राजधानी बाहिरको ठूलो भरतपुर अस्पतालमा छोटो समयमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन भइरहँदा काम कारवाही प्रभावित भएका छन्। गत भदौयता अस्पतालमा तीन मेसु परिवर्तन भइसकेका छन्।
अस्पतालबाट २०७७ भदौ २८ गते डा. श्रीराम तिवारी सरुवा भएको थियो। त्यसपछि डा. राजन पाण्डे अस्पताल प्रमुख भएर आए। उनले मङ्सिर ८ गते राजीनामा दिए। त्यसको भोलिपल्टै डा. जगन्नाथ तिवारीलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइयो। तर तीन महिना नपुग्दै डा. वासुदेव पाण्डेलाई मेसुको जिम्मेवारी दिइएको छ।
रासससँग कुरा गर्दै अस्पतालका प्रवक्ता डा. युवानिधि बसौलाले नयाँ मेसुले आज बुधबारदेखि कार्यभार सम्हालेको जनाए। आगामी वैशाख ५ गते उमेर हदका कारण उनको अनिवार्य अवकाश हुनेछ। त्यसपश्चात् फेरि नयाँ मेसु आउने निश्चित छ। यसरी हेर्दा अस्पतालको नेतृत्वमा एक वर्षमै ६ पटकस्म परिवर्तन हुने निश्चितछ।
डा. तिवारी एक वर्ष तीन महिना काम गरेर सरुवा भएका थिए। त्यसअघि पनि अस्पतालमा डा. विश्वबन्धु बगालेले ४५ दिन, डा. रवीन खड्काले चार महिना र डा. कृष्ण पौडेलले आठ महिनामात्र मेसुको जिम्मेवारी बहन गरेका थिए।
पौडेलभन्दा अगाडि डा. रुद्र मरासिनीले भने २८ महिना लामो नेतृत्व सम्हालेका थिए। तत्कालीन समयमा अस्पताल विकास समितिको अध्यक्ष एवं हाल बागमती प्रदेशसभा सदस्य विजय सुवेदी स्थिर नेतृत्व नहुँदा संस्थाले प्रभावकारीरुपमा काम गर्न नसक्ने बताए।
उनले भने, 'कम्तीमा दुई वर्ष काम गर्न नपाए योजना बनाएर कार्यान्वयन गर्न सकिन्न।' यसले गर्दा अस्पतालले गर्नुपर्ने जति विकास गर्न नसक्ने उनको भनाइ छ। आफूले सम्बन्धित मन्त्रालयमा यसबारे सुझाव दिएको सुवेदीले जानकारी दिए।
दिगोरुपमा काम गर्ने वातावरण नहुँदा जिम्मेवारी पाएकाको आत्मबल उच्च बनाउन नसकिने उनको बुझाइ छ। अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी छोटो समयमा मेसु परिवर्तन हुँदा समितिले गरेका निर्णय कार्यान्वयन हुन नसकेको बताए। उनले भने, 'हामी निर्णय गर्छौं तर कार्यान्वयन हुन सकेको छैन।' नयाँ आउने प्रमुखको बुझ्न नपाउँदै सरुवा हुँदा अस्पतालका धेरै काम रोकिएको उनको भनाइ छ।
अस्पतालभित्र भौतिक संरचना निर्माण र अन्य नियमित कामसमेत प्रमुख परिवर्तन हुँदा प्रभावित हुने गरेको छ। अधिकारीको भनाइमा चिकित्सक, कर्मचारीले गर्ने काम पनि प्रमुख परिवर्तन भइरहँदा प्रभावित हुने गर्दछ। यो अस्पताल दुई वर्षअघि सङ्घीय अस्पताल बनेको हो।
६ सय शय्या रहेको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले प्रत्यक्षरुपमा सेवा लिने गरेका छन्। सडक सञ्जालले जोडिएका कारण दुर्घटनाका घाइतेदेखि विभिन्न खालका रोगका बिरामीको उपचारको गन्तव्य यस अस्पतालमा हुने गरेको छ। प्रसूतिलगायतका सेवामा देशकै उत्कृष्ट मानिने यस अस्पतालले कोभिड उपचारको यस क्षेत्रको नेतृत्वसमेत गरेको थियो।