतीः हो नि। पल्ला घरकी खरिदारकी श्रीमतीको जस्तो हार भनेको। हजुर अधिकृतबाट बढुवा भएर खरिदार हुने कहिले हो के?
इमानदार भएर तलब र सरकारी नियममा भएका केही अरू सुविधा बुझ्ने शाखा अधिकृत श्रीमान र श्रीमतीबीच ठट्यौली कुरा हुन्छ।
त्यत्तिकैमा उनीहरूकी छोरी आउँछिन् र भन्छिन्– मामु मलाई आइफोन चाहियो।
शाखा अधिकृतमा बढुवा भएका बुवालाई देखाउँदै आमाले भन्छिन्ः तिम्रो इमानदार जागिर गरिरहेका बुवालाई भन न।
छोरीले बाबालाई त्यही कुरा भन्छिन्।
संवादपछि शाखा अधिकृतकी श्रीमती रिसाउँदै भित्र पस्छिन् र भन्छिन्ः इमानदार श्रीमानको आदर्श नै खाउँला, आदर्शमै सुतौंला, आदर्श नै लगाउँला। जाउँ छोरी हिँड।
श्रीमान ठट्यौली पारामा भन्छन्ः ए मान्छे, त्यो मैले हिजो ल्याएको ‘आर्दश चियापत्ति’ हालेर एक कप मिठो चिया लिएर आऊ त।
श्रीमती केही प्रतिक्रिया दिन्नन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३० औं वार्षिकोत्सवको अवसरमा सुर्खेतस्थित कार्यालयले आयोजना गरेको कार्यक्रमा देखाइएको यो नाटकले भ्रष्टाचार गरेर कमाएको कर्मचारीको जिन्दगीलाई चित्रण गर्छ। योसँगै भ्रष्टाचार गरेका कर्मचारी र उनको परिवारको पछिल्लो अवस्था पनि व्यक्त गर्छ।
आफ्नो घर धितो राखेर श्रीमतीको उपचार गराउन बाध्य भएका एक जना वृद्ध फाइल बोकेर उनकै श्रीमानले काम गर्ने कार्यालयमा सिफारिस लिन आउँछन्। घुस नदिएपछि प्रक्रिया नमिलेको भन्दै एक जना खरिदारले उनलाई थर्काएर फिर्ता पठाउँछन्।
तर, त्यस्तै अरू फाइल भने प्रक्रिया पुगेको भन्दै कर्मचारीले काम गरिदिन्छन्। हाकिम र खरिदारबीच कुरा हुन्छ। उनीहरूले रकम (घुस) आएका फाइल पास गरेर काम सम्पन्न गरिदिने सहमति गर्छन्।
त्यत्तिकैमा एकजना नेता आउँछन्। गाउँमा भएको खानेपानीदेखि सडकसम्मका योजनाको काम गरेर उपभोक्ता समितिबाट कमिसन ल्याएर खरिदारलाई बुझाउँछन्। हाकिम भने फोन आएको बहानामा भित्र पस्छन्। तीन वटा योजनाको काम गरेका ती नेताले खरिदारलाई दुइटा योजनाबाट आएको कमिसन मात्र बुझाउँछन्। एउटा योजनाबाट कमिसन आउनै नसकेको जानकारी पनि गराइदिन्छन्।
शाखा अधिकृतभन्दा धेरै कमाउने खरिदारकी श्रीमती तिनै शाखा अधिकृतको घरमा आउँछिन्। अधिकृतकी श्रीमतीलाई आफ्ना गहना, सारी सबै देखाउँदै संवाद गर्छिन्।
उनी भन्छिन्ः आफ्नो त एकपटक लगाएको सारी अर्कोपटक लगाउनै चलन छैन। अस्ति भर्खर ५५ हजारमा किनेको सारी त्यत्तिकै थन्काएर राखेकी छु। बरू हजुरलाई सुहाउँछ लगाउनू है।
शाखा अधिकृतकी श्रीमतीसँग आफ्नो परिवार सिंगापुर घुम्न जाने पनि बताउँछिन्।
अधिकृतकी श्रीमतीलाई भन्छिन्ः ‘हामी केही दिनसम्म आउँदिनम् होला, घर हेरिदिनुहोला है।
उनी निस्किन्छिन्। अधिकृत आउँछन्, आफ्नी श्रीमतीसँग मिठा कुरा गर्छन्। आफूले इमानका साथ कमाएको सामान्य कमाइले चलेको घरव्यवहारका बारेमा श्रीमानश्रीमती बीच कुरा हुन्छ।
श्रीमानले त्यही बेला आफ्नो कार्यालयका हाकिम र खरिदारलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले पक्राउ गरेको कुरा श्रीमतीलाई सुनाउँछन्।
श्रीमती अचम्म मान्छिन् र भन्छिन्ः अहिले भर्खरै आएर पल्ला घरे बहिनीले सिंगापुर घुम्न जाने कुरा गर्दै थिइन्, अब कहाँ जालिन् है उनी !
उनीहरूलाई आयोगले रंगेहात पक्राउ गरी सम्बन्धित निकायमा लैजान्छ। श्रीमानश्रीमतीबीच ‘भ्रष्टाचार गरी कमाएको पैसाले यो स्थिति निम्त्याउँछ’ भनेर संवाद चल्छ।
यत्तिकैमा छोरी आउँछिन् र भन्छिन्ः बाबा मलाई अब आइफोन चाहिँदैन।
आयोगको स्थापना दिवसको अवसरमा आरंग नेपालले मञ्चन गरेको यो नाटकले मञ्चमा बसेका अतिथिदेखि दर्शकदीर्घाका सहभागीहरूको समेत ताली पाउँछ। नाटकले ताली मात्र पाएन, कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री सभामुख समेतबाट प्रशंसा पायो।
कार्यक्रममा सहभागी भएका कर्णाली प्रदेशका प्रमुख गोविन्द कलौनी, मुख्यमन्त्री महेन्द्र बहादुर शाही, सभामुख राजबहादुर शाही, मन्त्री नरेश भण्डारी, प्रदेशका प्रमुख सचिव, सुर्खेतका जिल्ला समन्वय समिति संयोजक लगायतबाट प्रत्यक्ष रूपमा प्रशंसा पायो।