२५ वर्षका लक्का जवान युवक बेडमा छटपटाइरहेका छन्। उनलाई र परिवारलाई थाहा छ, अब उपचार सम्भव छैन। बिरामीसँग जीवनको मोह यति उच्च थियो कि, रोइकराइ गरेर हरदम चिकित्सक गुहारिरहन्थे। आफू बाँच्न चाहेको कुरा सुनाइरहन्थे।
मृत्युलाई कुरेर बसेका ती बिरामी र उनका परिवारजनको आँखामा छचल्किएको आँशु र भावविह्वल स्वजन देख्दा उपचारमा खटिएका चिकित्सकसमेत व्याकुल बन्थे। जवान छोराको त्यो अवस्थाले उनका अभिभावकको मनमा कस्तो हुण्डरी चलाउँथ्यो होला?
ताप्लेजुङका ती युवकको उपचारमा खटिएकामध्ये एक थिए, धरान बीपी प्रतिष्ठानका डा. सञ्जीवकुमार शर्मा। यो सन् २००१ को कुरा हो, ६ महिनापहिला कतार गएका ती युवक दुबै मृगौला फेल भएर स्वदेश फर्केका थिए।
डायलासिसका लागि आएका उनको परिवारसँग खर्च धान्ने उपाय थिएन। त्यसबेला नेपालमा मिर्गौला रोगको उपचार अहिले जति सहज भइसकेको थिएन। डायलासिस गर्ने सुविधा काठमाडौंबाहिर धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्खरै सुरू भएको थियो। शुल्क यति महँगो थियो, जो कसैले थेग्नै मुश्किल थियो।
‘उनी बेडमा यसरी छटपटाउँथे मलाई केही गर्न नसकेकोमा पछुतो हुन्थ्यो, डाक्टर नबनेको भए यो देख्न पर्दैनथ्यो भन्ने लाग्थ्यो’, डा. शर्मा सम्झिन्छन्, ‘यदि बेलैमा जाँचपड्ताल गरेको भए सामान्य उपचारले उनको रोग निको हुनसक्थ्यो।’
डा. शर्मालाई त्यहीबेला लागेको थियो, लक्षण बेगरका दीर्घ रोगबारे सर्वसाधारणलाई बेलैमा जानकार तुल्याउन सके धेरैको जीवन बचाउन सकिन्थ्यो। के गर्ने र कसो गर्ने भन्ने हुटहुटीले सताएकै बेला शर्माले उपाय निकाले, ‘आफ्नो विशेषज्ञता भएको रोगबारे गाउँ-गाउँमा जाँच अभियान चलाउने। सहयोगी गुहार्ने, आफैं खटिएर कम्तीमा सर्वसाधारणलाई स्वास्थ्य परीक्षणका लागि उत्प्रेरित गर्ने।’
ताप्लेजुङका युवकको अवस्था देखेपछिको दुई वर्ष अर्थात सन् २००३ मा सुरू भयो ‘केएचडिसी’ अभियान। केएचडिसी अर्थात किड्नी, हाइ ब्लडप्रेसर, डायबिटिज, कार्डियो भास्कुलर (मुटु)।
अभियानको लक्ष्य थियो, गाउँ-गाउँमा गएर स्वास्थ्य परीक्षण गर्ने, यी रोगहरू भए-नभएको पत्ता लगाउने र उपचारका लागि प्रेरित गर्ने। धरान क्षेत्रका सहयोगी, विदेशका विभिन्न सेवामूलक काममा खटिएका व्यक्ति अनि बीपी प्रतिष्ठानकै समन्वयमा डा. शर्मा नेतृत्वमा सुरू भएको अभियानबाट यो १८ वर्षमा झापा, मोरङ सुनसरीमा १ लाखभन्दा बढी सर्वसाधारणले सेवा पाइसकेका छन्। डा. शर्मा र उनको टिमको यो अभियानले पूर्वी नेपालको स्वास्थ्य सेवा क्षेत्रमा अतुलनीय योगदान गरेको मान्नेहरू प्रशस्त छन्।
बिहीबार बिहान झापा मेचीनगर ४ को बाहुनडाँगीमा भेटिए धरान बीपी प्रतिष्ठानका प्राध्यापक डा. शर्मा। उनी आफ्नो चिकित्सक टिमसहित सयौं सर्वसाधारणले घेरिएका थिए। माघ १८ देखि बाहुनडाँगीमा केएचडिसी क्याम्प चलिरहेको छ। सेवा लिन आएकालाई उनी भन्दै थिए ‘तपाईं स्वस्थ जीवन बाँच्ने भए दैनिक एक घन्टे जागिर खानुस्।’
उनको मान्यता छ, दैनिक एक घन्टा हिँड्ने बानी गरे, धेरै स्वास्थ्य समस्या छल्न सकिन्छ।
‘यो जागिर बिदा नबसी खानुस् भन्ने सल्लाह हुन्छ मेरो’, बीपी प्रतिष्ठानका यी चर्चित चिकित्सक थप्छन् ‘घाम, पानी, परिश्रम, आहारविहार यी सबैभन्दा उत्तम औषधी हुन्, चिकित्सकले लेख्ने औषधी छैठौं नम्बरदेखिका मात्रै हुन्। पहिलो पाँच नम्बरका औषधीमा जोड गरौं।’
डा. शर्माका अनुसार मिर्गौला, उच्च रक्तचाप, मधुमेह र मुटु रोग लक्षणविहीन रोगहरू हुन्, जसलाई ‘साइलेन्ट किलर’ भनिन्छ।
‘केही लक्षण नहुनु यी रोगका मुख्य लक्षण हुन्’, उनले भने, ‘जब पक्षघात, हृदयाघात हुन्छ, मृगौला बिग्रन्छ अनिमात्रै थाहा पाउनुभन्दा सुरूमै थाहा पाए सामान्य उपचारले बच्न सकिन्छ।’
केएचडिसी अभियानको मुख्य लक्ष्य नै यही हो।
बाहुनडाँगीमा जारी शिविरको सुरूमा वृद्धवृद्धा, दीर्घरोगीमात्रै स्वास्थ्य जाँचका लागि आइरहेका थिए। तर, चिकित्सक टोलीले दिएको सल्लाह हल्लाका रूपमा गाउँघरमा फैलिँदै जाँदा युवालाई पनि जाँचका लागि शिविरसम्म डोर्याएको छ। उनीहरूलाई लाग्दैछ, नियमित जाँच सबैभन्दा ठूलो कुरा रहेछ, जसले ठूलो क्षतिबाट जोगाउन मद्दत गर्ने रहेछ।
‘मलाई केही समस्या छजस्तै लाग्दैन थियो’, मेचीनगर २ का २७ वर्षीया एक युवतीले सेतोपाटीसँग भनिन्, ‘जचाउँ न त भनेर आएको मिर्गौलामा खराबी सुरू भइसकेको रहेछ।’
निजी विद्यालयकी शिक्षिका उनलाई चिकित्सकले आहारविहारमा ध्यान दिन र केही औषधी चलाउन भनेका छन्।
‘धन्य बेलैमा आएछु’, शिविरमा भेटिएकी उनले सुनाइन्, ‘सबै किड्नी बिग्रेपछि थाहा पाएको भए के हुन्थ्यो?’
१८ वर्षदेखि जारी यो सेवा अभियानमा डा. शर्मा र टिमले फेला पारेको केस स्टडीले भन्छ, ‘५० प्रतिशत बिरामीलाई आफू उच्च रक्तचाप र मधुमेह पीडित छु भन्ने थाहै हुन्न। मिर्गौलाका त शतप्रतिशत नै बेखबर जस्तै हुन्छन्।’
सुरूकै अवस्थामा यी रोग पत्ता लगाउन सके यसले निम्त्याउने जीवनको क्षति रोक्न सकिने उनको भनाइ छ।
यो अभियानले तीन चरणको कामलाई मुख्य प्राथमिकता दिएको छ। पहिलो चरणमा सर्वसाधारणलाई स्वास्थ्य परीक्षणका लागि प्रेरित गर्ने, तत् क्षेत्रका स्वास्थ्यकर्मीलाई केएचडिसीबारे तालिम दिने अनि यस्ता रोगबाट सर्वसाधारण जोगाउन सहयोग गर्न स्थानीय सरकारलाई घच्घच्याउने। बाहुनडाँगीमा चलिरहेको शिविरमा मेचीनगरको स्थानीय सरकार खटिएको छ। शर्मासहितका विशेषज्ञ चिकित्सक १० जना, नर्सिङ र ल्याबका स्वास्थ्यकर्मी १५ जना गरेर २५ जना स्वयंसेवामा खटिन्छन्। उनीहरूका लागि आउने जाने यातायातको प्रबन्ध बीपी प्रतिष्ठानले गरिदिन्छ। धरान र विदेशका सहयोगी व्यक्तिहरूले ल्याब सञ्चालनका लागि सहयोग उपलब्ध गराएका छन्। स्थानीय व्यवस्थापन स्थानीय सरकारले गरिरहेको छ।
मेचीनगर ४ का वडाध्यक्ष नवीन बराल लगायतको टिम यहाँ पनि खटिरहेको छ।
‘सुरूमा एक साताका लागि भनेर क्याम्प सुरू गरिएको थियो’, वडाध्यक्ष बरालले भने, ‘तर, अझै थप एक साता लम्बिएला जस्तो छ।’
केएचडिसी अभियन्ता स्थानीय सरकारलाई औषधीको प्रबन्ध गर्न, फलोअपका लागि प्रेरित गर्न आग्रह गरिरहेको हुन्छ।
बाहुनडाँगीमा हालसम्म यो क्याम्पमा स्वास्थ्य जाँच गरिएका ७ सय ४१ जनामध्ये ४ सय ९० मा कुनै न कुनै रूपमा मधुमेह, उच्च रक्तचाप, मृगौला र मुटुको समस्या देखिएको छ। तीमध्ये ३२ जनालाई पहिलो पटक मधुमेह देखिएको छ, जो आफूमा रोग भएको बारे बेखबर थिए। कोलस्टेरोलको समस्या २ सय ४८ र उच्च रक्तचाप १ सय ४८ जनामा देखा परेको छ। १९ जना यस्ता नयाँ रोगी भेटिए, जसलाई मिर्गौलाको समस्या देखियो।
‘अब उहाँहरूमा ठूलो क्षति हुने छैन’, डा. शर्माले भने, ‘किनभने, समस्या बेलैमा पहिचान भएको छ। अब औषधीले क्षति रोक्छ। तर, घाम पानी, परिश्रम, आहार र विहारमा ध्यानचाहिँ दिनुपर्छ।’