प्रहरीको कुटपिटबाट किशोरको मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा स्थानीयले तोडफोड गरेका छन्।
गुठीचौर गाउँपालिका-३ गर्ज्याङकोटका १४ वर्षीय पदम बुढाको बुधबार मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक युवन चौधरीले बताए। पदमको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार क्रममा मृत्यु भएको थियो।
‘एक्कासि बिरामी भएपछि किशोरलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो। बुधबार मृत्यु भयो,’ उनले भने।
पदमको मृत्युपछि बिहीबार स्थानीय तथा पीडित पक्षले ढुंगामुढा तथा तोडफोड गरेको उनले बताए। यस क्रममा १० जना प्रहरी सामान्य घाइते भएको पनि उनले जानकारी दिए।
प्रहरी निरीक्षक चौधरीका अनुसार पदम बुढा गत माघ १८ गते जिल्ला प्रहरी कार्यालय पुगेका थिए। उनीसहित केही १५-१६ वर्षीय किशोर फोन हराएको भन्दै आएका थिए। उनीहरू करिब मध्याह्न १२ बजे कार्यालय पुगेर दिउँसो ३ बजे फर्किएको चौधरीले बताए।
‘प्रारम्भिक जानकारी अनुसार ती किशोरसहित छ-सात जना व्यक्ति माघ १७ गते एउटा बिहेमा गएका थिए। उनीहरू त्यहीँ बसे। एक जना राति साढे ८ बजे म यहाँ सुत्दिनँ भनेर हिँडे,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘बिहान उनीहरू उठेपछि भने एक जनाको फोन हराएको रहेछ। त्यसपछि उनीहरूले एक-अर्कालाई दोष लगाउन थालेका रहेछन्।’
पछि फोन हराएका व्यक्तिले अरू दुई-तीन जनाको फोन लिएर प्रहरी कार्यालय जाऔं, त्यही छलफल गरौंला भनी पुगेका थिए।
‘त्यस दिन हाम्रो मुद्दा शाखा अरू अनुसन्धानमा व्यस्त थियो। उनीहरूले कन्ट्रोल रूममा जानकारी गराए। केही सोधपुछ गरी कसले लगेको भन्ने पत्ता नलागेपछि फिर्ता पठाइयो,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘घर परिवारले भने प्रहरी कार्यालय गएका थिए। त्यहीँ प्रहरीले कुटेकाले मृत्यु भयो भन्ने आरोप लगाएका छन्।’
सोधपुछ क्रममा कुटपिट भए/नभएको भन्ने प्रश्नमा उनले यस विषयमा अनुसन्धान भइरहेको बताए।
‘कुटपिट भएको थियो वा थिएन भन्ने हामीले पनि अनुसन्धान नगरी भन्न सकिन्न,’ उनले भने, ‘मृत्यु कसरी भयो भन्ने पोष्टमार्टमपछि थाहा होला। अस्पतालले चाहिँ फोक्सोमा रगत जमेर भनेको छ।’
यस विषयमा बिहीबार जिल्ला प्रशासन कार्यालय, जुम्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक तथा पीडित परिवारका पक्षहरू बसेर छलफल भएको छ।
सो छलफलमा घटनाबारे सत्यतथ्य बुझ्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, पीडित परिवारलाई आर्थिक रूपमा सहयोग गर्न प्रदेश सरकारसँग अनुरोध गर्ने र अनुसन्धान गरी दोषीलाई कारबाही गर्नेजस्ता निर्णय गरेको चौधरीले बताए।
मृतकका दाइ शिव बुढाले भने प्रहरीकै कुटपिटबाट मृत्यु भएको दाबी गरेका छन्।
‘त्यो दिन प्रहरीले कुटपिट गरेको थियो। कुटपिटपछि बिरामी भएर उनलाई उपचारका लागि अस्पताल लगिएको थियो,’ उनले सेतोपाटीसँग भने, ‘अस्ति फेरि अस्पताल भर्ना गरियो। हिजो आइसियूमा मृत्यु भयो।’
शिवले थप भने, 'भर्खरै वार्ता सकिएको छ। मोबाइलको चोरी भएको विषय थियो। उसले चोरी गर्यो भने उजुरी नदिई आफ्नै चिनजानका प्रहरीलाई खबर गरेछन्। कोठामा राखेर खै कति हानेछन्। हानेको दिनै बिरामी भयो। त्यही पीडाले हिजो बित्यो।'
प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापाले यो घटनापछि एक जना प्रहरी जवानलाई निलम्बन गरेको बताए।
‘प्रहरीले कुटपिट गरेको भन्ने उहाँहरूको आरोप छ। त्यसको अनुसन्धानका लागि हामीले गृह मन्त्रालयमा अनुरोध गरेका छौं,’ सिडिओ थापाले भने, ‘सोधपुछ क्रममा प्रहरीले कुटेको भन्ने छ। जघन्य रूपमै कुटेको चाहिँ देखिन्न। घाउ-डाम केही पनि नभएको तर त्यस दिन घर गएपछि बिरामी भएर अस्पताल लगिएको रहेछ।’
निलम्बनमा पर्ने प्रहरी जवान कृष्ण अधिकारी हुन्।
'राहतको कुरा पनि हामीले अनुरोध गरिसकेका छौं। एक जना प्रहरी जवानलाई निलम्बन गरेका छौं। दोषी देखिए कारबाही गर्छौं,' सिडिओ थापाले भने।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निमित्त निर्देशक अनुप समालले पदम माघ ३० गते खुट्टा दुख्यो भनेर इमर्जेन्सीमा आएको बताए। समालका अनुसार एक्सरे गर्दा पदमको खुट्टा सुन्निएको थियो।
‘हामीले औषधि दिएर डिस्चार्ज गर्यौं,’ उनले भने, ‘तर, घर गएपछि उहाँलाई सास फेर्न गाह्रो भएछ। अनि फागुन ४ गते ओपिडीमा ल्याइयो। त्यहाँ हामीले सबैलाई देखायौं र भर्ना गर्यौं। भर्ना गरेपछि झन्-झन् अवस्था नाजुक बन्दै गयो। आइसियू हुँदै भेन्टिलेटरमा राखेर उपचार गर्यौं। तर, हिजो मृत्यु भयो।’
समालले बिरामीको लक्षणका आधारमा जाँच गर्दा फोक्सोमा बोसो वा रगतको टुक्रा उछिट्टिएर रगतको माध्ययमबाट फोक्सोको नली 'ब्लक' गरेको देखिएको बताए।