सामान्य घरेलु विवादकै कारण आफन्तबाटै मारिनु पर्ने डरलाग्दो पारिवारिक अपराधको दर ह्वात्तै बढेको छ।
भनाभनबाट सुरू हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दै जाँदा यस्ता अपराधको संख्या पनि लगातार बढिरहेका छन्।
प्रदेश १ प्रहरी कार्यालयको पछिल्लो ६ महिनाको तथ्यांक केलाउँदा र सुरक्षा अधिकारीहरूको अनुभवले सबैभन्दा सुरक्षित संस्था मानिने परिवार असुरक्षाको कारखानाजस्तै बनिरहेको देखाउँछ।
प्रदेश १ मा पछिल्लो समयमा देखा परेका प्रतिनिधि घटनाहरूले पारिवारिक अपराधको ग्राफ उच्च भएको देखाउँछ।
केही प्रतिनिधि घटना हेरौं।
२० वर्षका लक्का जवान युवक मोबाइल किन्न बाबुलाई पैसा माग्छन्। छोराले मागेको पैसा सुनेपछि बुवा आत्तिन्छन्। खेती किसानी गरिरहेका बुवासँग कलेज पढ्दै गरेका छोराले मागेजति रकम खल्तीमा थिएन। उनले तत्काल दिन नसक्ने बताए।
बाबु-छोराबीच भनाभन सुरू भयो।
छोरा मुखमुखै लाग्न थालेपछि बुवा पनि कड्किन्छन्। त्यही क्रममा छोरा बाबुमाथि खुकुरी प्रहार गर्छन्। पाका उमेरका बुवा ढलेपछि छोरा आत्तिन्छन्। त्यही खुकुरीले उनी आफैं सेरिन्छन्।
यो घटना प्रदेश १ को राजधानी विराटनगरमा केही समयअघि भएको हो।
‘धन्न, बाबुछोरा नै घाइते मात्रै बने, अहिले उपचारपछि घर फर्किएका छन्। नत्र त्यो सानो निहुँ बाबु-छोराकै ज्यान लिने कारण हुनसक्थ्यो,’ मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले भने।
गएको माघ १९ का दिन मोरङको जहदा-१ धुनीटोलमा ससुराली आएका ज्वाइँले दाउ प्रहार गरेर सासुको हत्या गरे।
निहुँ ठूलो थिएन, पत्नीसँग भनाभन चलिरहेको थियो। भनाभन झगडामा उक्लियो। ज्वाइँ-छोरी लड्न थालेपछि छुट्याउन आएकी थिइन्, ५५ वर्षे जोसनीदेवी सरबरिया।
त्यहीबेला ज्वाइँ प्रेमलाल सरबरियाले धारिलो हतियार प्रहार गरेर सासुको हत्या गरे। झापा गौरीगन्ज-१३ का सरबरिया अहिले प्रहरी नियन्त्रणमा छन्।
दुई साताअघि झापामा पनि उही प्रकृतिको घटना भएको छ। भद्रपुर नगरपालिका-७ का ५८ वर्षे साहेबा उराउ पत्नी हत्याको आरोपमा पक्राउ परेका छन्।
पत्नी ६० वर्षे फिल्सिता उराउ र साहेबाबीच झगडा हुँदा साहेबाले फिल्सितालाई टाउकोमा ढुङ्गाले हानेर घाइते बनाए।
भोलिपल्ट २ बजे फिल्सिताको मृत्यु भयो। मदिराले लठ्ठ उनले सामान्य झोंकझोंकमा पत्नीको हत्या गरे।
उनी अब जेल जाने पक्का छ, छोराछोरी अभिभावकविहीन बनेका छन्।
पछिल्लो समय मौलाएको पारिवारिक अपराधको चित्र वर्णन गर्न यी घटना काफी छन्। परिवारभित्रैका सदस्य काल बनेर आउने भयावह अवस्था बढेको बढ्यैको अवस्था आएको छ।
‘बेरोजगारीले अभाव र अभावले चरम गरिबी निम्त्याएको छ,’ यस्ता घटनाको अनुसन्धानमा लामै समय बिताइसकेका एसपी खड्का भन्छन्, ‘त्यो गरिबीले पारिवारिक झगडा बढाएको छ। निराशा बढाएको छ। त्यसैले, अपराध पनि बढाएको छ।’
उनका अनुसार टिकटक बनाएको निहुँमा पतिबाट पत्नीको हत्या भएको छ। फेसबुक मेसेन्जरमा कुराकानी गरेकै निहुँमा पत्नीको हातबाट पति मारिएका छन्।
‘बेलबारीमा सामान्य निहुँमै छोराबाट आमाकै हत्या भयो,’ उनले भने, ‘यस्ता घटना पछिल्लो समयमा झनै बढेको छ।’
प्रदेश १ प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश १ मा ९७ वटा कर्तव्य ज्यानको मुद्दा दर्ता भएका थिए।
चालू आर्थिक वर्षको कात्तिकसम्ममा ४६ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएका छन्। यो आर्थिक वर्षका ४६ वटा कर्तव्य ज्यानको मुद्दा दर्ता भएमध्ये अधिकांश परिवारभित्रका सदस्य र आफन्त नै सहभागी देखिने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
‘प्रदेश १ मा चालू आर्थिक वर्षका पछिल्लो घटनाहरूमा पारिवारिक अपराधका घटना बढी भएका छन्,’ प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी विपिन रेग्मीले भने।
समाजशास्त्रका अध्येताहरूका अनुसार बृहतबाट एकल परिवारमा ‘सिफ्ट’ हुँदै गएको पारिवारिक संरचनामा व्यक्ति परिवारको नियन्त्रणभन्दा धेरै टाढा गइसकेको हुन्छ। परिवारभन्दा टाढा भएका व्यक्ति सामाजिक नियन्त्रणमा पनि हुँदैनन्।
जसले व्यक्तिलाई पूर्णतः एकलकाँटे र व्यक्तिवादी बनाइदिन्छ।
‘यस्तो बेलामा आफ्नो सामान्य आवश्यकता पूरा नहुँदा वा मतभेद हुँदा पनि व्यक्ति हिंस्रक रूपमा जाइलाग्ने जोखिम उच्च हुन्छ,' स्नाकोत्तर क्याम्पस विराटनगर समाजशास्त्र विभागका सहप्राध्यापक डिल्ली प्रसाईंले सेतोपाटीसँग भने, ‘तत्कालै केही पाइएन भने जस्तोसुकै तहमा उक्लिन पनि मान्छे तयार हुने गरेको देखिन्छ। उसको आक्रोश सेलाउँदा उसैको आफन्तको ज्यान गइसकेको हुनसक्छ। पति पत्नीबीच डिभोर्स भइसकेको हुनसक्छ।’
सामान्य विवादमै हत्या गर्नेसम्मको आक्रोश सवार हुनुमा विवाहोत्तर सम्बन्धलाई जिन्दगीकै अन्त्य जसरी लिइदिने सोचले पनि काम गरेको सहप्राध्यापक प्रसाईंको भनाइ छ।
‘यस्ता सम्बन्धहरू समाजमा छन्। हुनसक्छन्,’ उनले भने, ‘तर, त्यो जिन्दगी नै सिध्याउनु पर्ने घटना पटक्कै होइन। त्यसलाई सामान्य रूपमा लिन नसक्दा यस्ता घटना हुने गरेका छन्।’
गएको मंसिर ८ मा झापा कमल गाउँपालिका ६ का ४७ वर्षे चुडामणि भण्डारी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परे।
चुडामणिकी ३९ वर्षे श्रीमती टीकादेवी पौडेल र दमक नगरपलिका २ का २५ वर्षे प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएका बेलामा विवाद भएको थियो।
आवेशमा आएका भण्डारीले दुबै जनालाई खुकुरी प्रहार गरेका थिए। टीकादेवीको घटनास्थलमा नै मृत्यु भएको थियो।
पतिले अनावश्यक आवेश देखाउँदा उनले पत्नीको हत्यारा त बन्नु पर्यो नै, आफ्नै जिन्दगी पनि कारागारको साँघुरो घेरामा कैद गर्नुपर्यो।
पारिवारिक विखण्डनले छोराछोरीलाई पारेको असर त हिसाबै भएन।
पारिवारिक अपराध निम्त्याउने कारणमध्ये व्यक्तिमा लगातार बढेको निराशा पनि मुख्य कारण बनेको एसपी खड्का बताउँछन्।
‘मानिस निराश भएपछि अमुक व्यक्तिलाई बाधक देख्ने, आफन्तलाई नै बाधकको रूपमा हेर्ने गर्दछन्,’ एसपी खड्काले भने, ‘त्यस्तो बेलामा आवेगमा आएर यस्ता जघन्य घटना गर्ने गरेको हामीले पाएका छौं।’
मानिसले प्राथमिकता दिनुपर्ने कुरामा भन्दा अन्यत्र ध्यान दिँदा र आपसी विश्वास कायम गर्न नसक्दा यस्तो समस्या आउने गरेको उनको बुझाइ छ।
रोजगारी बढाउने, चेतना अभियान चलाउने जस्ता कार्यक्रम समाजमा अत्यावश्यक भइसकेको उनको भनाइ छ।
समाजशास्त्री प्रसाईं भने पछिल्लो समय पारिवारिक अन्तरक्रिया कमजोर बनेको बताउँछन्।
‘प्रशस्त पारिवारिक अन्तरक्रिया जरूरी छ। आपसमा समय दिन पनि सक्नुपर्छ,’ उनले थपे ‘सघन र नियमित पारिवारिक छलफल र संवादले हरेक व्यक्तिलाई आफ्ना सीमा र समस्या बुझ्न सघाउँछन्।’
उनका अनुसार देखाउनेभन्दा अनुभव हुने ढंगको पारिवारिक प्रेम पनि पारिवारिक अपराध कम गर्ने माध्यम हुनसक्छ।