बैतडीकी किशोरी भागरथी भट्ट हत्या अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम सुवेदी आफैं फिल्डमा खटिएको १० दिन पुगेको छ।
डिआइजी सुवेदीले समग्र अनुसन्धानको निगरानी, निर्देशन र अनुगमन गर्ने काम गरिरहेका छन्। उनी आफैं स्थानीय, परिवार तथा शंकास्पद व्यक्तिहरूसँग सोधपुछमा छन्।
यो १० दिनको नतिजा भने प्रगतिउन्मुख छैन। प्रहरीले अनुसन्धानको घेरा साँघुरो भएको बताए पनि तथ्यहरूले अझै पनि भागरथीको बलात्कार र हत्या गर्ने को हुन् एकिन गर्न सकेको छैन।
न प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा लिन सकेको छ। अधिकारीहरू यो घटनामा प्रहरीको ‘रणनीति’ अलि फरक रहेको बताउँछन्।
निर्मला पन्त प्रकरणमा प्रहरीले शंकास्पद व्यक्ति पक्राउ गर्दै सार्वजनिक गर्यो। तर, तथ्य हात नलागेपछि छोड्नु पर्ने अवस्था आयो। प्रहरीले तथ्यबेगरै सार्वजनिक गर्यो भनी आलोचना भएको थियो।
अधिकारीहरू निर्मला पन्तको अनुसन्धानमा देखिएजस्तो जटिलता भागरथी प्रकरणमा देख्दैनन्। शतप्रतिशत तथ्यमा पुगेर प्रगति सार्वजनिक गर्ने र यो सफलताउन्मुख रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंह बताउँछन्।
‘भागरथी भट्टको हत्या प्रकरण निर्मला पन्तको जस्तो असफलतातिर नजाओस् भन्नेतर्फ हामी सचेत छौं,’ सिंह भन्छन्, ‘विगतको जस्तो अनुसन्धान ट्रयाकबाहिर नजाओस् भनेरै हामीले अनुसन्धानमा पर्याप्त समय दिएका छौं।’
सडकमा भने भागरथी हत्याका दोषी पत्ता लगाउन प्रहरीलाई दबाब छ। सडकको दबाबलाई लिएर अनुसन्धान प्रभावित हुन नदिने दाबी प्रहरीले गरिरहेको छ।
प्रहरीले अहिलेसम्म तीन चरणको अनुसन्धान पूरा गर्दैछ। तेस्रो चरणको अनुसन्धानमा केही शंकित व्यक्तिहरू ‘क्लोज रिङ’मा आइसकेको सिंह बताउँछन्।
कसैलाई पक्राउ गर्नुअघि प्रहरीले आवश्यक तथ्य संकलनलाई बढी प्राथमिकतामा राखेको छ।
टेलिफोन विवरण, सम्पर्क सुत्र, घटनास्थलमा भूमिका, घटनास्थलमा भेटिएका तथ्यहरूको प्रमाणीकरण किटान भएपछि मानिस समात्ने योजना प्रहरीको छ।
सिंहका अनुसार ती तथ्यहरू संकलन भइरहेका छन्। टेलिफोन विवरणको आधारमा अहिले प्रहरीले शंकास्पद मानिसहरूलाई ‘वाच’ गरिरहेको छ। ती व्यक्ति प्रहरीको ‘क्लोज सर्भिलेन्स’मा छन्।
‘ती व्यक्ति भाग्न सक्ने अवस्था छैन। तिनैमध्ये कसको दोष के हो भन्ने एकिन गर्न बाँकी हो,’ सिंहले भने।
अन्य प्रमाणहरू विधिविज्ञान प्रयोगशालाको रिपोर्टबाट प्राप्त हुन बाँकी रहेको सिंहले बताए। अपराधी शतप्रतिशत यही हो भन्ने पत्ता लगाउन प्रहरीले विधिविज्ञान प्रयोगशालाको रिपोर्ट कुरिरहेको सिंहले बताए।
घटनामा एकै व्यक्ति हो वा धेरैजनाको संलग्नता हो अझै प्रहरीले पत्ता लगाउन सकेको छैन। र, कहिलेसम्म अपराधी पत्ता लाग्छन् भन्ने दाबी पनि प्रहरीले गर्न सकेको छैन।
‘अनुसन्धानको समय यति नै हुन्छ भन्न गाह्रो हुन्छ। आवश्यक प्रमाण जुटिसकेपछि आएका तथ्यहरू प्रमाणीकरणपछि अपराधी यो हो भन्ने प्रहरीले सार्वजनिक गर्छ,’ सिंहले भने।
प्रहरीले सम्पूर्ण घटनास्थल सिल गरेर सबुत प्रमाण संकलन गर्ने र परीक्षणका लागि पठाएको छ।
त्यहाँ वरपरका आम समुदाय र व्यक्तिहरूसँग घटनाको जानकारी लिने काम भइसकेको छ।
केही व्यक्तिहरूलाई शंका गरी प्रहरीले तिनीहरूलाई अनुसन्धान गर्ने काम पनि सकेको छ।
यसबाट केही व्यक्तिहरू ‘क्लोज रिङ’मा देखिएकाले भूमिकाको बारेमा बुझ्ने र प्रमाणीकरण गर्ने काम भइरहेको सिंह बताउँछन्।
‘तथ्यकै आधार, स्थानीय समुदायको जानकारीको आधारमा। घटनास्थलमा भेटिएको तथ्यहरूका आधारमा कतिपयलाई बोलाएरै र कतिपयलाई गएर सोधपुछ गरिएको छ,’ सिंहले भने।
जिल्ला प्रहरी कार्यालय बैतडी घटनाको अनुसन्धानको मुख्य भूमिकामा छ। त्यसबाहेक प्रदेश प्रहरी प्रमुख सुवेदी आफैं घटनास्थलमा गएर काम गरिरहेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पनि सहयोग गरिरहेको छ।
प्रदेश प्रहरीका एसएसपी जनकराज पाण्डेको विशेषज्ञ टोली घटनास्थलमा छ। प्रदेश प्रहरीकै इन्टेलिजेन्स टिम पनि छ।
‘अनुसन्धान एकदमै साँघुरो घेरामा छ। भेरिफाइ हुन बाँकी मात्र हो। अनुसन्धान अहिलेसम्म राइट ट्रयाकमै छ,’ सिंहले भने।
बैतडी दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भट्टको हत्या भएको आज २० दिन पुगेको छ।
उनको शव जिल्ला अस्पताल बैतडीमा छ। आफन्तले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका कारण प्रहरीलाई दबाब छ।
बुवाको मृत्यु भएको डेढ महिनामै उनको बलात्कारपछि हत्या भएको हो।
दुई दिदी बिहे भएर आफ्नो घर गइसकेका छन्। उनका दाजु भारतमा रोजगारी गर्थे।
हत्या हुनुअघि माघ २१ गते बुधबार दिउँसो २ बजेसम्म भागरथी आफू पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा साथीहरूसँगको सम्पर्कमै थिइन्।
२ बजेअगावै स्कुल छुट्टी भइसकेको थियो। स्कुल छुट्टी भएपछि भागरथी खोचलेक बजार पुगेकी थिइन्। त्यहाँ पुगेपछि उनले आफ्नी एक साथीलाई फोन गरेर सँगै जान अनुरोध गरेकी थिइन्।
साथीले ‘मेरो कपाल काट्नु छ समय लाग्छ’ भनेपछि उनी घर हिँडेकी थिइन्।