धनगढी उपमहानगरपालिका वडा नम्बर-९ गौरीकटानमा ३ सय घरधुरी जति दलित समुदायको बसोबास छ।
यहाँका बासिन्दाको मुख्य पेसा भारतमा गएर मजदुरी गर्नु हो। घरका छोरा मान्छेहरू हरेक वर्ष भारत विभिन्न सहरमा गएर मजदुरी गर्छन् त्यसैको कमाइले घर चलाउँछन्।
गौरीकटानमात्र होइन कर्णाली र सुदूरपश्चिमका गरिबीमा बाँचिरहेका अधिकांश छोरामान्छेको जिन्दगी इन्डियामै बित्छ। काम गर्न सक्ने भएदेखि नै उनीहरू भारत पस्छन्। बाजे-बराजुका पालादेखि चलिरहेको यो चलन अहिले पनि जारी छ।
कोरोनाभाइरसको महामारीबीच गौरीफन्टा नाकामा दिनदिनै भारत जानेको लर्को लाग्छ। त्यो लाइनमा अचेल दृश्य भने अलि फरक देखिन थालेको छ। छोरामान्छेको लाइनको बीचबीचमा कलिला किशोरीहरू पनि देखिन्छन्।
गौरीकटानकी इन्द्रा नेपालीका श्रीमान धेरै भयो बम्बै जान थालेको। बम्बैको नोकरीले उनले घर खर्च चलाएका थिए, छोराछोरी पढाएका थिए।
गत वर्ष कोरोना भयो। नोकरी छुट्यो। उनी परिवार सम्झेर घर आए। श्रीमान् घरमै बस्दा आर्थिक अभावले खानलाउन धौ-धौ परेको इन्द्राले सुनाइन्।
महामारीको त्रास कम हुँदै गएकाले अहिले स्वदेश फर्किएका नेपाली फेरि भारत फर्किन थालेपछि इन्द्राका श्रीमान् भारत पसे।
यसपटक उनीसँगै कक्षा १० मा पढ्ने १६ वर्षीय छोरी जानकी कमाउन बम्बै गएकी छिन्।
माघ ३ गते छोरीलाई कमाउन बम्बै पठाएको इन्द्राले बताइन्।
‘छोरीको पढ्ने सपना त थियो तर, पैसा छैन कसरी पढाउने? त्यही भएर उसको बुबासँगै बम्बै पठाइदिएँ,’ उनले भनिन्।
जानकीले अहिले बम्बैमा एक मालिकको घरमा बच्च्चा हेर्ने, भाडा माझ्ने काम गर्छिन् रे।
‘काम गरेको एक महिना पनि पुगेको छैन, कमाई राम्रो भए दिवालीपछि आउँछु भनेकी छ,’ इन्द्राले भनिन्।
गौरीकटानकै कक्षा ९ मा पढ्ने १४ वर्षीया चाँदनी नेपाली पनि कमाउन माघ १७ गते बम्बै गइन्।
उनकी आमा चन्द्राका अनुसार मामाघरका दाइसँग जानकी बम्बै गएकी हुन्।
सेतोपाटीसँग कुरा गर्दै चाँदनीले भनेकी थिइन्- मेरो पढ्ने इच्छा छ। तर आमाबुबाको पढाउने शक्ति छैन। स्कुल ड्रेस, कापी, किताब किन्ने पैसा नभएपछि कसरी पढ्ने?'
चादनीले माघ १ देखि नै स्कुल छोड्नु पर्यो। अरू साथीजस्तै उनले पनि बम्बै पुग्नुपर्यो। बम्बै जाने गाडीभाडा पनि उनले ऋण काढेर जुटाएकी थिइन्।
‘इन्डिया जान कसलाई रहर हुन्छ र आफ्नो ठाउँ, जन्मेको गाउँ, आमाबुबा भाइलाई छोडेर। पढ्ने उमेरमा काम गर्न जानु पर्दा धेरै मन रोएको छ’, उनले भनेकी थिइन्।
माघमा मात्रै चाँदनी र जानकीजस्ता गौरीकटानका ८ जना किशोरी स्कुल छोडेर भारतको मुम्बई, बैंगलोरजस्ता ठाउँमा कमाउन गएको इन्द्राले सुनाइन्।
कक्षा ९ मा पढ्ने निकु नेपाली, कक्षा १० मा पढ्ने सबिता नेपाली, कक्षा ५ मा पढ्ने रुपा आउजी पनि स्कुल छोडेर कमाउन गएका छन्।
अभिभावक भारतमै कमाउन जाने गरेको देखेर स्कुल पढ्ने उमेरका बालिका तथा किशोरीसमेत अचेल कमाउन जान थालेको स्थानीय रामकली बिकले बताइन्।
‘पोहर-परार लोग्ने मान्छेमात्रै जान्थे, अहिले त महिला र बालिका पनि जान्छन्,’ उनले भनिन्।
कमाउन भनेर भारत पसेका किशोरीहरू पढ्ने भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकराज जोशीले आफ्नो विद्यालयका आधा जति विद्यार्थी चालु शैक्षिक सत्रमा भर्ना नभएको बताए।
उनले कक्षा ७, ८, ९ र १० मा पढ्ने किशोरीहरूले स्कुल छोडेको बताए।
‘हाम्रो स्कुलमा पढ्ने विद्यार्थीहरू गरिब परिवारका छन्, लकडाउनले अभिभावकको काम छुट्यो, आर्थिक भार पर्यो, त्यही कारण धेरैले स्कुल छोडेका हुन सक्छन्,’ उनले भने।
गौरीकटानमात्र नभई अन्य ठाउँ किशोरीहरू पनि कमाउन भारतका पसेका छन्।
धनगढी उपमहानगरपालिका-१५ उर्मी कटानकी सीता चौधरीकी १७ वर्षकी छोरी स्कुल छोडेर यस वर्ष भारतमा कमाउन गएकी छन्।
कोरोना महामारीमा लामो समय स्कुल बन्द भएपछि छोरी भारत गएको उनले बताइन्। पढेरभन्दा कमाउन गए पैसा हातमा हुन्छ भनेर छोरीले पढाइ छोडेको उनले बताइन्।
किशोरीहरू पढाइबाट बञ्चित हुँदै गए उनीहरू समाजमा कमजोर हुने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
केही वर्ष अगाडि किशोरीहरूलाई शिक्षाप्रति आर्कषण गराउने खालका कार्यक्रम सञ्चालन हुने गरेका थिए। पछिल्लो समयमा त्यस्ता कार्यक्रम भएका छैनन्।
कमाइको लोभले पढाइ नै छोडेर अर्काको देशमा कमाउन जाँदा उनीहरूको क्षमतामा असर पर्ने शिक्षाविद् डाक्टर हेमराज पन्तले बताए।
कोरोनापछि लामो समय विद्यालय बन्द हुनु, गरिबी, कमाउन जाने चलन र चेतना कम भएका कारणले किशोरीले स्कुल छोड्ने गरेको उनले बताए।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले गरिबीको कारण देखाउँदै अभिभावकले बालबालिकाको पढाइ छुट्याउने गरेको बताए।
‘हामीले सक्दो प्रयास गरेका छौं। सबै बालबालिकालाई पढाउनु पर्छ भनेका छौं, अझ पढाइ छोडेर किशोरीलाई भारतमा कमाउन जान दिनु हुँदैन पनि भनेका छौ,’ उनले भनिन्।
गरिब परिवारलाई स्वदेशमा रोजगारी दिलाउन थुप्रै कार्यक्रम अगाडि सारे पनि त्यसमा सहभागी नहुने तर कमाउन भारत जाने र साना बच्चालाई पनि लैजाने प्रवृत्तिले विद्यार्थीले पढ्न नपाएको उनले बताइन्।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले यस वर्ष प्रदेशमा झन्डै ३० प्रतिशत बालबालिकाले पढाइ छोडेको हुनसक्ने बताए।
विद्यालयबाट सबै विवरण मन्त्रालयमा आइनपुगेकोले ठ्याक्कै संख्या भन्न सक्ने अवस्था नरहेको उनले बताए।
गत वर्षसम्मको विवरण हेर्दा प्रदेशमा हरेक वर्ष कम्तिमा ३ प्रतिशत विद्यार्थीले पढाइ छोड्ने गरेको तथ्यांक मन्त्रालयको छ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले जिल्लामा ४ हजार ३ बढीले यस वर्ष विद्यालय छोडेको बताए।
‘विद्यालय छोडेकाहरू अधिकांश भारतमा कमाउन गएका छन्, कोही स्वदेशमा पनि मजदुरी गर्छन्’ उनले भने।