'मेरो जिब्रोले 'ट' र 'त' को फरक जान्दैनथ्यो
ड र द, ध र ढ, ठ र थ बीचको दुरी मान्दैनथ्यो
त्यसैले 'तिमी' आकाशमा टिमटिम गर्ने 'टिमी' बन्दिन्थ्यौ
'ढोका' सधैं एक 'धोका' थियो
'दराज' मा सधैं 'डर' को राज थियो...'
कवि उज्ज्वला महर्जनको 'जिब्रो' शीर्षककाे यो कविताले नेवार समुदायको साझा समस्या प्रतिविम्बित गर्छ।
घरमा नेवार भाषा बोलेर हुर्केको काठमाडौंको एउटा सिंगो पुस्ता 'ट' र 'त' को विभेद नजानेर स्कुलका कक्षाकोठादेखि अफिसका साथीभाइमाझ हाँसोको पात्र बन्यो। उसलाई लाग्यो, यो विभेदको कारण उसले बोल्ने मातृभाषा हो। त्यही भएर आफूले भोगेको विभेद नयाँ पुस्तामा नसरोस् भनेर उनीहरू मातृभाषा हस्तान्तरण गर्न धुकचुक मान्छन्। अंग्रेजी मज्जाले बोल्न जान्ने आजको पुस्ता आफ्नै मातृभाषा बोल्न अनकनाउँछ।
आखिर किन नेपालीमा बोलिने 'त' नेवारहरूको निम्ति 'ट' र तिमी, 'टिमी' भएको होला?
हामीले यसबारे नेपाल लिपि गुठीका प्रशिक्षक पवित्र कसाःसँग कुराकानी गरेका छौं, जो नेपाल लिपि र भाषा सिकाउँछन्।
नेपाली भाषा अर्थात् खस भाषा भारूपेली आर्य भाषाअन्तर्गत पर्छ भने नेपाल भाषा चाइनो–बर्मिज। जति बेला भारतमा देवनागरी लिपि विकास भयो, त्यही समयतिर नेपालमा नेपाल भाषाको भुजिमोल लिपि विकास हुन थाल्यो। यहाँको लिपि र भारतको लिपिमा कतै-कतै अक्षर मिलेको देखिन्छ। तर, बाह्रखरी लेख्दा जति बेला ऐकार, औकार, इकार अनि अक्षरहरू जोडिएर संयुक्त अक्षर लेखिन्छ, तिनको भिन्नता र मैलिकता छुट्टिन्छ।
भाषाको यात्रा देशको राजनीतिक उथलपुथलसँगै परिवर्तन भएका छन्। किराँत, लिच्छवि, मल्ल, शाह, राणाकालहरूमा शासक परिवर्तन हुँदै जाँदा राज्यसत्ताले बोल्ने भाषाको प्रभाव जनस्तरमा पनि बढ्दै गयो। त्यही क्रममा नेपाल भाषाभित्र अन्य संस्कृतिहरू मिसिन पुगे।
'नेपाल भाषामा संस्कृतका शब्द पनि धेरै छन्,' पवित्रले भने, 'संस्कृतको शब्द प्रयोग भए पनि त्यसलाई नेवाकरण गरिएको छ। संस्कृतमा एउटा किसिमले भनिन्छ, नेपाल भाषामा त्यही शब्दलाई अर्को किसिमले भन्दा नेवा शब्दजस्तै बन्न पुगेको छ।'
उनका अनुसार, नेपाल भाषामा ३० वटा अक्षर छन्। संस्कृतका शब्द पनि प्रयोगमा आएकाले यसमा संस्कृतका वर्णमाला पनि छन्। नेपाल भाषामा केही यस्ता अक्षर छन्, जुन नेपालीमा हेर्दा संयुक्तजस्ता लाग्छन् तर एकै हुन्। जस्तै– ङ्ह, न्ह, म्ह, ल्ह, ह्र।
नेपाल भाषामा 'ङ' पछि फेरि ङ्ह, 'न' पछि न्ह, 'म' पछि म्ह, 'ल' पछि ल्ह अनि 'ह' पछि ह्र शब्द आउँछ। जसरी यी अक्षरको नेपाल भाषामा विशेष स्थान छ, केही अक्षर भने नेपाल भाषामा प्रयोग हुँदैनन्।
उदाहरणका लागि, 'टपरी' वाला ट, 'ठूलो' वाला ठ लगायत अक्षर नेपाल भाषामा आवश्यक छैन। नेपाल भाषाको आफ्नै मौलिक शब्दहरूमा तिनको प्रयोग हुँदैन। श, ष लगायत अक्षर पनि नेपाल भाषामा प्रयोग हुन्न।
पवित्रले थप उदाहरण दिँदै भने, 'हामी 'शान्ति' लेख्छौं नि। त्यसलाई बोल्दा 'श' लाई अलिकति जिब्रो बटारेर बोल्नुपर्ने हो, तर त्यसो गर्दैनौं। भन्दा त 'सान्ति' नै भन्छौं। प्रयोग नै नहुने भएकाले नेपाल भाषामा त्यो अक्षर नै चाहिन्न।'
चाहिन्न भन्दैमा ती अक्षर नेपाल भाषामा छैनन् त?
'हामीले शान्ति लेख्दा मोटो श नलेख्दा पनि हुन्छ। संस्कृतबाट आएको भएर उसको भाषालाई पनि सम्मान गर्ने हिसाबले उसैको स्वरमा लेखौं न भनेर लेख्छौं,' उनले भने।
'त' र 'ट' को भिन्नता नेपाल भाषामा देखिनुलाई पनि पवित्र भाषिक विविधता मान्छन्। जसरी अंग्रेजहरूले बोल्ने अंग्रेजी, फ्रान्सेलीले बोल्ने फ्रेन्च भाषा अन्य देशकाले बोल्दा फरक सुनिन्छ, नेपाल भाषा पनि फरक हुनुलाई उनी मौलिकता मान्छन्।
'हामीकहाँ दन्ते 'त' र दाँत नछुवाई बोल्ने 'ट' छ। दाँतमा छुवाएर बोल्नेलाई खस भाषामा दातैमा छुवाएर बोलिन्छ,' त र ट को फरकबारे बताउँदै उनले भने, 'नेपाल भाषामा भने लेख्दा दाँतमै छुवाउने गरी लेख्छौं। त्यसलाई बोल्दा भने दाँतमा नभई हाम्रो जिब्रोले अलिकति माथि छोएको हुन्छ।'
'हामीले बोल्ने हिति (ढुंगेधारा) नै हो तर सुन्नेले हिटी सुन्छन् अनि हामीलाई दोष दिन्छन्,' उनले भने।
आफूले बोल्दा ट–ट आउँछ भनेर अरूले जिस्काउँदैमा आफ्नो भाषा छाड्न नहुने उनी बताउँछन्, 'कसैले होच्याउँछ भन्दैमा आफ्नो मातृभाषा छाड्नुपर्छ र? त्यो त हाम्रो पहिचान हो। ट-ट आयो भने त त्यसले यो मान्छे नेवार हो भनेर चिन्न सजिलो हुन्छ नि। हामीले त्यसैमा आफूलाई बलियो बनाएर प्रस्तुत गर्न सक्नुपर्छ।'
अभिभावकहरूले आफ्ना सन्तानलाई मातृभाषा नसिकाउनुको अर्को कारण, उनीहरूले मातृभाषा सिक्दा अर्को भाषा नसिक्ला वा बोल्दा-लेख्दा अप्ठ्यारो होला कि भन्ने डर हो।
'आमाबुवालाई कस्तो लाग्यो भने घरमा नेपाल भाषा सिक्यो भने स्कुलमा पढ्न नसक्ला। जबकि तिनै आमाबुवाले नेपाल भाषा बोलेर स्कुलमा फरक भाषा पढ्न गएका थिए,' पवित्रले भने, 'म आज जे छु र मैले जति पनि गरेँ, नेपाल भाषा बोलेरै गरेँ। मलाई अरू भाषा बोल्न कुनै अप्ठ्यारो परेन। स्कुलमा खस भाषा सिकेँ, अलिअलि अंग्रेजी र टिभी हेरेर हिन्दी भाषा पनि सिकेँ। त्यसैले, एउटा भाषा सिक्दा अर्को सिक्न गाह्रो हुने डर फाल्नुपर्छ।'
राज्यको नीतिले पनि मातृभाषा उपेक्षामा परेको उनको भनाइ छ।
काठमाडौं उपत्यकामा बोलिने नेपाल भाषाको उदाहरण दिँदै उनले भने, 'आजभन्दा दुई सय वर्षअघिसम्म हामी नेपाल भाषामै बोल्थ्यौं, नेपाल भाषामै लेख्थ्यौं। जब नेपाल मण्डललाई जितेर शाह शासनको सुरूआत भयो, उनीहरूले यहाँको भाषामा पढ्न, लेख्न र विभिन्न भाषिक गतिविधिहरू गर्न धेरै हदसम्म बन्देज गरे। स्कुल गएपछि नेपाल भाषा पढ्न नपाउने, लेख्न नपाउने भयो। त्यसपछि हाम्रो भाषा र लिपि लोप हुन थाल्यो।'
अन्य जातजातिका मातृभाषा लोप हुँदै जानुमा पनि यही कुरा लागू हुने उनको भनाइ छ।
संसारमा ६-७ हजार भाषा छन्। ती सबैका अक्षर छैनन्। तर, नेपाल भाषाको अक्षरसहित रञ्जना, भुजिमोल लगायत लिपि हुनुलाई उनी गर्वको विषय मान्छन्।
'नेपाल संयुक्त राष्ट्रसंघमा दर्ता हुँदा यहाँको मौलिक लिपि भनेर हामीले रञ्जना लिपि लिएर गएका थियौं। तर, राज्य स्तरबाट त्यसलाई संरक्षण गर्ने काम भएन। राज्यले उपेक्षा गरेपछि अब हामी आफैंले सिकाउनुपर्छ भनेर लागिरहेका छौं,' उनले भने, 'त्यस्तो महत्वपूर्ण भाषा नचिन्नु–नजान्नु भनेको दुःखको कुरा हो।'
इतिहासमा जति बेला काठमाडौं उपत्यकालाई 'नेपाल' भन्न थलियो, यहाँ बस्ने सबैलाई नेपालै भनिन्थ्यो। त्यही अपभ्रंश हुँदै नेवाल अनि त्यसैबाट नेवाः भएको उनको भनाइ छ। त्यति बेलै बनेको यो भाषा बोल्न र लिपि सिक्न नपाउनुलाई पवित्र दुर्भाग्य मान्छन्।
अहिले फेरि काठमाडौं महानगरले स्कुलमा नेपाल भाषा अनिवार्य पढाउनुपर्छ भन्ने अभियान ल्याएको छ। त्यसले घरमा फेरि नेपाल भाषा बोल्न लगाउनुपर्ने बाध्यता भएको छ।
'मान्छेहरू सम्पन्न देखिन धेरै किसिमले मिहिनेत गर्छन्। तर, आफ्नो पहिचान गुमाउँदै गएका छन्,' पवित्र भन्छन्, 'मेरो त आफ्नै भाषा, लिपि, संस्कृति पनि रहेछ भनेर जब चाल पाउँछन् अनि बल्ल सिक्ने र खोज्ने रहर जाग्छ।'
उनले अगाडि भने, 'पहिले मातृभाषा सिक्न घर नै स्कुल थियो। त्यहाँ नसिकेपछि नेपाल लिपिजस्तो गुठीमा जानुपर्यो। फरक यत्ति हो, घरमा सित्तैमा सिक्न पाइने कुरालाई पैसा तिर्नुपर्यो।'
'यसको निम्ति सबभन्दा पहिला, ट र त को भेदमा अलमलिएर बस्नुभएन,' उनले भने।