औषधी विज्ञान त के उनले औपचारिक स्कुले शिक्षा पनि लिएका छैनन्। त्यही पनि ६० वर्षयता बजारमा ‘डाक्टर’ नामले चिनिन्छन्।
उनी हुन्, स्याङ्जाको आँधीखोला गाउँपालिका-५ सेतीदोभान बजारका ९३ वर्षीय गंगाप्रसाद शर्मा।
सिङ्गो जिल्लामा एउटै डाक्टर नभएको त्यस बखत उनी गाउँलेको उपचार गर्थे।
पाँच दिन हिँडेर गोरखपुर पुग्थे, औषधी ल्याएर बिरामीलाई बाँड्थे। अहिले ९३ वर्षको उमेरमा पनि उनले यो ‘डाक्टरी’ कामलाई जारी राखेका छन्।
सेतीदोभान बजारको पुछारमा उनले २०१८ सालमै औषधी व्यापार गर्न मिल्ने गरी घर बनाए। पुरानो डिजाइनका घरको अगाडि ५ वटा ढोका छन्। अहिले भने ती ढोका खोल्न नमिल्ने गरी बन्द गरिएको छ। भित्र एउटा टिनको दराज छ र छेउमै केही औषधी छन्। औषधी ल्याइएका कार्टुन पनि त्यहाँ देखिन्छन्।
त्यो कोठाको भित्ता उनले पाएका प्रमाणपत्र र सम्मानपत्रले सजाइएका छन्। तीमध्ये सबैभन्दा माथि ध्वाँसो लागेको सामान्य फ्रेमभित्र एउटा पत्र छ। जसमा २०२७ साल मंसिर २१ गते तत्कालिन स्वास्थ्य मन्त्रालयले दिएको ‘औषधी पसल राख्ने अनुमतिपत्र’ लेखिएको छ।
सिंहदरबारस्थित वाणिज्य विभाग र स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको कार्यालयलाई बोधार्थ दिएको पत्रमा भनिएको छ, ‘तपाईंलाई स्याङ्जा जिल्लामा औषधी पसल खोली बिक्री अनुमतिलाई निवेदन दिनुभएकोमा मागबमोजिम मनाही भएका औषधी र मिक्सरचर बनाउने कामबाहेक एलोपेथिक पेटेन्ट औषधीमात्र बिक्री वितरण गर्न इजाजत दिइएको छ। स्थानीय चरणको हकमा नामकरणको हकमा नियमानुसार गर्न हुन पनि अनुरोध गरिन्छ।’
बजारमा औषधी उपचार गर्न थालेको १० वर्षपछि मात्र उनले औषधी पसल खोल्न सरकारबाट औपचारिक अनुमति पाएका थिए। अहिलेसम्म त्यही अनुमतिले काम चलाउँदै उनले उपचार सेवालाई निरन्तरता दिइरहेका छन्।
उनको टाँसीमा केही औषधी देखिए पनि उनले केही महिनायता डाक्टरी काम छोड्न थालेको बताए।
छोराहरू नै सरकारी जागिर खाएर पेन्सन निस्किसके। दमको बिरामी रहेका वयोवृद्ध शर्माले औषधी उपचार नछोडेकोमा छोराहरूलाई पीर थियो। गएको दशैंमा छोराछोरी घर आए। उनीहरूले नै अब खट्न सक्नुहुन्न भनेर औषधी पसल औपचारिक रूपमा बन्द गराइदिए।
रातबिरात अपर्झट छरछिमेकी औषधी उपचारका लागि गुहार्न आउन छाडेनन्। यो देखेर शर्माले फेरि सामान्य औषधी ल्याएर राख्न थाले, बिरामीलाई अनौपचारिक सेवालाई निरन्तरता दिइरहेकै छन्।
‘नजिकै अस्पताल छ, अझै पनि छरछिमेकी तपाईंकै हातले दिएको औषधीले च्वाट्टै निको हुन्छ भनेर आउँछन्,' उनले भने, ‘सामान्य औषधीले हुने भए दिन्छु, धेरैजसोलाई त अस्पताल जानु भनेरै पठाउँछु।’
नजिकै उनकै पहलमा बनेको आँधीखोला सामुदायिक अस्पताल छ।
वर्षौंअघि उनी 'डाक्टर' भएको कथा सुन्ने जो पनि अचम्म मान्छन्।
स्याङ्जाको चिलाउनेबासमा जन्मिएका थिए, शर्मा। उनी १२ वर्षको हुँदै उनका पिताको मृत्यु भयो। बुबाको मृत्युपछि घरमा उनको जिम्मेवारी बढ्यो, उनी आफैं पनि सानैदेखि घुमन्ते स्वभावका। यो स्वभावलाई उनको घरकै बाटो हुँदै नुन र रोजीरोटी खोज्न बुटवलदेखि भारतसम्म जानेहरूले सघाए। उनी १५ वर्ष पुग्दा-नपुग्दै भारततर्फ जानेहरूको लस्करमा मिसिए। घरमा भने कसैलाई थाहा थिएन।
उनका जेठा दाजु तुलसीप्रसाद तत्कालीन ब्रिटिस इन्डियामा भर्ती भइसकेका थिए। भारतमा बेलायतको शासन थियो।
‘त्यो दिन घरमा कोही पनि थिएनन्, आमा र भाइ घरबाहिर गएका थिए, म भने भन्दै नभनी चिनेजानेकै मान्छेसँग भारतर्फ लागें,’ उनले सम्झिए।
शर्माकी जेठी दिदी सानैमा विवाहे गरेर भारतको मणिपुर पुगेकी थिइन्। अरू धेरै नेपाली जस्तै उनका दिदी-भिनाजु मणिपुरमा दूधको व्यापार गर्थे, आर्मीको ब्यारेकमा लगेर दूध बेच्थे। त्यहाँ नागा जातिको गाउँ थियो। शर्मा त्यहींँ गएर दिदी भिनाजुसँग बस्न थाले। दूधको कारोबारलाई सघाउन थाले।
मणिपुर बस्न थालेको त्यस्तै ४ महिना भएको थियो । एक दिन ‘कुकुर काण्ड’ पर्यो।
शर्माले ठूलो कराइमा दूध तताउँदै थिए। त्यही कराइमा झुक्किएर कुकुर पर्यो। एक कराई दूध खेर जाने भयो। शर्माको हातमा त्यतिबेला तरकारी काट्ने खुकुरीजस्तो हतियार थियो। उनले कुकुरलाई त्यही हतियारले झटारो हाने। कुकुरको खुट्टा काट्यो।
‘त्यहाँ कुकुर मारेको र मान्छे मारेको बराबर रैछ सजाय,' शर्माले भने, ‘त्यसपछि त खैलाबैला चलाए, म कुकुर कटाइमा परें।’
कुकुर काटेको अभियोगमा सजाय दिन नागा जातिको बाहुल्य भएको त्यो ठाउँमा धेरै बैठकहरू बसे। त्यतिबेला कुकुर मार्नेलाई श्मशानमा लगेर थुन्ने चलन रहेछ।
कुकुर कटाइको सजाय ठूलो हुने भएपछि उनलाई त्यहाँबाट भगाउन पर्ने भयो। ठूलो भिनाजुले रात्रीबसको टिकट काटेर भगाइदिए।
भारतमा यसरी करिब ६ महिना बिताएपछि शर्मा नेपाल आए। घर आउँदा उनका दाजु तुलसीप्रसाद भर्ती भएको तीन वर्ष पूरा गरेर छुट्टीमा आएका थिए। गाउँबाट गल्लाहरूले लगेका तुलसी लाहुरे बनेर फर्किए भने नुन खोज्नेहरूसँग गएका गंगाप्रसाद शर्मा कुकुर काटेको सजायबाट जोगिँदै घर फर्किएका थिए।
दाजु बिहे गरेर फेरि पल्टन गए।
घर आएर गंगाप्रसाद भने २ वर्ष जति बसे। त्यसपछि उनलाई फेरि गाउँ बस्न मन लागेन। उनी बनारसतिर हानिए। उनीसँग पढ्न गएका भाञ्जा केदार शर्मा र अरू तीन जना थिए। गंगाप्रसाद भने घुम्नमात्र गएका।
गंगाप्रसाद बनारसबाट लखनउ अनि घुम्दैघुम्दै कानपुर हुँदै दिल्ली पुगे। खल्तीमा पैसा थिएन। दिनभरि घुमे, बेलुका सुत्ने ठाउँ भएन। उनी रेलमा गएर थपक्क बसे। साउनको महिना थियो। बिहान ५-६ बजेतिर उठ्दा उनी दिल्लीमा थिएनन्।
‘रेल त राती चलेछ, उठ्दा रित्तै थियो तर दिल्लीमा थिएन,' गंगाप्रसादले भने, ‘बेलुका नौ बजेतिर चलेको रेल बिहान देहरादुन पुगेछ।’
रेलबाट निस्केर उनले बाहिर बजार नियाले। नेपाली टोपी लगाएको केही केटाहरू देखे।
गंगाप्रसादका दाजु १९४५ सालमा ब्रिटिस इन्डियामा भर्ती भइसकेका थिए। त्यही बेला दोस्रो विश्वयुद्ध सुरू भएको थियो। भर्ती भएको ३ वर्षमा घरछुट्टी आएर विवाह गरेर पल्टन फर्केका थिए, तुलसीप्रसाद। त्यसपछि भने उनी कहिल्यै घर आएनन्। विश्वयुद्धमा हराएको भनेर देहरादुनबाटै पल्टनका आर्मीले घरमा खबर ल्याइदिएका थिए।
दिल्लीबाट अञ्जानमै देहरादुन पुगेका गंगाप्रसादलाई दाइ खोज्न मन लाग्यो। देहरादुनमा पण्डित बनेर बसेका एक जना दाइ उनले चिन्दा रहेछन्। त्यहीँ उनले अर्का भाइ पनि भेटे। गंगाप्रसादलाई त्यहाँ बस्न उनीहरूले नै सघाए।
‘म दाइको बारेमा बुझ्न भनेर पल्टन गएँ, केही पत्ता लागेन। दाइ छैन भनेर आर्मीका मान्छेले भन्यो। सोधखोज गरियो,डुलियो, केही भेउ पाइएन,’ उनले भने।
दाजुका बारेमा कुनै जानकारी नपाएपछि उनलाई घर फर्कन मन लागेन। सँगै बनारस पुगेका साथीकहाँ पनि गएनन्।
नेपालमा त्यतिबेला प्रजातन्त्र आएकै थिएन । २००७ सालभन्दा अघिका कुरा। उनका अनुसार देहरादुनको मञ्जुश्री पहाडमा खड्गशमशेरले दरबार बनाएका थिए। वीरशमशेरले लखेटेर पाल्पा पुगेका खड्गशमशेरले त्यहीँ रानीमहल बनाएका थिए।
‘अंग्रेजको पालामा बनेको त्यो दरबार सिँहदरबार जस्तो छ,' गंगाप्रसादले भने, ‘म त्यहीं बसें। राणाहरूले भारतका धेरै ठाउँमा यस्ता बस्ने ठाउँ बनाएका थिए।’
देहरादुनमा यसरी बसेका छन् अरे भन्ने थाहा पाएर भाइ महेश्वरले बनारस बोलाए। महेश्वर बनारसमा पढ्न बसेका थिए।
गंगाप्रसादले औपचारिक शिक्षा लिएका थिएनन्। बनारसमा उनले एक जना डाक्टरको औषधी पसलमा झाडु लगाउने काम पाए।
ती डाक्टरले अस्पतालमा पनि काम गर्थे, घरमा औषधी पसल खोलेका थिए।
‘मैले औषधी ल्याउने, लैजाने गर्न थालें, काम गर्दा गर्दै सबै आफ्नै हातले गर्नुपर्ने भयो’, गंगाप्रसादले सम्झिए।
बनारसको त्यो औषधी पसलमा ३ वर्ष काम गरे गंगाप्रसादले। यी तीन वर्षमा उनले बिरामीलाई औषधी बेच्नेदेखि सुई लगाउन र चिरफार गर्न पनि सिके। उनीसँग औपचारिक अध्ययनका प्रमाणपत्र थिएनन्। न त बिरामी जाँच्ने र औषधी दिने अनुमति नै थियो।
तीन वर्ष काम गरेपछि ती डाक्टरको पसलमा औषधी बेच्नेदेखि झाडु लगाउने काम उनले छाडिदिए।
‘त्यहाँबाट म बुलन्दशहर गए, त्यो हस्तिनापुरको नजिकै पर्छ,' गंगाप्रसादले भने, ‘बुलन्दमा आफ्नै निजी औषधी पसल खोलेर बसें।’
उनलाई निजी औषधी पसल खोल्न अर्का एक जना भारतीय नागरिकले पनि साथ दिएका थिए। उनका साथी भारतकै मेरठका थिए।
‘एउटा साथी पनि थियो, आयुर्वेदमा काम गरेको मान्छे। बुलन्द शहर गएपछि यस्तो बिरामी आउँछ, पैसा कमाइन्छ भन्थे। उनले पसलमा आयुर्वेद राखे, मैले औषधी राखें,’ उनले भने।
बुलन्द शहरमा खोलेको औषधी पसल सिजनमा त बेसरी चल्यो। औषधी पसलमा मलेरियाका बिरामी धेरै आउँथे। चैत-वैशाखमा त थामिनसक्नु बिरामी हुन्थे। वर्षदिन नपुग्दै १५ हजार रुपैयाँ जति दाम जम्मा भयो।
‘साथी दशैं मान्न घर गए, पसलमा म एक्लै भएँ। कमाएको सबै पैसा उसैले लियो,' उनले भने।
'फेरि कमाइन्छ, अहिले म लैजान्छु, अर्को पटक तपाईं घर जानुहोला। त्यतिबेलाको कमाइ तपाईं नै लानुहोला' भन्दै दशैं मान्न घर गएका साथी फर्किएर आएनन्। उनी एक्लैले औषधी पसल चलाए ।
उनले औषधी पसल एक्लैले २ वर्ष चलाए। त्यतिबेला नेपालका प्रधानमन्त्री डा. केआई सिंह थिए। उनी दिल्ली भ्रमणमा आए। प्रधानमन्त्री भ्रमणमा आउँदा जहाँ बसेका थिए, त्यहाँबाट नजिकै थियो गंगाप्रसादको निवास। उनी प्रधानमन्त्रीको स्वागतमा गए। प्रधानमन्त्री केआई सिंह त्यहाँ एक जना सांसदको घरमा बसेको उनी सम्झन्छन्।
नेपालमा २०१५ सालमा चुनाव भयो। चुनावले विपी कोइरालालाई प्रधानमन्त्री बनाउने गरी दुई तिहाइ बहुमत दियो। विपी पनि २०१६ सालमा दिल्ली भ्रमणमा गए। विपीको स्वागत सत्कारमा पनि गंगाप्रसाद उत्तिकै खटिए। नेपालका राजनीतिक घटनाक्रमलाई समेत याद गरेका उनले आफ्ना जीवनका घटनाक्रम देशको राजनीतिक घटनाक्रमको समयसँग जोड्दै सुनाउँछन्।
जस्तो, ११ सालमा बनारस फर्कँदा राजा त्रिभुवनको निधन भएको थियो। यसरी उनले आफ्ना कुरा अगाडि बढाए।
२०१७ सालमा विपी कोइरालाको सरकार राजाले अपदस्थ गरे, २०१८ सालमा गंगाप्रसाद नेपाल फर्किए। माघ मसान्तमा घर आइपुगेका उनले फागुन २५ गते भागिरथी शर्मासँग विवाह गरे। विहेपछि उनले सेतीदोभान बजार नजिकै रँगेठाँटीमा १ वर्ष औषधी पसल चलाए। घुमन्ते बानी भएका उनलाई त्यसपछि गाउँमा बस्न मन लागेन। २०२० सालमा फेरि भैरहवा बजारमा औषधी पसल खोल्न गए।
अब भने उनी एक्लै भएनन्। श्रीमती भागिरथीलाई पनि सँगै लगे।
भैरहवामा लामो समय टिकेनन् गंगाप्रसाद। त्यहाँबाट भारततिर लागे। भैरहवामा रहेका सबै सामान र पसल छाडेर दिल्ली हानिए। दिल्ली पुगेर अर्काको जागिर खाए। आफ्नै पसल खोलेर पैसा कमाउन थालेका गंगाप्रसाद अर्काको घरमा जागिर गर्न मन लागेन। फेरि उनी गाउँ फर्किए।
सेतीदोभानमै अहिले घरबारी भएको जग्गा १ हजार रूपैयाँमा किनेका थिए। अर्को ३ हजार खर्च गरेर घर बनाए। त्यही घरमा अहिलेसम्म गंगाप्रसाद र उनकी श्रीमती बसिरहेका छन्।
अहिले कोरोना, उहिले हैजा
जहाँ गयो उहीं औषधी पसल बोकेर हिँडेका गंगाप्रसादकी श्रीमतीले पनि उनकै संगतमा सामान्य औषधी बेच्न जानिसकेका थिइन्।
ज्वरो आएका, मलेरिया लागेका, हैजा लागेका यस्तै रोग थिए त्यतिबेला। मानिसहरू यस्तो भयो भन्दै आफ्नो रोग देखाएर आउँथे, उनीहरू औषधी दिएर पठाउँथे।
यही दैनिकीका कारण गंगाप्रसादका श्रीमती भागिरथीले पनि औषधी बेच्न जानिसकेकी थिइन्। गाउँमा कोही डाक्टर थिएनन्, उनै गंगाप्रसाद-भागिरथी दम्पतीको भरमा थियो, सिङ्गो सेतीदोभानबासीको स्वास्थ्य।
गाउँमा फर्केर औषधी पसल खोलेपछि औषधी लिन गंगाप्रसाद ५ दिनसम्म हिँडेर गोरखपुर पुग्नुपर्थ्यो।
गोरखपुर पुग्दा कहिलेकाहीँ दिल्ली पनि पुग्थे उनी। नुन लिन र रोजीरोटी खोज्न धौलागिरी क्षेत्रका पर्वत, म्याग्दी, बाग्लुङ, मुस्ताङ लगायतका मान्छे त्यही बाटो हिँड्थे।
भारतबाट बुटबल आइपुगेको ‘बजार’ सेतीदोभानमै खोल्न केही स्थानीय र बाहिरिया व्यापारीले दिमाग लगाए। धौलागिरी क्षेत्रका मानिसलाई सेतीदोभानमै रोक्ने र व्यापार गर्न उनीरूले विभिन्न पसल खोले। सेतीदोभानमै औषधी पसलदेखि, किराना, फेन्सी, होटल, लज, कपडा, फोटो स्टुडियोलगायत दैनिक आवश्यक र उपभोग्य सबै सामाग्री पाइने भयो। बुटवल जाने मान्छेको लर्को सेतीदोभानमै रोकियो।
२०४२ सालसम्म गुलजार रहेको सेतीदोभानमा औषधी उपचारको काम भने गंगाप्रसादपछि अरू दुई जना मात्रले गर्दथे। त्यतिबेला पनि अहिले कोरोना भाइरसको महामारी भनेजस्तै रोगहरूको प्रकोप नै चलेको गंगाप्रसादले बताए।
‘अहिले आएको छ नि कोरोनो रोग, उहिले हैजा आउँथ्यो’, उनले भने, ‘अस्पताल थिएन, स्वास्थ्यचौकी पनि थिएन, त्यतिबेला मैले उपचार गरेका केटाकेटी यतिबेला अधवैंशे भएका छन्, अहिले पनि मलाई तपाईंले बचाउनुभएको भनेर भेट्न आउँछन्, खुसी लाग्छ।’