महानगरीय ट्राफिक महाशाखामा काम गरेका प्रहरी अधिकारीहरू भन्छन्- हिजोआज ट्राफिक प्रहरीले द्वन्द्वकालीन शैलीकै 'चेकिङ प्रणाली'लाई निरन्तरता दिइरहेको छ।
'चेकिङ'का लागि भनेर प्रहरीले सडक ढाकेर 'ब्यारिकेड' अर्थात् 'अवरोधक' राखिरहेको छ। चाहे रिङरोडमा होस् या अन्य सडकहरू। र, ती अवरोधकहरू सवारी चलाउने व्यक्तिका लागि निकै घातक बनिरहेका छन्।
'जनताको जीउधनको सुरक्षालाई नजरअन्दाज गरेर राजमार्गमा द्वन्द्वकालकै शैलीमा अवरोधकहरू राखिएको मैले देखिरहेको छु,' ट्राफिक महाशाखामा २० महिना बसेका पूर्वडिआइजी केशव अधिकारी प्रश्न गर्छन्, 'धराप थापेर चेकजाँच गरिने द्वन्द्वकालीन शैली प्रहरीले किन अझै प्रयोग गरिरहेको छ?'
'अवरोधक' राखिने सन्दर्भ सोमबार ललितपुर जावलाखेलमा भएको घटनाबाट पनि देखिन्छ।
यसरी अवरोधक राखेर 'चेकिङ' गर्दा उदयपुर कटारीकी २३ वर्षीया युवती सिर्जना राईको मृत्यु भयो।
सोमबार दिउँसो साढे १ बजे बा२ख ३५७४ नम्बरको बस भैंसेपाटी जाँदैथियो। प्र३-०२-०१० प ५५८९ नम्बरको स्कुटर जावलाखेलबाट नख्खुस्थित बागडोल जाँदैथियो।
ट्राफिक प्रहरीको अवरोधकसहितको 'चेकिङ' जावलाखेल बसस्टप छेऊमै थियो।
प्रत्यक्षदर्शीका अनुसार सिर्जना ट्राफिकको 'चेकिङ' छलेर अगाडि बढ्न खोजिन्। तर, प्रहरीले उनलाई रोक्न खोज्यो। यसरी रोक्ने क्रममा उनको स्कुटर अनियन्त्रित भएर सडकमा पल्टियो।
राई सडकमा ढल्दा पछाडिबाट आइरहेको त्यही बसले उनलाई किच्यो।
यो घटनाको साक्षी ट्राफिक प्रहरी स्वयम् थियो।
उसले राईलाई तत्कालै उठाएर अल्का अस्पताल पुर्याएर भर्ना गर्दा उनको मृत्यु भइसकेको थियो।
राई परिवार नख्खु बागडोलमा मासु पसल गर्छन्। ट्राफिक प्रहरीका अनुसार राई लगनखेल पुगेर नख्खु फर्किने क्रममा दुर्घटना भएको थियो।
ट्राफिक प्रहरी प्रभाग जावलाखेलका प्रहरी नायब निरीक्षक सुवास देउवा भन्छन्, 'चेकिङको क्रममा छलेर जाने क्रममा दुर्घटना भयो, यसबारे परिसरले अनुसन्धान गरिरहेको हुनाले अहिले म सँग भन्न केही पनि छैन।
युवतीको साथमा लाइसेन्स, ब्लुबुक थियो थिएन, देउवाले खुलाएनन्।
युवतीका बुवा विजयकुमार कुमार राई अहिले प्रहरीसँग घटनाबारे परामर्श गरिरहेका छन्।
विजयका अनुसार तीन छोरीमध्ये सिर्जना जेठी हुन्। उनका एक भाइ र एक बहिनी छन्।
विजयले बागडोलमा मासु पसल गरेको पन्ध्र वर्ष भइसक्यो। 'कटारीबाट आएपछि हामी सबै परिवार मासु पसल गरेर बस्थ्यौं,' राईले भने, 'यस्तो घटना भयो, म के गरुँ सर? कसको गल्ती देख्नुहुन्छ तपाईं?'
विजयका अनुसार सिर्जना कक्षा १२ पास गरेर बसेकी थिइन्। सोमबार उनी कतिबेला निस्किइन् भन्ने विजयलाई पनि थाहा भएन।
'यहीँ नजिक उनका साथी थिए, कहिलेकाहीँ उनको स्कुटर लिएर हिँड्ने गर्थी,' विजयले भने।
सोमबार पनि साथीको स्कुटर लिएर सिर्जना निस्किएकी थिइन्। विजयका अनुसार सिर्जना राम्रोसँग स्कुटर चलाउने गरे पनि उनले लाइसेन्स बनाएकी थिइनन्।
'म के बोलुँ, मेरो बोल्ने बाटो नै छैन,' विजयले घटनाबारे आफूलाई निकै अनभिज्ञता रहेको भन्दै सुनाए, 'मैले अब कसरी प्रक्रिया अगाडि बढाऊँ? मेरो छोरीसँग लाइसेन्स नै थिएन।'
सिर्जनाको शव अहिले अल्का अस्पतालमै छ। शव त्यहाँबाट पोष्टमार्टमका लागि कहाँ लैजाने भन्ने टुंगो भइसकेको छैन।
लाइसेन्सबिना सवारी चलाउनु ट्राफिक दृष्टिकोणले कानुनविपरीतको कार्य हो। तथापि, ट्राफिक प्रहरीले थोरै संयमता अपनाएको भए उनको ज्यान जोगिन पनि सक्थ्यो भन्ने पाटोबाट अधिकारीहरूले मत जाहेर गरेका छन्।
पूर्वडिआइजी अधिकारी सो मतलाई समर्थन गर्छन्।
'कतिपय मानिस चेकिङबाट भाग्न खोज्छन्, त्यसरी भाग्ने व्यक्तिलाई नियन्त्रणमा लिने अन्य धेरै उपायहरू छन्,' अधिकारी भन्छन्, 'प्रहरीले त दुर्घटनाका लागि प्रोत्साहित गर्ने हैन, सडकमा सर्वसाधारणको जीउधनको सुरक्षा कसरी गर्न सकिन्छ भनेर उपाय खोज्ने हो।'
अधिकारीसँग यसबारे अनुभव पनि छ। उनका अनुसार अहिले प्रहरीसँग यतिधेरै आधुनिक उपकरण छन् र अगाडि-पछाडि ट्राफिक बिट पनि छन्।
'एउटा चेकिङबाट भागे अर्को चेकिङमा वा अर्को पोष्टमा खबर गरेर नियन्त्रण लिन सकिन्छ,' अधिकारी भन्छन्।
यो काम तुरुन्तै गर्न नसकिए ट्राफिक प्रहरी आत्तिइहाल्नुपर्ने अवस्था पनि नरहेको अधिकारीले बताए।
'सिसिटिभी हेरेर अर्को दिन भागेको सवारीलाई ट्रयाक गर्न सकिन्छ,' २०७१/२०७२ सालमा महाशाखामा बसेर काम गरेका अधिकारी भन्छन्, ' तुरुन्तै नियन्त्रणमा नलिए सबै खत्तमै हुन्छ भन्ने हैन।'
अधिकारीका अनुसार प्रहरीले विभिन्न रणनीति अपनाएर राजमार्ग सुरक्षा र सवार गर्ने व्यक्तिहरूलाई निगरानी गर्न सक्छ।
उनका अनुसार चेकिङका दायरा र सिद्धान्त छन्। अहिले प्रविधिबाट पनि ट्राफिक प्रहरी परिस्कृत छ, छातीमै क्यामरा राखेर सुरक्षामा खटिइरहेको हुन्छ।
'अहिले ट्राफिक प्रहरीबाट अपनाइने रणनीतिले नै दुर्घटना भइरहेका छन्। फिल्डमा सिनियर प्रहरी अधिकृत नखटिँदा पनि कनिष्ठ प्रहरीबाट गल्ती भइरहेका छन्,' अधिकारी भन्छन्, 'त्यसका लागि ट्राफिक महाशाखाले चेकिङका वैज्ञानिक रणनीति बनाउने, गल्ती कमजोरी सुधार्न प्रशिक्षण गर्ने र चेकिङका व्यावहारिक अभ्यास गर्न जरुरी छ।'
तर, अधिकारीले धराप थापेर गरिने चेकिङको विरोध गरे।
'जनशक्ति कम छ भनेर सडकमा धराप राख्नु सर्वथा गलत हो, धराप थापेर गरिने चेकिङको पक्षमा म छैन,' अधिकारीले भने।
अधिकारीले ट्राफिक प्रहरीको चेकिङका पद्दतिबारे पनि केही जानकारी दिए।
'सीमित क्षेत्रलाई कभर गरेर चेकिङ गरौं, भागे अर्को बिटसँग समन्वय गरौं,' उनले भने, 'भागेको मान्छे पत्ता लगाउन धेरै समय कुर्न पनि पर्दैन।'
उनका अनुसार उपत्यकामा पहिले ३४ वटा पोष्ट थिए। अहिले करिब ४० वटाको हाराहारीमा छन्। त्यसबेला सात लाखको हाराहारीमा सवारीसाधन थिए,अहिले पन्ध्र लाखको हाराहारीमा सवारी गुड्छन्।
'सात लाख गुड्दा पनि उही पद्दति, पन्ध्र लाख सवारी गुड्दा पनि उही पद्दति अपनाउने भन्ने कुरा व्यावहारिक छैन, चेकिङको रणनीतिमा परिवर्तन आएन,' अधिकारीले भने।
अधिकारीले सडकको भौगर्भिक अवस्था र इन्जिनियरिङको हिसाबले पनि चेकिङ पोइन्टहरू खडा गरिनुपर्ने बताए।
सम्बन्धित समाचार:
जावलाखेलमा ट्राफिक चेकिङमा परेकी महिलाको बसको ठक्करबाट मृत्यु
जावलाखेल दुर्घटनामा ज्यान गुमाएकी महिलाको पहिचान खुल्यो