महिला मार्चमा सपना सञ्जिवनीले सुनाएको मैथिली कविताको भिडिओ सेयर गर्दै पल्लवी पायलले ट्विटरमा लेखेकी थिइन्, 'यो आवाजलाई बन्द गर्न सकिन्न। यो सपनाको मात्र होइन, हामी सबैको आवाज हो।'
मिल्ने साथी पल्लवीले 'हम आब सीता नही बनबौं' कविता सबैको आवाज भनिरहँदा सपना भने चुप थिइन्। सामाजिक सञ्जाल र मिडियाबाट टाढा रहन चाहन्थिन्। कविताको वाह-वाहीसँगै हिन्दु धर्म विरोधी भनेर आएको बलात्कार र ज्यान मार्नेसम्मको धम्कीले अवाक थिइन्। शान्त थिइन् तर चुपचाप बस्नेवाला थिइनन्।
त्यसैले फागुन ७, टुँडिखेल मार्चमा उनी फेरि 'हम तोहर बहिष्कार करैछियौ' अर्थात् 'यो समाजलाई बहिष्कार गर्छु' भन्दै अर्को कविता सुनाउन आइपुगिन्।
हामीसँगको भेटमा पनि सुरूको कविताले दिएको मानसिक असरबाट सपना बाहिर आउन सकेकी थिइनन्। त्यसैले त्यो कविता नसुनाउने शर्तमा हाम्रो कुराकानी अगाडि बढ्यो।
पित्तृसत्ताले जसरी महिलालाई 'देवी' जस्तो बन्न भनेको छ त्यो कुरा सपनालाई चित्त बुझ्दैन। महिला भएर चुप लाग, शिर निहुराएर बस, जे भन्छु मान, केही कुरामा विरोध नगर, आफ्नो कुरा नराख, प्रश्न नगर लगायत आदर्शवादी व्यवहारमा उनको विरोध छ।
'जुन धर्म अनि समाजमा छु, त्यसमा नराम्रो भइरहेको थाहा छ भने बोल्ने त मैले नै हो,' उनले भनिन्, 'जे कुरा ठीक छैन, त्यसलाई म नाइँ नै भन्छु। किन भनेर प्रश्न गर्छु। पित्तृसत्ताले जुन ठाउँ ओगटेर राखेको छ, त्यसमा आफ्नो हक छ भनेर हामीले नै दाबी गर्ने हो।'
महिलालाई पितृसत्ताको दमनले पुर्याएको समस्या साझा हो। मिथिला क्षेत्रमा सपनाले त्यो समस्या अझै बढी पाएकी छन्। भ्रुण हत्या, दाइजो नाममा महिलाहरू कुटिनु–मारिनु, बलात्कार हुनु, महिला–पुरुषबीच गहिरो खाडल हुनु लगायत समस्या बढी भएको उनी बताउँछिन्।
जनकपुरको तथाकथित उच्च अनि शिक्षित वर्गमा जन्मिएकाले उनलाई घरकाले त 'तिमी आफ्नो निर्णय आफैं लिऊ' भन्थे। तर जब घरबाट बाहिर निस्किन्थिन्, समाजले भन्थ्यो, 'तिमीले गरेको गलत हो। केटी मान्छेले यस्तो गर्नुपर्छ। यस्तो गर्नुहुँदैन।'
'मेरो गाउँमा कमै महिलाले मात्र कक्षा दससम्म पढेका छन्। पास हुने, उच्च शिक्षा गर्ने र गाउँ नै छाडेर जाने कुरा झन् आफ्नै ठाउँमा छ,' उनले भनिन्।
तीन वर्षयता सपना र साथी पल्लवी मिलेर मिथिला चित्रहरू पनि बनाइरहेका छन्। हामीले केही समयअघि 'पल्लवी र सपनाको चित्र संसार' भनेर स्टोरी पनि गरेका थियौं।
उनीहरूका चित्रमा परम्परादेखि चलिआएका घर–व्यवहार अनि महिलालाई सभ्य देखाउने खालका चित्र अटाउँदैनन्। बरू परम्परागत सोचलाई चुनौती दिने महिला र मधेसी समुदायका कुराहरू छन्– कुनै चित्रमा महिला वाइन खाँदैछन्, कुनैमा पढिरहेका। कुनैमा निर्वस्त्र भएर महिनावारीबारे बोल्दैछन्, त कुनैमा आफ्नो शरीरको आकार जस्तो भए पनि स्वीकार्ने कुरा गरिरहेका छन्। अनि मधेसी महिला आफूले दिने भोटको क्षमता पनि देखाउँदै छन्।
मिथिला कलामा क्रान्ति ल्याउने नयाँ कदम चालेर बाहिरका मानिसले मधेसलाई सीमित घेरामा हेर्ने दृष्टिकोण बदल्न चाहन्छन् उनीहरू। तर समाज बदल्नु लामो प्रक्रिया हो भन्ने पनि बुझ्दैछन्।
स्नातकोत्तर पढ्न काठमाडौं आइपुग्दा सपनाले सहरले मधेसी समुदायलाई गर्ने विभेद पनि भयानक पाएकी थिइन्। यहाँ त्यो समुदायलाई हेपाहा शैलीमा भनिने शब्दहरू सुनिन्, 'काठमाडौं ओहोरदोहोर गर्ने दाइहरूले त सुनाउनुहुन्थ्यो। तर कुन स्तरको दमन हुन्छ भन्ने यहाँ आएर थाहा पाएँ। मधेसी हुनुको असली भाव कस्तोसम्म हुन्छ भनेर मैले यहाँ आउनुअघि थाहा पाएकी थिइनँ।'
उनी ठूला सपना बोकेर काठमाडौंको फरक परिवेशमा आएकी थिइन्। यहाँ राम्रो पढाइ, पुस्तकालय र किताबहरू देखिन्–पढिन्, 'तर कुरा कहाँ अड्किरहेको छ भन्दा यो त मधेसी हो, यो त भारतीय हो भनेर हामीलाई त यो समाजले आफ्नो हिस्सा नै होइन जसरी व्यवहार गर्दो रहेछ।'
आफ्नो भाषा मैथिली भए पनि उनले यहाँ बढी बोल्नुपर्ने नेपाली नै हो। तर जबजब परिवारसँग कुरा गर्छिन्, मातृभाषा नै सहज हुन्छ। कतै यात्रामा गइरहेका बेला घरबाट आएको फोनवार्ता सम्झिँदै उनले भनिन्, 'आफ्नो भाषा बोलिरहँदा माइक्रोभरीका मान्छेले मलाई यसरी घुरेका थिए, मानौं मैले कुनै ठूलो अपराध गरेँ। त्यो भाषा नि नेपालकै हो भनेर किन सामान्य ठान्नु हुन्न?'
राज्यले आफ्नो समुदायलाई गर्ने व्यवहार पनि उनलाई भयानक लाग्छ। संविधानले मधेसी समुदायको हक–अधिकार सुनिश्चित गरेको छ तर व्यवहारमा लागू गरेको छैन। आफ्ना जनताले हकनिम्ति लड्दा वा विरोध गर्दा सरकारले नै 'माखो-साङ्ला' जस्तो गरिदिने, 'एक दुइटा आँप झरेर केही हुन्न' भनेर झरेको आँपजस्तो व्यवहार गरिदिएको उनी ठान्छिन्।
त्यसैले भन्छिन्, 'जब सत्तामा पुगेका मान्छेले नै आफ्ना जनतालाई आफ्नो होइन जस्तो व्यवहार गरिदिन्छ, उसको समुदाय–वर्णको आधारमा नागरिकताको प्रावधानमा दोस्रो, तेस्रो, चौथो दर्जाको नागरिक बनाइदिन्छ भने त्यो जनताले के गर्ने? राज्यले हेर्ने दृष्टिकोण नै फरक छ भने त्यो समुदाय कसरी अगाडि बढ्ने?'
त्यस्ता व्यवहार कुनै विन्दुमा पुगेपछि विस्फोट हुन्छ नै। त्यही रिस र आक्रोशको विस्फोटनको माध्यम सपनाले शब्द र रङहरूमा पोखेकी हुन्। मधेस आन्दोलनपछि भने समाजले मधेसीहरूलाई गर्ने व्यवहार उनले केही कम अनुभव गरेकी छन्। तर त्यस्ता व्यवहारले पहिलेजसरी उनलाई असर पार्न छाडिसक्यो।
'मधेसमा जे समस्या छ अनि जे राम्रो–नराम्रो छ, त्यसबारे बोल्छु नै। यताको विषयमा पनि बोल्छु,' उनले भनिन्, 'आफ्नो आवाज सुनाउन सुस्त बोलेर होइन, कराउनै परेको छ। त्यसैले मेरो आवाज म बन्द गर्नेवाला छुइनँ।'