आज माघ शुक्लपञ्चमी अर्थात् हिन्दु परम्परामा श्रीपञ्चमी पर्व मनाइँदै छ।
मुख्य रूपमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आराधना गरिने यो पर्व मिथिलामा भने कैयन अवसरका लागि प्रतीक्षा हुने गरेको छ।
सरस्वती पूजनोत्सवको अवसरले किसानका खास उत्पादनले बजार पाउने र श्रमिक सम्बन्धन हुने परम्पराले यो कृषि व्यवसायको दृष्टिमा वर्षको पहिलो दिन मानिन्छ।
पर्वको अवसरमा बयर, केशोरसहितका आफ्नो उत्पादनको फलले राम्रो बजार पाउने र यसै दिन अघिल्लो एक वर्षको कृषि श्रमिक सम्बन्धन हुने मैथिली परम्पराले किसानका लागि यो खास पर्व बन्ने गरेको हो।
कृषि श्रमिक र कृषि ज्यावल मर्मत गर्ने लोहार पाइन छाडेपछि यस भेगका किसानका लागि पर्व निराश बन्दै आएको छ।
श्रीपञ्चमीका अवसरमा यसपालि कृषि श्रमिक पुज्न नपाइएको चिन्ताले महोत्तरीको बर्दिबास नगरपालिका-१३ विजलपुराका किसान रामसुन्दर ठाकुरलाई छटपटी बढेको छ।
वर्षेनि अघिल्लो एक वर्षका लागि कृषि श्रमिक (हलो जोत्ने, कोदालो खन्ने, घाँस/दाउरा गर्ने, गाईवस्तु चराउने र हेरचाह गर्नेसहितका कामका लागि) श्रीपञ्चमीकै दिन टुंगो गर्ने चलन छ।
यस दिन किसानले आपसी सहमतिमा एक वर्षका लागि टुंगो भएका श्रमिकलाई नयाँ वस्त्र पहिर्याएर अविरको टीका लगाई पुजन गर्दै मिष्टान्न भोजन गराएर दक्षिणा दिएपछि श्रमिक वरण पक्का हुन्छ।
यसपालि यस्तो श्रमिक नपाएपछि वरण गर्न नपाएको चिन्तामा ठाकुरको छटपटी बढेको हो।
‘कति दिन कति जना (कृषि श्रमिक) खोजे, छिमेकका बस्ती पनि चाहारे, काम गर्ने मान्छे भेट्टाइन’, ठाकुरले लामो सुस्केरा हाल्दै भने, ‘अब खेतीपाती गरेर गुजारा चलाउने दिन गए, खै के गर्ने हो?’, महोत्तरी सहितका मिथिला क्षेत्रमा वसन्तपञ्चमीसमेत भनिने श्रीपञ्चमीका दिन कृषि कार्यका लागि अघिल्लो एक वर्षका लागि कृषि श्रमिक र कृषि ज्यावल (हलो ठोक्ने, कुटो कोदालोे र हसिया, कँचिया उध्याउने र बिँड ठोक्ने) मर्मत गर्ने लोहार (यस्तो काम गर्ने मिथिलाका जाति विशेष) को टुंगो गरेर पुज्ने (वरण गर्ने) परम्परा भए पनि अब गाउँ/नगर, बस्तीमा यी कामका मान्छे पाइन छाडेपछि ठाकुरसहितका किसानको चिन्ता बढेको हो।
जिल्लाका गाउँ-नगर बस्तीमा कृषि कार्यका लागि कहलिएका मुसहर युवा रोजगारका लागि भारतको पञ्जाव, हरियाणा र अन्य समुदायका युवा अरबका देशमा गएपछि गाउँ नगरबस्ती युवाविहीन बनेका छन्।
काम गर्ने उमेरका युवा गाउँ बस्तीमा नरहेपछि श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न नपाइएको बर्दिबास-९ पशुपतिनगरका ६० वर्षीय किसान महेन्द्र महतो बताउँछन्।
‘एक महिनादेखि आफ्नै र वरिपरिका बस्तीमा जनको खोजी गरें’, महतोले दिक्दारिँदै भने, ‘तर कहीँ भेटिएनन्, कामकाजी उमेरका सबै युवा विदेशिए। अब खेती गरेर खाइएला भन्ने आश मर्यो।’
पछिल्लो एक दशकयता गाउँ/गाउँबाट कामकाजी उमेरका युवा रोजगारीका लागि विदेश जान थालेपछि खेतीपातीको काम निकैपछि धकेलिएको यस भेगका किसानको भनाइ छ।
कृषि कार्यका श्रमिक नपाइएपछि बिघौबिघा खेतबारी बाझै बस्न थालेका छन्। यसपालि त श्रमिक नपाएको चिन्ता मात्र नभई अधिकमासको प्रभावले पर्व पछि धकेलिँदा बयर पहिले नै रूखबाट झरेका र केशोर माटोमुनि नै बिग्रिएको किसान बताउँछन्।
श्रीपञ्चमी पर्वको सरस्वती पूजामा बयर (रूखमा फल्ने फल विशेष) र केशोर (माटोमुनि फल्ने फलविशेष) प्रसाद बनाउने चलनले यी दुबै फलको निकै महत्व हुन्छ।
यसपालि पर्व आउनुपूर्व नै बयर माघ (सौरमासको गणनाको) मै झरिसकेको र केशोर पर्व पर्खंदा पर्खंदै माटोमुनि नै सड्ने, कालो कत्ला हुन थालेर बिग्रेपछि किसानले मनमाफिकको आर्जन गर्न नपाइएको बताएका छन्। रासस