नेपाल प्रहरीले सबैभन्दा बढी आलोचना भएको राष्ट्रिय,अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको घटना हो- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या।
२०७५ साउनमा उनको बलात्कारपछि हत्या भएको थियो तर साढे २ वर्षसम्म बित्दा पनि उनका हत्यारा पत्ता लागेका छैनन्।
निर्मलाका हत्यारा रहस्यमै रहेका बेला सुदूरपश्चिम यस्तै प्रकृतिको घटना भयो। कञ्चनपुरबाट केही माथि रहेको बैतडीमा अर्की किशोरीको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला पर्यो।
धेरैलाई आशंका थियो- भागरथीको बलात्कार-हत्या अनुसन्धान पनि निर्मलाकै जस्तै हुने त होइन।
यसपालि प्रहरीले निर्मलाको घटनामा भएको गल्ती दोहोर्याएन बरू १४ दिनमै अभियुक्त सार्वजनिक गर्यो।
यो सफलतापछि प्रहरीले भन्न थालेको - निर्मला पन्तको हत्यारा पनि पत्ता लाग्दैछन्।
कसरी?
‘यो अनुसन्धान अधिकृतको मेहनत, समाजको सहयोग र विश्वसनीय अनुसन्धानको कौशलले प्राप्त हुने नतिजा हो,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदी भन्छन्।
पन्त हत्याका लागि नेपालमा कहलिएका अनुसन्धान अधिकृत र विशेषज्ञ टोली परिचालित छ, सफलता हात लाग्छ भन्ने विश्वास सुवेदीलाई छ।
बैतडी घटनापछि सुवेदी आफैं घटनास्थल पुगेर अनुसन्धानमा खटिए। यसरी कुनै पनि जिल्लामा भएको घटना अनुसन्धानमा माथिल्लो दर्जाको प्रहरी अधिकारी बिरलैमात्र पुग्छन्।
सुवेदीले बैतडी गएर सुरूमा प्रहरीको काममा अनुगमन, निर्देशनका साथै नागरिकस्तरमा प्रहरीले गर्ने अनुसन्धानबारे बुझाउने प्रयास गरे।
आफ्नो ब्याचमा व्यावसायिक छवि बनाएका सुवेदी आफूलाई निर्मलाको घटनामा बरालिएको अनुसन्धानले नै बैतडी जान प्रेरित गरेको बताउँछन्।
२१ गते भागरथी भट्ट बेपत्ता भइन्। २२ गते लवलेक जंगलमा उनको शव भेटियो।
घटनाबारे सुवेदीले तुरुन्तै विशेष चासो राखे। उनले जिल्ला प्रहरी कार्यालयबाट डिएसपी नारायण अधिकारीलाई फिल्डमा खटाए।
शरीरको अवस्था बुझ्न, डाक्टर र कानुनी परामर्शका लागि वकिल झिकाउन लगाए। प्रदेशबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वमा विशेषज्ञ टोली खटाए। प्रदेश प्रहरीकै इन्टेलिजेन्स टिम पनि पठाए।
केन्द्रीय अनुसन्धान ब्युरोबाट डिएसपी पञ्चबहादुर बाखु नेतृत्वमा टोली पुग्यो।
यतिका टोली खटिए पनि सुवेदी सम्हालिएर र ती टोलीको रिपोर्ट कुरेर बस्न सकेनन्।
किनकी भागरथी हत्याबारे प्रदर्शन हुन थालिसकेका थिए।
‘कतै निर्मला पन्तको जस्तो अनुसन्धानको ‘ट्रयाक’ मोडियो भने!,’ सुवेदी सशंकित हुन थाले।
‘मेरो व्यावसायिक जीवनमा दाग लाग्ने त भयो नै। बाँचुञ्जेल पछुताइरहनु पर्ने घटना यही हुन बेर छैन भन्ने पनि लाग्यो,’ उनले भने।
यसैकारण घटना भएको चार दिनमा उनी बैतडी पुगे।
बैतडी पुगेर उनी त्यहाँको खोचलेक प्रहरी चौकीमा बसे। प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा रहेको प्रहरी चौकीमा डिआइजी गएर बस्न थालेपछि प्रहरी कर्मचारीहरू नै आश्चर्यमा परे।
सुवेदी त्यहाँ पुग्दा नारा-जुलुस र प्रदर्शन भइरहेका थिए।
उनले गएको भोलिपल्टैदेखि नागरिक समाजका विभिन्न समूहसँग अलग-अलग छलफल थाले।
‘म जाँदा नारा जुलुस थियो। आक्रोश थियो,’ सुवेदीले भने, ‘पहिला त्यसलाई शान्त पार्ने योजना बनाएँ।’
जुलुस बढ्न थाल्यो, जनआक्रोश बढ्न थाले अनुसन्धानमा बाधा पर्छ भन्ने कञ्चनपुरको घटनाले देखाइसकेको थियो।
सुवेदीले त्यसका लागि जनप्रतिनिधिसँग समन्वय र अनुरोध गरे। सर्वपक्षीय, सर्वदलीय रूपमा अन्तरक्रिया गरे। सनातन स्कुलमा गएर सर र विद्यार्थी अनि बजारमा व्यवसायी, कर्मचारीहरूसँग अन्तरक्रिया गरी अनुसन्धानमा सहयोग गर्न अनुरोध गरे।
दोषी पत्ता नलगाई आफू खोचलेक बजार नछोड्ने भनी सबैसँग प्रतिवद्धता गरे। उच्च अधिकारीको त्यो बचनपछि समाज पूरै शान्त भयो। प्रहरीलाई समाजबाट सूचना प्राप्तिमा सहयोग पुग्न थाल्यो।
यसपछि उनले अनुसन्धानको दायरा फराकिलो पारे। निर्मला प्रकरणमा भएका गल्ती उनले पूरै ‘निषेध’ गरिदिए।
निर्मला प्रकरणमा प्रहरीले शंकास्पद भन्दै मानिस समात्ने काम गर्थ्यो, सार्वजनिक गर्थ्यो र केही दिनपछि प्रमाण पुगेन भन्दै छोड्थ्यो। त्यसले प्रहरीको अनुसन्धान र कामको विश्वसनीयतामा सन्देह उत्पन्न भएको थियो।
सुवेदीले भागरथीसँग नजिक रहेका सोही स्कुलका विद्यार्थीसँग कुराकानी सुरू गरे। उनको अनुसन्धान टोलीले सबैभन्दा नजिकका व्यक्ति फेला पार्यो- जसलाई अन्तिम व्यक्तिको रूपमै किटान गरेर प्रहरीले मंगलबार साँझ पक्राउ गर्यो।
त्यसदिन स्कुल बिदा भएपछि भागरथी खोचलेक बजार पुगेकी थिइन्। उनका साथीहरू त्यहाँबाट छुट्टिएका थिए।
उनी एक्लै घरतर्फ हिँडेकी थिइन्। उनको पछाडि लाग्ने एउटै व्यक्ति थिए पक्राउ परेका आरोपी।
भागरथी हिँडेको र आरोपी खोचलेक बजारमा देखिएको समय पनि मिलेको थियो।
‘र, हामीले उनलाई सूक्ष्म निगरानीमा राख्यौं,’ सुवेदी भन्छन्।
ती किशोर जुलुसमा देखिन्थे। घटनाको पृष्ठभूमिमा शंकित मानिस भूमिका फरक किसिमको देखियो। उनैलाई प्रहरीले शंकाको घेरामा राखिराख्यो।
त्यो दिनको घटना र त्यहाँका धेरै मानिससँग प्रहरीले व्यापक सोधीखोजी थाल्यो।
‘सय जनासँग त कागज गरियो, अरू डेढ सय जनासँग सोधपुछमात्रै गरियो,’ सुवेदीले भने, ‘भागरथी र ती युवालाई देख्नेहरू बढी भए, यी दुईको बीचमा अर्को व्यक्ति कोही पनि फेला परेन।’
यसपछि प्रहरीको शंका ती किशोरतिरै एकीकृत भयो।
घरमै पुगेर प्रहरीले उनीसँग सोधपुछ गर्न थाल्यो। स्कुल गएको, फर्किएको, भागरथीको विषयमा कुरा गर्दा उनका कुरा र समय बाझिन थाले।
बारम्बार युवाले फरक-फरक कुरा गर्न थालेपछि प्रहरीले भागरथी र ती युवाको पारिवारिक अवस्था बुझ्न थाल्यो। ती कुराहरूले भागरथी र ती किशोरको परिवारबीच भएको ‘कलह’ पनि देखा पर्न थाल्यो।
अनुसन्धानमा बाधा पर्ने भन्दै त्यो ‘कलह’ के थियो भन्ने प्रहरीले अहिले सार्वजनिक गरेको छैन।
‘पहिलो त छात्रासँग सबैभन्दा नजिक रहेको। उनी सँगसँगै फर्केको देखिएको र युवाले बताएको समय नमिलेको र व्यवहार शंकाको घेरामा परेका थिए,’ सुवेदीले भने, ‘त्यसैबाट हामीले भागरथी र किशोरबाहेक बीचमा कोही थिएन भन्ने निचोड निकाल्यौं।’
सुवेदीका अनुसार भागरथी दिउँसो २ बजे खोचलेक बजारमा देखिएकी थिइन्।
किशोर अन्तिम कक्षा नपढी अर्थात् १:४५ निस्केका थिए। अन्य साथीहरूसँग खोचलेक बजारमा उनको भेट भएको थियो।
ती साथीहरूलाई खोचलेकमै छोडेर उनी भागरथीभन्दा अगाडि जंगलैजंगल आएर बाटो ढुकेर बसे।
यति ‘कन्फर्म’ भएपछि प्रहरीले किशोरलाई मंगलबार साँझ घरैबाट पक्राउ गरेर खोचलेक चौकीमा ल्यायो। सुवेदीले यथार्थ कुरा गर्न भनेपछि किशोरले आफूले हत्या कसरी गरें भन्ने सबै बताए।
बयानअनुसार उनले भागरथी आइपुगेपछि सडकबाट धकेले। प्रहरी बयानमा उनले त्यसपछि दुबै हातले घाँटी थिचेर हत्या गरेको स्वीकारेका छन्।
बयानमा उनले हत्यापछि पाइन्टसमेत खोलेर करणी गर्न खोजेको तर नगरेको बताएका छन्। पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कार भएको देखिएको छ।
यो १४ दिनमा प्रहरीले केही मानिसहरूलाई उच्च निगरानीमा राख्यो।
‘बैतडी त छँदैथियो, काठमाडौंदेखि डडेल्धुरासम्म मानिसहरूको निगरानी गरियो, कोही मानिस भाग्न नपाओस् भनेर,’ प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले भने।
खोचलेक र आपसापको क्षेत्र प्रहरीले भरियो। कोही कतै भाग्ने स्थिति बन्न सकेन।
शंकाको घेरामा परेका किशोर त ढुक्क थिए, स्कुल गइरहेका थिए। उनी आफैंलाई पनि प्रहरीले पक्राउ गर्ला भन्ने नलागेको जस्तो थियो। तर, प्रहरी देख्दा उनी तर्किन्थे।
‘यो घटनाको सफलता नै समाजले भरपुर सूचना दिएर प्रहरीलाई सहयोग गर्यो, हामीले पनि अनुसन्धानको पद्दतिलाई योजनावद्ध रूपमा परिचालन गर्यौं,’ सुवेदीले भने, ‘यस्ता घटनाबाट सधैं प्रहरीलाई अपजस नलागोस्, सरकारप्रति नकारात्मक भावना पैदा नहोस् र अपराधीको मनोबल नबढोस् भन्ने जिम्मेवारीबोधले पनि म घटनाको अनुसन्धान नसकिउञ्जेलसम्म खोचलेक छोड्न सकिनँ।’
आफू नै गएपछि प्रहरी कर्मचारी र अनुसन्धानमा खटिएको टोलीको मनोबल उच्च भएको सुवेदी बताउँछन्।
‘उच्च मनोबलले काम गर्न पाए त नतिजा निस्किन समय लाग्दैन,’ उनले भने, ‘तैपनि हामीलाई व्यापक जनदबाब परेको थियो।’
यसरी आफैं अनुसन्धानमा खटेको ९ दिनमा नतिजा हात लागेपछि भोलिपल्ट डिआइजी सुवेदीलाई नागरिकहरूले अभिनन्दन गरे।
नागरिकस्तरबाट डिआइजी सुवेदी र उनको टोलीलाई माला लगाएर खोचलेक बजारबाट बिदा गरिएको छ। यो अभिनन्दनपछि डिआइजी सुवेदीले भने- अब निर्मला हत्याको दोषी पनि चाँडै पत्ता लाग्छन्।
सम्बन्धित समाचार: