कोरोना भाइरसविरूद्धको खोपको दोस्रो डोज ४ हप्तामा दिने भनिएकोमा अहिले उक्त अविधिलाई लम्ब्याएर ८ हप्ता पुर्याइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि खोपको पहिलो डोज लगाएको चार हप्तापछि दोस्रो खोप लगाउने भनेको थियो।
तर उक्त अवधिलाई अहिले परिमार्जन गर्दै आठ हप्ता बनाइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए।
उनले विभिन्न अध्ययनहरूले पहिलो डोज लगाएको ८ देखि १२ हप्तापछि दोस्रो डोज लगाउँदा खोपको प्रभावकारिता देखिएको भन्दै सोही अनुसार नेपालमा पनि दोस्रो डोज दिने समयवधि लम्ब्याइएको जनाए।
'हामीले सुरूमा खोप दिँदा दोस्रो मात्रा चार हप्तापछि नै लगाउने भनेका थियौं। तर पछि विभिन्न वैज्ञानिक अध्ययन र विश्व स्वास्थ्य संगठनको खोपसम्बन्धी रणनीतिक समूहले पनि पहिलो डोज लगाएको आठदेखि बाह्र हप्तापछि दोस्रो डोज लगाउँदा खोपको प्रभावकारिता बढी देखिएको भन्दै उक्त अवधिमा दोस्रो डोज लगाउन सिफारिस गर्यौं,' डा. गौतमले भने, 'नेपालमा पनि राष्ट्रिय खोप सल्लाहकार समितिले पनि त्यहीँ कुरा सिफारिस गरेपछि मन्त्रालयले उक्त निर्णय गरेको हो।'
उनले दोस्रो खोप कहिलेबाट लगाउनेबारे सर्वसाधारणलाई आह्वान गरिने बताए।
उनले दोस्रो डोज लगाउनलाई खोप अभाव नहुने जनाए।
दोस्रो डोज लगाउनलाई खोप अभाव हुन नदिन अहिले व्यवस्थापनको काम भइरहेको भन्दै गौतमले भने, 'सबै व्यवस्थापनको काम सकिएपछि मात्र हामी आह्वान गर्छौं। दोस्रो डोज समयमै लगाउँछौं।'
उनका अनुसार दोस्रो डोज लगाउने व्यक्तिले पहिलो डोज लगाएकै खोप केन्द्रबाट लगाउनुपर्ने हुन्छ।
सरकारले गत माघ १४ गतेदेखि खोप अभियान चलाएको छ। जसमा सुरूमा स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनमा खटिएका कर्मचारीलाई दिइएको थियो। त्यसपछि पत्रकार र कूटनीतिक नियोगका कर्चमारीलाई खोप दिइएकोमा फागुन २३ गतेदेखि भने ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिइने भनिएको छ।
सरकारले गत आइतबार मात्र भारतको सेरम इन्स्टिच्युटबाट १० लाख डोज 'कोभिसिल्ड' नामक खोप खरिद गरेको छ।
यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मीलाई लगाइएको उक्त खोप नै हो।