बैतडी दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्टको हत्यामा पक्राउ परेका आरोपीसँग प्रहरीले बयान लिन सुरू गरेको छ।
सोही वडाका ती किशोरलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको थियो।
ती किशोरसँग बिहीबार प्रहरीले झन्डै चार घन्टा बयान लिएको थियो।
प्रहरीका अनुसार बयानमा ती किशोरले हत्या गर्नुअघि लछारपछार हुँदा भागरथीको घडी चुँडिएको र आफूले त्यो घडी फ्याँकेको बताए।
सो बयानलगत्तै घटनास्थल लवलेक जंगलको बाटोमुनि प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाइएको थियो।
टोलीले भागरथीको शव भेटिएको तीस मिटर टाढा घडी फेला पारेको सुदूरपश्चिम प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताए।
‘बयानका क्रममा उनले घडी चुँडिएको र फ्याँकेको बताएपछि जिल्ला प्रहरी कार्यालय वैतडीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाइएको थियो, टोलीले घटनास्थलबाट तीस मिटर टाढा घडी फेला पारेको छ,’ सिंहले सेतोपाटीसँग भने।
सिंहका अनुसार सो घडी फेला परेपछि बयानमा संलग्न राखिएर थप अनुसन्धान थालिएको छ। सो घडीलाई प्रमाणका रुपमा राखिने त्यसलाई कानुनी रुपमा प्रयोगशालाको रिपोर्ट लिन पठाइने सिंहले बताए।
बयानबाट प्राप्त भएको यो प्रमाणले भागरथी हत्यामा किशोरको संलग्नतालाई थप परिभाषित गर्दै लगेको सिंहले बताए।
सिंहका अनुसार किशोर नाबालक (१८ वर्ष नपुगेको) तर्फको प्रमाण संकलन पनि जारी छ।
‘जघन्य अपराधमा नाबालक संलग्न हुन सक्दैनन् भनी केही पक्षबाट शंका व्यक्त भए हुने गरेका छन्, तर हाम्रो अनुसन्धानले नाबालक किशोरको संलग्नता पुष्टि गर्दै लगेको छ, यही प्रदेशमा भएका अन्य घटनामा पनि नाबालक छन्, त्यसकारण नाबालकले घटना गराउन सक्दैनन् भन्ने भनाइ तर्कयुक्त देखिएको छैन।’
सनातन धर्म माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव नाथका अनुसार भागरथीको बलात्कार हत्यामा संलग्न पक्राउ परेका किशोर माघ २१ गते स्कुलबाट शिक्षकलाई नसोधी भागेर घर गएका थिए।
उनी सो स्कुलमा गत पुसमा भर्ना भएका थिए। उनी स्कुलमा नियमित उपस्थित भएको २० दिनजति पुगेको थियो।
‘कक्षा ११ मा १ सय ३१ विद्यार्थी छन्। धेरै विद्यार्थी संख्या भएकोले उनी कस्ता विद्यार्थी थिए भन्नेबारे हामीलाई थाहा भएन, छोटो समय भएकोले उनको बारेमा नजिकबाट बुझ्न पाएनौं,’ नाथले भने।
नाथका अनुसार कक्षा ११ को रजिष्ट्रेसन फारम भर्न बाँकी नै थियो।
पक्राउ परेका किशोरले कक्षा १ देखि १० सम्म अध्ययन गरेको भूमिराज माध्यमिक विद्यालयका प्राधानाध्यापक प्रजापति भट्टका अनुसार युवकको जन्म मिति २०६१ फागुन १० गते छ।
‘स्कुल भर्ना हुँदा र एसइइमा भएको विवरणका आधारमा उनको उमेर १६ वर्ष रहेको छ,’ उनले भने,
किशोरको उमेर १८ वर्ष नपुगेको कारण उनको नाम सार्वजनिक गरिएको छैन। प्रहरीले स्कुल र स्थानीय निकायबाट किशोरको आधिकारिक जन्ममिति पत्ता लगाउन खोजिरहेको एसएसपी सिंहले बताए।
‘जन्ममिति पत्ता लगाउन स्कुल र स्थानीय निकायलाई पत्र पठाइएको छ,’ सिंहले भने, ‘ती निकायबाट हामीलाई जानकारी आइपुगेको छैन।’
यो बीचमा उनको कसैसँग झगडा भएको अथवा उनले अपराध गरेको भन्ने केही सुनिएको थिएन।
उनको पढाइ मध्यम खालको थियो । भागरथी र आरोपी किशोरको घर एउटै ठाउँ भएकोले उनी कहिलेकाहीँ सँगै स्कुल आउने-जाने भने गर्थे।
स्थानीयको भनाइ र किशोरको बयानबाट भागरथीको हत्या पारिवारिक ‘रिसिइबी’का कारण भएको प्रारम्भिक रुपमा खुलेको प्रहरीले बताएको छ।
‘भागरथीका बुवाले आफ्नी फूपूलाई विगतमा जबरजस्ती करणी गरेको र त्यही रिसिइबीका कारण हत्या गरेको खुलेको छ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘तर, यो कहिलेको घटना थियो भन्ने यकिन भइसकेको छैन।’
जबरजस्ती करणीको क्रममा भागरथीका बुवा केही समय जेल परेकोसम्म बुझिएको प्रहरीले जनाएको छ। सो पाटोबाट पनि अनुसन्धानले गति लिन सुरू गरेको प्रहरीले जनाएको छ।
‘आफ्नै विद्यालयमा अध्ययनरत विद्यार्थी घटनामा संलग्न रहेको खबरले विद्यालय लज्जित हुनुपरेको छ,’ प्रधानाध्यापक नाथले भने।
किशोर अहिले हिरासतमै रहेको एसएसपी सिंहले बताए। नाबालक भएको पुष्टि भएको खण्डमा भोलि अदालतले गर्ने निर्णयका आधारमा किशोरलाई सुधारगृहमा राखिन सक्ने सिंहले बताए।
‘नाबालक भएको पुष्टि हुन आएमा हामी हिरासतमा पनि बयस्क थुनुवासँगै राख्दैनौं, छुट्टै हिरासतमा राखिन्छ,’ सिंहले भने।
सम्बन्धित समाचार: