वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका छन्।
चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिएको उनीहरूको भनाइ छ।
शुक्रबार ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमबीच उनीहरूले मृत्युपछि शरीर दान दिने घोषणा गरेको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए।
दम्पतीले आ-आफ्नो भौतिक शरीर मृत्युपछि किष्ट मेडिकल कलेजलाई दान दिने बताएका छन्।
१०१ वर्षीय जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीसहितको हस्ताक्षरसहितको किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मन्जुरी पत्रका उनीहरूका छोरा अनुपराज जोशीको सहमतिको समेत हस्ताक्षर छ।
‘आफ्नो शरीर आफू मरेपछि पनि उपयोगी होस् भनेर हामी दम्पतीले यो कदम चालेका हौं’, घोषणापछि सत्यमोहन जोशीले भने।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा उक्त घोषणा कार्यक्रम आयोजना गरिएको हो।