गत बुधबार कैलालीको मध्यदक्षिणी क्षेत्र कैलारीमा बाघ देखिएको थियो। नेपाल र भारतको सिमानामा पर्ने कैलारी गाउँपालिका–४ को वनमा बाघ देखिएको स्थानीयले बताए।
वडा नम्बर ८ का सचिव तुलसीराम चौधरीले एक साताअघि ४ नम्बर वडाको दक्षिणतिर मोहना नदीनजिक बाघले गाई-गोरु लखेटेको बताए।
त्यसको भोलिपल्ट कैलारीकै ६ नम्बर वडामा बाघ देखिएको थियो। चौधरीले २९ गते ६ नम्बर वडाको वनकट्टीमा बाघ देखिएको र एक जना महिलालाई आक्रमण गरेको बताए।
‘वनमा पाइने साग टिप्न गएका एक जनाको खुट्टामा आक्रमण गरेको रहेछ, सँगै गएका अरु महिलाले हल्ला गरेपछि बाघ भागेको थियो,’ उनले भने।
३० गते बिहान वडा नम्बर ८ को लोहरपुरको वनमा बाघ देखिएको थियो।
दुधिया गाउँको बीचको जंगलमा बाघ देखिएको चौधरीले बताए। त्यहीँका एक जना पुरुषले वनको बाटो हुदै गइहरेका बेला बाघ देखेका थिए। उनलाई बाघले आक्रमण गरेपछि घाइते भएका थिए। शुक्रबार बिहान उनलाई आक्रमण गरेपछि नजिकै चौरमा भकुण्डो खेलिरहेका केटाकेटीले हो-हल्ला गरेका थिए।
त्यसपछि बाघ भागेको थियो।
घाइते पुरुषलाई उठाएर उदासीपुर प्राथमिक स्वास्थ्य चौकी ल्याइएको थियो। उनको अहिले सेती प्रादेशिक अस्पतालमा थप उपचार भइरहेको छ।
कैलारीमा मात्रै बाघले दुई जनालाई आक्रमण गरेको थियो।
‘हिजो पनि बाघ कराउँदैछ भन्ने स्थानीयमा हल्ला थियो,’ चौधरीले भने।
अहिले वडा कार्यालयबाट गाउँमा भलमन्साहरूमार्फत स्थानीयलाई सतर्क रहन र वनमा नजान अनुरोध गरिएको उनले बताए।
बाघ दुई ओटा हुन सक्ने स्थानीयको अनुमान छ।
डिभिजन वन धनगढीका प्रमुख रामचन्द्र कँडेलले आइतबार गौरीगंगा नगरपालिका–५ अन्डैयामा एक जनाको बाघको आक्रमणबाट ज्यान गएको बताए। त्यसको एक दिन अघिमात्र सोही ठाउँकी एक महिलालाई आक्रमण गरी बाघले घाइते बनाएको थियो।
कँडेलले बाघ भारतबाट आएको हुनसक्ने बताए। मान्छेलाई आक्रमण गर्न थालेपछि नियन्त्रणको प्रयास गरिरहेको उनले बताए।
‘बाघलाई मार्ने कि रेस्क्यु गरेर अन्त सार्ने विकल्पमा काम गरिरहेका छौं,’ उनले भने।
स्थानीय प्रशानलाई यसबारेमा जानकारी दिइसकेको उनले बताए।
वनमा जाँदा सतर्कता अपनाउन जनसमुदायमा अनुरोध गरिएको उनले बताए।
बाघको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुन्ज वा राष्टिय प्रकृति संरक्षण कोषको टोली चितवनबाट आउने उनले बताए।
‘त्यहाँ खबर भइसक्यो। पहिले क्यामरा ट्रयाप गरिएको थियो। त्यसमा त्यो परेन। फेरि एकचोटि ट्रयाप गरेर पत्ता लागेपछि रेस्क्यु गरिने छ,’ उनले भने।
कँडेलले एक बाघ र दुई बच्चा छन् भन्ने सूचना स्थानीयबाट आएको बताए।
बाघ पत्ता लगाउन पहिले क्यामरा ट्रयाप गरिने छ। सोमबार क्यामरा इन्सटल गरिने कँडेलले बताए। गौरीगंगा–५, मसुरीया, राजीपुरमा गरी चार क्यामरा लगाउने तयारी रहेको कँडेलले बताए। त्यो तराई भू-परिधि परियोजनाका प्राविधकले जडान गर्नेछन्।
बाघले कि त बुढो भएपछि सिकार गर्न नसकेर मान्छेलाई आक्रमण गर्छ या घाइते भएपछि। बच्चासँगै भएपछि पनि आहाराका लागि मान्छेलाई आक्रमण गर्नसक्ने उनले बताए।
बाघ मार्नु परे यहीँको सुरक्षा निकायलाई आग्रह भइसकेको उनले बताए।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञ बोहराले उद्धारको तयारी गरिएको बताए। यसका लागि सुरक्षा निकायलाई लिखित पत्राचार भएको उनले बताए।
‘थप मानवीय क्षति हुन नदिन पहल भइरहेको छ,’ उनले भने।
बोहराले दोस्रो चरणमा मार्न पर्ने अवस्था नआएसम्म बाघलाई उद्धार गरेर अन्त पठाउने काम हुने बताए।