शिल्पी नाटकघरमा आबद्ध रंगकर्मी संगीता उराँवले यही फागुन ७, प्रजातन्त्र दिवसका दिन टुँडिखेल मार्चमा कविता सुनाएकी थिइन्, जसले भन्छ:
'मेना शासक
बिलासिताही खराकोहा आड्पानु ओक्कायकी निन्
खेखेलता आलारीन, दयाँ माएदाबाआ।
खज्जती तङगआ मेहनत अउर पसिना ती
र्सिजच्का, पुइदाबाउँ ओन्टा
इमानदार आलारीन,
भोट होआ खत्री
एक्आम नकली सपना माएदाबाआ...'
यो 'मेना शासक' अर्थात् 'सुन शासक' शीर्षकको कविता हो।
कुडुख (उराँव) भाषामा भनिएकाले सबैले बुझ्ने त थिएन, तर कविता भनिरहँदा जुन ओज र आक्रोश संगीताका आँखा र आवाजमा देखिन्थ्यो–सुनिन्थ्यो, त्यसले सबैलाई तानिरहेको थियो।
सेतोपाटीसँगको भेटमा संगीताले कविताको भावार्थ भनिन्, 'जो शासक छन्, उनीहरू भोट माग्ने समय हामीजस्ता किसान, मजदुर समुदायलाई मासुभात र हजार रूपैयाँमा किन्छन्। त्यो बेला गाउँमा भोज नै हुन्छ। तर जब उनीहरू सत्तामा पुग्छन्, तिनै सिमान्तकृत समुदायलाई बिर्सिन्छन्। त्यसैले, तिम्रो महललाई खेतझैं जोतेर उठिबास लगाउने शक्ति पनि छ हामीसँग।'
कविताको माथिल्लो पंक्तिले भनेको पनि त्यही हो-
'हे शासक
विलासिताको भव्य महलमा बसेर तिमी
भुइँको मान्छेलाई दया नदेखाऊ
माटोमा आफ्नो मिहिनेत र पसिनाले
सिर्जना फूलाउने एउटा इमानदार नागरिकलाई
भोट पाउनका लागि
कुनै नक्कली सपना नदेखाऊ...'
उनले यो कविता नेपालीमा पनि अनुवाद गरेकी छन्। (पूरा कविता भिडिओमा सुन्नुहोस्)
सुनसरी, इनरूवाकी संगीताको घर आफ्नै जग्गामा ठडिएको होइन, ऐलानीमा हो। त्यहाँ कमै उराँवहरू छन्, जोसँग आफ्नो घरको लालपुर्जा छ। आफूहरूको घर ऐलानीमा हुनुको कारण माछामासु र गँगटा धेरै मनपराउनु हो जस्तो लाग्छ उनलाई, 'हाम्रो बसोबास खोलाछेउमा बढी पाइन्छ। हाम्रो घरदेखि पूर्वतिर पनि ट्यांग्रा खोला छ।'
उराँवहरूले जाँड–रक्सी धेरै खाने र हजुरबुवाले 'पुर्खाहरूले सम्पत्ति खाएरै सकाएको' भनेको सम्झिँदै संगीताले भनिन्, 'मिहिनेत त गरे तर कसरी जोगाउनुपर्छ भन्ने जानेनन्। जग्गालाई आफूले सधैं समेटेर राख्ने होइन भन्ने पनि भयो कि?'
त्यस्तै जसको जग्गा-जमिन थियो, उनीहरूले आफ्नो ठाउँ मिचिँदै गएको पनि चाल पाएनन्।
जमिन नभए पनि योसँग उनीहरूको सम्बन्ध एकदमै नजिक छ। उनीहरू पुर्खादेखिको पेसा, खेती-किसानीलाई अहिलेसम्म अँगालिरहेका छन्। त्यो खेती अँधियामा भएकाले आफूले कमाएको आधा वा त्योभन्दा बढी भाग जमिनदारलाई बुझाउनुपर्छ। मिहेनत गरेर पनि उनीहरूले वर्षदिन खान पुग्ने अन्न पाउँदैनन्।
कोरोना लकडाउन बेला झन् खेतमा हाल्ने मल नपाएर उनको परिवार अर्को संकटबाट गुज्रिनु परेछ।
'त्यो बेला हाम्रोमा धान रोपाइँ चलिरहेको थियो। तर खादुरिया (मल) पाउन गाह्रो भएपछि समस्या आयो। त्यही बेला बालीमा पनि रोग देखियो,' संगीताले सम्झिइन्, 'मान्छे खटाउन, खेती लगाउन अनि परिवार चलाउन त्यो बेला लिएको ऋण तिर्न अहिले पनि मेरो परिवार लागिपरेको छ।'
आफ्नो परिवार उक्त समस्याबाट उम्किएकै छैन, प्रधानमन्त्री केपी ओलीले संविधान विघटन गरेको खबर सुनेपछि सपनाले सोचिछन्, 'संविधान बनाउन त कति धेरै खर्च हुन्छ। त्यही खर्च कोरोनाका समयमा हामी किसान, मजदुरका समस्या समाधान गर्न गरेको भए हुन्थ्यो नि।'
संविधान भनेको देशलाई नियममा चलाउन बनेको हुन्छ। त्यहाँ किसान र उनको समुदायका कुरालाई पनि ठाउँ दिइएको हुन्छ। तर संविधानमा उल्लेख भएका सुविधा संगीताहरूले पाइरहेका छैनन्। अनि त लेखिन्छन्, 'मेना सासक' जस्ता कविता।
आफ्नै समुदायका समस्या सम्झिएर उनले नागरिक आन्दोलनकै समयमा कविता लेखेकी हुन्। आन्दोलन क्रममा शिल्पीले गरिरहेका नाटकमा पनि सहभागिता जनाइन्।
उराँव समुदायबाट यसरी रंगमञ्चमा जोडिनु, कविता लेख्नु अनि खुला रूपमा बोल्न पाउनुलाई दुर्लभ संयोग मान्छिन् संगीता। त्यो संयोग करिब ६ वर्षअघि जुराइदिएका थिए रंगकर्मी घिमिरे युवराजले।
संगीता सानैदेखि नाटकमा आकर्षित थिइन्। गाउँका बाल-क्लबमा आबद्ध भएर सडक नाटक गर्थिन्। नाटकप्रति लगाव यति थियो, घरमा खेतीको केही काम पर्दा भन्थिन् रे, 'आएर काम गर्छु, बरू भात खान नदिनू तर नाटक गर्न जान्छु।'
सडकमा आफ्नो कला देखाउँदा देखाउँदै उनले नागरिक नाट्य कला केन्द्रमा नाटक गर्ने अवसर पाइन्। विभिन्न वडाका कलाकार छानिएको उक्त समूहमा युवराज पनि थिए। त्यही बेला उनले संगीताको नाटकप्रतिको झुकाव देखेर प्रस्ताव गरेछन्, 'नाटक सिक्न काठमाडौं आउने हो?'
त्यो प्रस्ताव केही दिनका लागि थिएन, तीन महिनाको थियो। त्यसमाथि काठमाडौं त संगीताको निम्ति 'सपनाको सहर'।
पहिले त आफैंलाई सम्झाउन समय लाग्यो, त्यसपछि परिवारलाई। उनको जिद्धी बानी र अडानले काम गर्यो। कसरी जाने, कोसँग बस्ने भन्ने समस्या पनि त थियो। यसलाई पनि युवराजले नै फुकाइदिए, 'बस्ने ठाउँ पनि छ।'
काठमाडौं आउने खर्च र भाडा भने उनले नै जोरजाम गर्नुपर्थ्यो। उनकी आमाले जुटाइदिइन्, चाँदीको सिक्री तीन हजार रूपैयाँमा बन्धकी राखेर। फुपूले दुई हजार रूपैयाँ थपिदिइन्। पाँच हजार रूपैयाँको भरमा सपना साँच्दै संगीता काठमाडौं आइपुगिन्।
काठमाडौं आउँदा उनले कुर्ता-सुरूवालहरू लिएर आएकी थिइन्। सोच्थिन्, 'त्यहाँ मैले यही लाउने हो।' तर यहाँ आएपछि उनले थरिथरिका पहिरन देखिन्, 'ठाउँअनुसार लवाइखवाइ फेरिने रहेछ। त्यहीअनुसार बानी पर्दैछ।'
सडक नाटकहरू गरिरहेकी संगीतालाई नाटकघर हुन्छन् भन्ने थाहा थिएन। यहाँ कक्षा लिँदा पनि सडक नाटकै गर्ने हो भन्ने लागेको थियो। जब रंगमञ्च देखिन्, अवाक् भएकी थिइन्। विस्तारै 'पाहुना घरकी साहुनी', 'दीक्षान्त', 'भृकुटी', 'अनि देउराली रून्छ', 'आँधीको मनोरम नृत्य', '६ पात्रको एकालाप' जस्ता दर्जन बढी नाटक खेलिसकेपछि उनलाई रंगमञ्च सामान्य लागिसकेको छ।
उनले आफ्नै समुदायको कथा समेटेर एकल नाटक 'खेतको गँगटा' पनि गरेकी छन्। 'यलो कमेडी' अन्तर्गतको ३० मिनेट लामो नाटकमा खेतीपाती गर्ने एउटा केटीको कथा छ। त्यो कथा खेतको एउटा गँगटाले भन्छ जसलाई केटीले घरमा लिएर आएकी हुन्छिन्।
'खान भनेर लिएर आएको गँगटोले सौतेनी आमाले गरेको व्यवहारदेखि उनको इच्छा के थियो, थिएन लगायत कुराहरू भन्छ,' नाटकबारे बताउँदै संगीताले भनिन्, 'नाटकमा नेपाली र कुडुख दुई भाषा प्रयोग गरिएको थियो। विराटनगरमा महिला उत्सव हुँदा मेरी आमा र भाइबहिनीलाई नाटक हेर्ने अवसर मिल्यो। बुवाले भने मेरो नाटक हेर्न पाउनुभएको छैन।'
संगीतालाई आफ्नो समुदायका यस्तै कथा नाटकमार्फत् भन्ने रहर छ। रंगमञ्चमा राम्रै गरिरहेको र अलिअलि कमाइ पनि भइरहेकाले परिवारले पनि साथ दिन्छन्। तर कहिलेकाहीँ भन्छन् रे, 'अनि के बिहेपछि पनि नाटक नै गर्ने हो?'
आफ्नो परिवारलाई कसरी बुझाउने, उनी जान्दिनन्। उनी त्यस्तो समाजमा हुर्किएकी हुन् जहाँ महिलाको भविष्य भनेकै घरजम हो। महिलाहरूको सानै उमेरमा बिहे हुन्छ। पुरुष विदेश जानुलाई ठूलो प्रगति मानिन्छ। अझ पहिले महिलालाई पढाउनै हुन्न भन्ने थियो, अहिलेका पुस्ता भने पढ्न थालेका छन्।
'केटीहरूले हदैसम्म पढे कक्षा १२ सम्म हो,' समाजशास्त्रमा स्नातकोत्तर गरिरहेकी २४ वर्षीया संगीताले भनिन्, 'काठमाडौंमा नाटकका लागि आउँदा म कक्षा १२ पढिरहेकी थिएँ। त्यहाँ भएको भए त्यति मात्र पढ्थेँ सायद। नाटककै कारण अझ पढ्ने अवसर पाएँ।'
उनले अगाडि भनिन्, 'मलाई दस कक्षादेखि बिहेको कुरा आएको थियो। टार्दा–टार्दा अहिले त घरबाट भन्नै छाड्नुभयो।'
दुई छोरा र दुई छोरी भएको उनको परिवारमा बिहेको दबाब अब उनकी बहिनीमा सर्न थालेको छ। संगीताका एक भाइ भोजपुरमा बाइक ग्यारेजमा मेकानिक काम गरिरहेका छन्, अर्का घरै छन्।
बहिनी भने एसइई पास नभएकाले पढाइ रोकिएको उनले जानकारी दिइन्। आफैं पनि एसएलसी फेल भएको बताउँदै भनिन्, 'हाम्रो अवस्था कस्तो छ भन्दा, एसएलसी दिने समयमा ठ्याक्कै गहुँ पाक्ने बेला हुन्छ। अरूको खेतीपाती गर्ने हामीलाई गहुँ काट्ने मानसिक दबाब हुन्छ। वर्षभर खान पुग्ने अन्नको महत्व पढाइभन्दा धेरै हुन्छ। अनि त्यस्तो बेला कस्तो असर पर्छ होला परीक्षामा?'
यो उनको घरको मात्र होइन, त्यहाँको साझा समस्या हो। यस्ता समस्याले पनि आफूहरूलाई अघि बढ्न बाधा हालेको उनी बताउँछिन्।
सुनसरीमा उराँवहरू लगभग ४०-५० घर छन्। उनीहरूलाई 'झाँगड' भनेर पनि चिनिन्छ। आफूहरूको परम्परा, भाषा, भेषभुषा अरूसँग मेल नखाने बताउँदै संगीता उदाहरण दिन्छिन्, 'जस्तो, हाम्रो मुख्य पर्व भनेको करमधरम हो।'
करमधरम भदौको पहिलो पूर्णिमामा हुन्छ। त्यो बेला धान रोपिसकेपछि उत्सव मनाइन्छ। करम रूखको हाँगा काटेर भुइँमा गाडिन्छ। रातभर जागा बसी करम हाँगोको पूजा गरिन्छ। उराँव समुदायले मूर्ति होइन, प्रकृति पुज्छन्। करम पूजा सुरू हुनुअघि लोककथा भनिन्छ। अनि नाचगान हुन्छ।
'लोककथामा पनि हाम्रो पुर्खाले कसरी काम गर्थे, कसरी खानपिन जोहो गर्थे, कमाउन कहाँकहाँ जान्थे भनेरै उल्लेख गरिएको हुन्छ,' संगीताले भनिन्।
भाषा आयोगले उराँवसहित माझी, राउटे र ब्यासीलाई संकटमा परेका भाषिक समुदायका रूपमा उल्लेख गरेको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षा विकास र अनुसन्धान केन्द्रसँगको सहकार्यमा आयोगले उनीहरूको भाषा र परम्परागत पेसाको अन्तरसम्बन्ध अध्ययन-अनुसन्धान गर्ने निधो गत वर्ष नै गरेको थियो।
आयोगले नयाँ थपिएका आठसहित नेपालमा १ सय ३१ भाषा पहिचान गरेको छ। यी भाषालाई चीन–तिब्बती, भारोपेली, आग्नेली, द्रविड र परिवार नखुलेका कुसुन्डा गरी पाँच भागमा विभाजन गरिएको छ। एकदमै कम संख्याले बोल्ने कुडुख (उराँव) भाषा द्रविड परिवारमा पर्छ।
जनसंख्या हिसाबले कम उराँवहरू अवसरमा पनि धेरै पिछडिएको संगीताको भनाइ छ, 'मैले त अवसर पाएँ, मिहेनत गरेँ। सबै मजस्ता भाग्यमानी हुँदैनन्। अझै पनि अवसरबाट बञ्चित छ मेरो गाउँ।'