सन्दर्भ जनयुद्ध दिवस:
माओवादी पृष्ठभूमिका नेकपा नेता-कार्यकर्ताले फागुन १ लाई विशेष रूपमा लिन्छन्।
२०५२ सालमा यही दिन उनीहरूले ‘दीर्घकालीन जनयुद्ध’को बाटो लिएका थिए।
त्यो ‘जनयुद्ध’ नेपालको राजनीतिक इतिहासमा सबभन्दा ठूलो रक्तपातपूर्ण घटनामा दर्ज भएको छ।
दश वर्ष लामो यो युद्धले १७ हजार ७८१ जनाको ज्यान लियो। १५ सय ३० जनालाई बेपत्ता पारियो। युद्धका दौरान क्षति भएका भौतिक पूर्वाधारसहित आर्थिक क्षतिको त गणना नै भएन।
माओवादीले युद्धकालमा मुठ्ठीभरका कब्जामा रहेको राज्यसत्ता खोसेर जनतालाई बाँड्ने सपना देखाएको थियो। त्यो सपना पूरा गर्न भन्दै धेरै युवा युद्धमा होमिए।
माओवादीको नारा मन पराएर २०५७ मंसिरमा स्याङ्जाको फेदीखोला-२ मिरुडाँडाका नारायण सुवेदी पनि भूमिगत भए।
सत्ता कब्जा गर्ने उद्धेश्य बोकेर माओवादीको पूर्णकालीन कार्यकर्ता बने, र जंगल पसे।
माओवादी कार्यकर्ताहरू प्राय: सबैले आफ्नो उपनाम राखेका थिए। जंगलमा उनको उपनाम ‘ग्रिष्म’ थियो।
स्याङ्जा घर भए पनि ग्रिष्म कैलाली सदरमुकाम धनगढीमा कार्यरत थिए। तत्कालीन सिँचाइ डिभिजन कार्यालयमा नायब सुब्बा थिए उनी।
नेपाल सरकारको कर्मचारी भए पनि उनी विद्रोही माओवादीको सम्पर्कमा पुगेका थिए।
माओवादीसँग सम्पर्कमा पुग्न उनलाई तत्कालीन एमालेको विभाजनले टेवा पुर्याएको थियो।
एमाले निकट कर्मचारी संगठनका केन्द्रीय सदस्य रहेका ग्रिष्म २०५५ सालमा पार्टी विभाजन भएपछि निराश बनेका थिए।
एमाले र मालेमा विभाजित पार्टीमा बसिरहन उनलाई मन लागेन। पार्टी फुट्नुअघि कर्मचारी संगठनमा रहेर आन्दोलनमा लाग्दा केही समय उनलाई तत्कालीन सरकारले कारबाही समेत गरेको थियो।
एकातिर एमालेको विभाजन, अर्कोतिर माओवादीको उदय। कम्युनिष्ट विचारले ओतपोत ग्रिष्मको सरकारी जागिर पेन्सन पाक्न ५ वर्षमात्र बाँकी थियो।
त्यही बेला जागिर छाडेर उनी भूमिगत बने। ग्रिष्मका छोरा घनश्याम सुवेदी अहिले स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष छन्।
एमाले पृष्ठभूमिका बुवाकै कारण सानो उमेरमै उनी एमालेको राजनीतिसँग परिचित थिए।
घनश्याम ५ कक्षामा रहँदै एमाले निकट अनेरास्ववियुमा आवद्ध भए। धनगढीमा बुवाले जागिर खाँदा किनेको घर थियो।
त्यही बसेर उनले एसएलसीसम्म पढे। बुवाकै कारण आमा मिलनकुमारी सुवेदी पनि एमालेको राजनीतिमा थिइन्। अहिले उनका आमा धनगढीमै रहेर शिक्षण पेशाका साथै पार्टीमा पनि आवद्ध छिन्।
परिवार नै एमाले बनेका बेला ग्रिष्म भूमिगत हुन पुगेका थिए।
‘पार्टी विभाजनको असर होला, बुवा त्यसपछि एमाले रहनुभएन’, घनश्यामले भने, ‘यो राज्यसत्ता कब्जा गर्नुपर्छ भनेर लाग्नुभयो।’
भूमिगत भएपछि पनि बुवा घरमा आइराखेको घनश्याम सम्झन्छन्।
‘त्यतिबेला बुवा एक्लै आउनुहुन्थेन, उहाँको साथमा २०, २५ जना पनि आउँथे,’ उनले भने।
भूमिगत भएपछि ग्रिष्मको सम्पर्क बाबुराम भट्टराईदेखि नेत्रविक्रम चन्द ‘विप्लव’, हालका उद्योगमन्त्री लेखराज भट्टसँग भेटघाट र सम्पर्कमा रहे। लेखराज भट्ट त उनीहरूको धनगढीस्थित घरमा धेरै पटक आइराख्थे।
बुवा भूमिगत भएपछि सेना उनको घरमा आउन थाले। आतंककारीका छोरा, छोरी भनेर थर्काउन थाले।
सेना यतिमै सीमित रहेनन्। ग्रिष्मका श्रीमती, एउटा छोरा र ३ छोरीलाई पनि ब्यारेकमा लैजान थाले। त्यतिबेला घनश्याम १६ वर्षका थिए।
भर्खर एसएलसी दिएका। ९ दिनसम्म सेनाले ब्यारेकमा राखेर यातना दियो। ‘त्यति सानो उमेरमा हामीलाई धेरै यातना दिए’, घनश्यामले भने, ‘आमालाई पनि मनलाग्दी गाली गरे।’
एसएलसी पास भएपछि घनश्याम पोखरा आए। विज्ञान पढ्न पोखराकै जनप्रिय कलेजमा प्रवेश परीक्षामा भाग लिए। तर पास भएनन्। त्यसपछि स्याङ्जा आएर दश जोड दुई पढे। स्नातक अध्ययन गर्न स्याङ्जाकै त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा भर्ना भए। अनेरास्ववियुबाट स्ववियु सभापति बने।
यता, छोरा घनश्यामसहित परिवार एमालेको राजनीतिमा अघि बढिरहे। उता बुवा भने माओवादी युद्धमा होमिएका थिए।
माओवादीले त्यतिबेला कैलालीमा जमिनदारको जग्गा खोसेर किसानलाई बाँडेका थिए।
‘सर्वहारा वर्गसँग गुमाउनका लागि हतकडीबाहेक केही हुँदैन,’ भन्ने भनाइ त्यतिबेला घनश्यामलाई पनि मन परेछ।
‘माओवादीले केही काम त राम्रो पनि गरेका थिए’, उनले भने।
माओवादी जनयुद्ध उत्कर्षमा पुग्दै थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएर निरंकुशता लादेका थिए। प्रजातन्त्र पुनस्र्थानाको माग राख्दै तत्कालीन ७ दल र आम नागरिक सडकमा उत्रिन थालेका थिए।
यत्तिकैमा माओवादी र आन्दोलनरत ७ दलबीच अनौपचारिक वार्ता हुन थालेको थियो। माओवादीले एकतर्फी युद्धविराम घोषणा गरिदियो।
त्यो युद्धविरामले सडक आन्दोलनलाई अझै ब्यापक बनाउन टेवा दियो। सत्ता हातमा लिएर बसेका तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशता अझै प्रष्फुटित भयो।
युद्धविराममा माओवादी कार्यकर्ता हतियार बोकेर डुल्न र सेना, प्रहरी माथिको आक्रमण घटाए।
त्यतिबेला माओवादीको इलाका इन्चार्ज बनेका ग्रिष्म पार्टी गतिविधिको समीक्षा गर्न पहाडको एउटा खोंचमा पुगेका थिए।
कैलालीको रामशिखर झाला भन्ने गाविसको पहाडी खोंचमा उनीहरूको समीक्षा कार्यक्रम चलिरहेको थियो।
२०६० असोज २१ गतेका दिन।
घनश्यामका अनुसार त्यतिबेला ग्रिष्म र उनका साथीहरूसँग हतियार थिएन। प्रहरी टोलीले उनीहरूको कार्यक्रमबारे सुइँको पाएछन्।
सशस्त्र र जनपद प्रहरीको टोली त्यो खोंचमा पुगे। सेनाले हवाई निरीक्षण गरिराखेका थिए।
निशस्त्र अवस्थामा रहेका माओवादी कार्यकर्तामाथि उनीहरूले आक्रमण गरे। ग्रिष्मसहित ७ जनाको हत्या भयो।
त्यो घटनामा ज्यान जोगाउनेहरूसँग अहिले पनि घनश्यामको परिवारसँग सम्पर्क भइराख्छ।
गत असोजमा मात्र घनश्याम धनगढी पुगेर त्यतिबेला ज्यान जोगाउनेहरूसँग भेटघाट गरेका थिए।
सेनाले हत्या गरेको भने पनि घनश्यामको परिवारले अहिलेसम्म बुवाको शव देख्न पाएका छैनन्।
पार्टीका कार्यकर्ताले घटनास्थलमा मारिएको भनेर परिवारलाई फोटो ल्याएर देखाए। तर त्यो फोटो उनीहरूलाई राख्न दिएनन्। पार्टीले नै शव व्यवस्थापन गरेको जानकारी आएको घनश्याम सम्झिन्छन्।
बुवा भूमिगत भएपछि घरमा भएका बुवाका सबै फोटो सेनाले जफत गरेर लगेका थिए।
अहिलेसम्म सेनाले पनि जफत गरिएका फोटोहरू फिर्ता दिएका छैनन्। बुवाको हत्यापश्चात् तत्कालीन माओवादी नेता लेखराज भट्टले रातो कलमले लेखेर समवेदना पत्र पठाएका थिए। त्यसयता माओवादी र तिनका नेताहरूले ग्रिष्मको सम्झना गरेका छैनन्।
बुवाको हत्या भएको र शव पार्टीले व्यवस्थापन गरेको जानकारी माओवादीले दिएपछि घनश्यामले स्याङ्जामै काजकिरिया गरे।
हजुरबुवाको घरमा किरिया बस्दा सेना र प्रहरीले उनलाई निगरानीमा राखेका थिए।
‘कतै माओवादीमा जाने हो कि, अरू माओवादी भेट्न आउँछ कि भनेर होला, घरमा सेना र प्रहरीका मान्छे आइराख्थे’, घनश्यामले भने।
स्याङ्जा बसेर कक्षा १२ को परीक्षा सकेर घनश्याम जागिरको खोजीमा लागे। स्थानीय एक स्कुलमा पढाउने जागिर पाए। त्यही जागिरको भरमा उनले उच्च अध्ययन अगाडि बढाए।
आफैंले ३ जना बहिनीलाई पनि पढाउन थाले। बुवाको हत्या भएपछि उनमा जिम्मेवारी थपिएको थियो।
बुवा भूमिगत भएपछि पनि घरमा आउँदा परिवारमा राजनीतिक गफ हुन्थ्यो। ‘हामीले त नजानुस् यस्तो हिंसात्मक गतिविधी नगरौं भनेका थियौं’, घनश्यामले भने, ‘बुवा प्रतिवद्ध भएर लाग्नुभएको थियो, यो राज्यसत्ता कब्जा गर्नुपर्छ भन्नुहुन्थ्यो ।’
ग्रिष्म यतिमै रोकिएका थिइनन्। अहिलेको पद्धति हटाएर नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भनेको झझल्को घनश्यामलाई झलझली आउँछ।
तत्कालीन माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा आँखा चिम्लेर होमिएका ग्रिष्मले शहादत प्राप्त गरे। उनै सपना देखाएर बाँचेकाहरूले सपना छाडिदिए।
‘मूल नेतृत्व अहिले जसरी ट्रयाक आउट भयो, त्यो देख्दा अहिले विरक्त लाग्छ’, घनश्यामले भने, ‘बुवाले बगाउनु भएको रगत पिप बनेजस्तो लाग्छ।’
शहिद परिवार भनेर अहिलेसम्म राज्यले एउटा परिचय पत्र पनि दिएको छैन। अल्पकालीन राहत भनेर यसअघि सरकारले किस्ताबन्दीमा पीडित परिवारलाई १० लाख रुपैयाँ दिएको थियो। उक्त रकम आमाले बुझेको घनश्यामले बताए।
माओवादी नेतृत्व पहिलो संविधान सभा निर्वाचनपश्चात सरकारको नेतृत्वमा पुगे।
बाबुराम भट्टराई अर्थमन्त्री बने। उनी स्याङ्जामा एउटा कार्यक्रममा सहभागी हुन आए।
घनश्यामलाई भेटेर आफूसँगै जान आग्रह गरे।
‘मलाई जागिर दिन्छु जाऊँ भन्नुभएको थियो’, घनश्यामले भने, ‘म अहिले जान्न, सदासयताका लागि धन्यवाद दिएँ।’
त्यतिबेला तत्कालीन माओवादी नेताहरू हितराज शाक्य, अमृता थापा मगर लगायत पनि साथै थिए ।
एमाले र माओवादी एकतापश्चात् एक पटक प्रचण्डसँग पनि घनश्यामले भेटेका थिए। तर यसबारे उनले कुरा गर्नै पाएनन्। अहिले ‘जनयुद्ध दिवस’मा विप्लव समूहले उनलाई सम्झने गरेका छन्।
उक्त समूहलाई सरकारले प्रतिबन्ध लगाउनुअघि विप्लवले हस्ताक्षर गरेको कार्ड फेदीखोला गाउँपालिकाको कार्यालयमा बुझाउन उनका कार्यकर्ता पुग्थे। गत वर्ष भने हुलाकमार्फत विप्लवको कार्ड आइपुगेको घनश्यामले बताए।
अरू नेता, कार्यकर्ताले भने सम्झेका छैनन्।
सानै उमेरमा बुवा गुमाएका घनश्याम अब फेरि त्यस्तो नहोस् भन्ने चाहन्छन्। पार्टी विभाजित भएर एमाले र माले बनेको मौकाको फाइदा त्यतिबेला विद्रोही माओवादीलाई पुगेको थियो।
उनले बुवालाई नै यसको उदाहरण मान्छन्। अहिले नेकपा विभाजित भएको छ। कार्यकर्ता तानातान सकिएर मुठभेडमा जान सक्ने स्थिति बनेको छ। सहरमा शक्ति प्रदर्शनको होड चलिरहेको छ।
‘कम्युनिष्टहरू चिरिएर विभाजित हुँदा त्यसको विकल्पमा माओवादी जन्मियो, अब त धेरैले विश्वास गर्दैनन्, तर यो विभाजनले हिंसालाई बल नपुगे हुन्थ्यो’, उनी भन्छन्।
अझै पनि आफू पार्टी एक हुनुपर्छ भन्ने पक्षमै रहेको उनले बताए।
हाल ओली समूहमा लागेका घनश्यामले भोलि एकता भइहाल्छ कि भन्ने झिनो आस अझै आफूमा रहेको बताउँछन्।
स्थानीय तहको पुनसंरचना गर्दा स्याङ्जामा फेदीखोला गाउँपालिका बनाउने प्रस्ताव थिएन। अहिलेको फेदीखोला र आँधीखोला गाउँपालिका मिलाएर नगरपालिका बनाउने प्रस्ताव थियो।
उनै घनश्यामको नेतृत्वमा फेदीखोला गाउँपालिका बनाउन आन्दोलन गरे। आन्दोलनकै बलमा गाउँपालिका स्थापित भयो। गाउँपालिका प्रमुखको चुनाव लड्न पनि उनले सहजै टिकट पाएनन्।
गाउँपालिकाको अध्यक्ष बन्न तत्कालीन एमालेमा ७ जना उम्मेदवार तयार भए। आन्तरिक रूपमा पार्टीले चुनाव गरायो। घनश्यामले आफूभन्दा सिनियर ७ जनालाई हराए।
आन्तरिक चुनावमा सर्वाधक मत पाएपछि नै एमालेले उनलाई उम्मेदवार बनाएको थियो।
अहिले उनी गाउँपालिका अध्यक्ष छन्। गाउँपालिकाभर माओवादी द्वन्द्वका सिकार बनेको भने आफू एक्लै। अब यस्तो द्वन्द्व नहोस् भनेर आफूले काम गरिरहेको उनले दाबी गरे।
माओवादी युद्धमा बेपत्ता नागरिक खोजबिन गर्न बेपत्ता खोजबिन आयोग र युद्धमा मारिएका नागरिकलाई न्याय दिन सत्य निरूपण तथा मेलमिलाप आयोग अस्तित्वमा छ। आयोगको पहिलो कार्यकालमा बसेका पदाधिकारीले उजुरी लिनेसम्म काम गरेको छ।
जसमा बेपत्ता पारिएको भन्दै ३ हजार १ सय उजुरी परेका छन् भने सत्य निरूपण आयोगमा ६५ हजार उजुरी छन्।
उक्त उजुरीमाथि छानबिन अहिलेसम्म हुन सकेको छैन। नेपालको शान्ति प्रक्रियाको महत्वपूर्ण काम सेना समायोजन भइसकेको छ।
संविधान सभामार्फत् संविधान जारी भएको पनि ५ वर्ष पुगिसकेको छ। पीडित परिवारले भने अझै न्याय पाउन सकेका छैनन्। राज्यले आफ्ना नागरिकलाई न्याय गर्न सकेन।
नेताहरूले नै बेपत्ता खोजबिन र सत्य निरूपण आयोगलाई काम गर्न नदिएको सामाजिक न्याय समितिका संयोजक रामकुमार भण्डारी बताउँछन्।
न्यायिक निरूपणमा अहिलेका नेतृत्व नै मुछिने भएकाले उनीहरू पीडितलाई न्याय दिन नखोजेको उनको भनाइ छ।
भण्डारीका बुबा तेजबहादुर भण्डारीलाई २०५८ पुस १६ गते लमजुङको बेंसीशहरबाट सेनाले बेपत्ता बनाएका थिए।
लमजुङमा शिक्षक रहेका तेजबहादुर बेपत्ता भएपछि अहिलेसम्म उनका बारेमा कुनै जानकारी सेनाले नदिएको भण्डारीले बताए।
‘राज्य नै अपराधीको संरक्षक बन्यो, राजनीतिलाई अपराधीकरण गरे’, भण्डारीले भने, ‘राज्यको रूपान्तरण गर्ने भनेर जुन सपना देखाएका थिए, त्यो सपनाको हत्या भयो।’
द्वन्द्वमा राज्य र माओवादी दुबैले सर्वसाधारणलाई पीडा दिएको उनले बताए। ‘अहिले ती दुबैथरि पीडकको मिलन भएको छ’, भण्डारीले भने, ‘पीडितलाई झनै सीमान्तकृत बनाए।’