सुर्खेतको वीरेन्द्रनगर-४ मा पर्ने भंगेरीचौर जंगलको बीचमा रहेको सानो समथर भाग हो। एक वर्ष अघिसम्म यो ठाउँमा मानिसको ओहोरदोहोर खासै हुँदैनथ्यो। कोही गइहाले भने पनि सामुदायिक वनले घाँस, दाउरा खुलाउँदा लिन जाने मात्र हुन्थे।
पछिल्लो समय भने भंगेरीचौर जानेको लर्को लाग्ने गरेको छ। दैनिक यो ठाउँमा मानिस पुगेकै हुन्छन्। अन्य दिनभन्दा विदाको दिन धेरै मानिस ओइरिन्छन्। सुर्खेत आसपासका मानिसका लागि अहिले भंगेरीचौर आकर्षक गन्तव्य बनेको छ।
भैरव सामुदायिक वनभित्र रहेको भंगेरीचौरमा ‘शहिद पार्क तथा वनस्पति उद्यान’ निर्माण भइरहेको छ। ९० प्रतिशत बढी काम भइसकेको छ। निर्माण भइसकेका पार्कका भित्री संरचना स्विमिङ पुल, सहिद स्तम्भ, बगैँचालगायतले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेका छन्।
‘यहाँ घुम्न आएका साथीहरूले फेसबुकमा फोटो हाल्नुभएको हुन्थ्यो, टिकटकमा पनि धेरै नै देख्न पाइन्थ्यो,’ शहिद पार्कमा भेटिएकी सुम्निमा गिरीले सेतोपाटीसँग भनिन्, ‘यहाँ आएपछि देखेकोभन्दा पनि राम्रो लाग्यो, अझ सबै बन्यो भने झन् राम्रो हुन्छ होला।’
शहिद पार्क तथा वनस्पति उद्यान बनेयता भंगेरीचौरमा दैनिक आन्तरिक पर्यटक पुग्न थालेको भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर कार्कीले बताए।
‘पहिले यहाँ घाँसदाउरा लिन आउनेमात्र हुन्थे, शहिद पार्कको निर्माणसँगै आन्तरिक पर्यटक दिनहुँ आउन थालेका छन्,’ अध्यक्ष कार्कीले भने, ‘सार्वजनिक विदाको कुनै दिन त २ हजार बढी मानिस आएको रेकर्ड छ, अन्य दिनमा पनि निरन्तर कम्तिमा ५०-६० जना मानिसले अवलोकन गरेकै हुन्छन्।’
कर्णाली प्रदेशको वन तथा वातावरण निर्देशनालयमार्फत् बन्ने यो पार्क निर्माणकै क्रममा छ। पार्कको भित्री भाग निर्माण गरिसकिएको छ भने पर्खाल बनाउने काम भइरहेको छ। पार्कको भित्री भागका सबै संरचना अभियान निर्माण सेवाले बनाएको हो।
२०७६ भदौ १२ गते १ करोड १३ लाख ५१ हजार ६१८ रुपैयाँ लागतमा सम्झौता गरिएको उक्त काम २०७७ कात्तिक १२ गते सम्पन्न गर्नुपर्ने थियो। सम्झौता मितिभन्दा डेढ महिनाअगावै निर्माण कम्पनीले काम सम्पन्न गरिसकेको छ।
‘पार्कभित्र पानीको फोहोरा, स्वीमिङ पुल, शहिद स्मारक, बाटो लगायतका काम सम्पन्न भइसकेका छन्। त्यसबाहेकको बाहिर पर्खाल लगाउने काम भने अर्को कन्स्ट्रक्सनले गरिरहेको छ,’ पार्क निर्माणमा रहेका इञ्जिनियर विशाल अधिकारीले भने।
कर्णाली प्रदेश बनाउन भएको आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरूको सम्झना र सम्मानस्वरूप उक्त पार्क तथा उद्यान बनाइएको अध्यक्ष कार्कीले बताए। हालको कर्णाली प्रदेशका आधा जिल्ला सुदूरपश्चिम र केही जिल्ला लुम्बिनी प्रदेशमा राखेर संघीय संरचनाको निर्णय भएपछि २०७२ साउनमा छुट्टै कर्णाली प्रदेश हुनु पर्ने मागसहित आन्दोलन भएको थियो। आन्दोलनका क्रममा सुर्खेतका तीन जना र जुम्लाका एक जनाले ज्यान गुमाएका थिए।
उनै चार जना शहिदको सम्झनास्वरूप बनाइएको यो पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा समेत स्थापना गर्ने योजना रहेको कार्कीले बताए।
‘शहिदहरूको सम्मानस्वरूप निर्माण गरिने शहिद पार्कलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउने लक्ष्य पनि हो,’ उनले भने, ‘अहिले बाह्य पर्यटक त आउन सकेका छैनन्, सुर्खेत र आसपासका जिल्लाका आन्तरिक पर्यटकले भने अवलोकन गर्ने गरेका छन्।’
तीन हेक्टर क्षेत्रफलमा बनेको प्रादेशिक शहिद पार्क तथा वनस्पति उद्यानको रेखेदेखको जिम्मा तत्कालका लागि भैरव सामुदायिक वन उपभोक्ता समितिलाई नै दिइएको छ। अहिले वनकै स्वामित्वमा रहेकोले समितिले नै रेखदेख गर्ने र पछि सरकारले आफैं रेखदेखको जिम्मा लिने कार्कीले बताए।
निर्माणको क्रममा रहेको उद्यानभित्र विभिन्न खालका वनस्पति पनि रोपिने अध्यक्ष कार्कीले बताए।
‘अहिले पर्खालको काम हुँदैछ, त्यो बनिसकेपछि विभिन्न खालका बिरूवाहरू पनि लगाउँछौं,’ उनले भने, ‘वनस्पति उद्यान पनि भएको हुनाले त्यहाँभित्रका अनावश्यक वनस्पति नियमअनुसार फाल्ने र जडीबुटी लगायतका वनस्पति लगाउने हो।’
पार्क जंगलभित्र भएकाले पार्कबाट वरिपरिसमेत जंगलमात्र देखिन्छ। जंगलको बीचमा पर्यटकहरूका लागि हेर्नलायक संरचना बनेका कारण पनि मानिसलाई आकर्षित बनाएको हो। निर्माण तथा रंगरोगनको सबै काम सकिएपछि शहिद पार्क तथा वनस्पति उद्यान झन् आकर्षक बन्ने अध्यक्ष कार्कीले बताए।
पार्क पुग्ने बाटो असहज
शहिदहरूको सम्झनामा बनाइएको पार्क तथा उद्यानमा पुग्न बाटो भने असहज छ। हिउँदको समयमा पैदल जान सकिने भए पनि बर्खाको समयमा पार्कनजिकै रहेको खोर्के खोलामा हुने पानीले असहज हुनेछ।
शहिद पार्क तथा वनस्पति उद्यान निर्माणका लागि बनाइएको गुरुयोजनामा भने उक्त खोलामा झोलुङ्गे पुल समावेश गरिएको छ। गुरुयोजना अनुसार कर्णाली प्रदेश सरकारले बजेट व्यवस्था गरेर पुल निर्माण गर्ने भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कार्कीले बताए।
‘बर्खाको समयमा त्यहाँ खोला ठूलो हुन्छ, यसले गर्दा पर्यटकलाई जान असहज हुन्छ,’ उनले भने, ‘गुरुयोजनामा झोलुङ्गे पुल परेकाले अब प्रदेश सरकारले बजेट व्यवस्था गरेर बनाउँछ होला, हामीले पनि यही कुरा सरकारलाई भनिरहेका छौं।’
गुरुयोजना अनुसार उक्त शहिद पार्क तथा वनस्पति उद्यान बनाउन ६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। प्रदेश वन निर्देशनालय कर्णाली प्रदेशका वन अधिकृत सूर्य शर्माका अनुसार हालसम्म १ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ।
पार्क वरपरको पर्खाल लगाउनका लागि ७६ लाखमा ठेक्का भएर काम भइरहेको उनले बताए। उनका अनुसार पर्खाल लगाउने काम विशाल कन्स्ट्रक्सनले गरिरहेको छ।
शहिद पार्क तथा वनस्पति उद्यान निर्माणको प्रमुख उद्देश्यमध्ये पर्यापर्यटन पनि एक भएको उनले बताए।
‘कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तीव्र गतिमा शहरीकरण भइरहेको ठाउँ हो, यसले गर्दा शहर छेउछाउमा पनि पर्यापर्यटनको लागि संरचना बनाउन आवश्यक देखिन्छ,’ शर्माले भने, ‘अहिले बनिरहेको पार्कको प्रमुख उद्देश्यमध्ये ईको पर्यटन पनि एक हो।’
भैरव सामुदायिक वनले बनाएको कार्ययोजना अनुसार त्यहाँ पार्क निर्माण गरिएको बताए। हाललाई सम्बन्धित सामुदायिक वनकै स्वामित्व रहने र पूर्ण रूपमा पार्क तथा उद्यान निर्माण भइसकेपछि भने स्वामित्व परिवर्तन हुने उनले बताए।