महोत्तरी पिपरा गाउँपालिका-५ सहोडवाका ६५ वर्षीय मोसिफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी ‘रहस्यमय’ ढंगले चार दिनदेखि बेपत्ता छन्।
उनीहरू सुतेकै ठाउँबाट मंगलबार ‘रहस्यमय’ ढंगले बेपत्ता भएका थिए। उनीहरूको स्थिति अज्ञात छ। प्रहरीले दुबैलाई फेला पार्न सकेको छैन।
प्रहरीका अनुसार झाका श्रीमान्-श्रीमती मंगलबार राति अलग-अलग कोठामा सुतेका थिए। उनीहरू बिहान सुतेको ठाउँमा थिएनन्।
उनीहरूका दुई बुहारीले उठ्दा सासु-ससुरा देखेनन्।
कोठाबाट उनीहरूमात्रै हराएका थिएनन्, दुबै जना सुतेका बिछ्यौना, गुन्द्रीसहित ओछ्यानै गायब छ। गीतादेवी सुतेको ठाउँमा रगतका छिटा पनि देखिएका छन्।
‘हामी अचम्ममा छौं, घटना गराउनेले किन ओछ्यान नै लिएर गयो?,’ प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह भन्छन्, ‘त्यसकारण पनि यो घटना रहस्यमय ठानिएको हो।’
सिंहका अनुसार गीतादेवी सुतेको ठाउँमा पानीले रगत पुछेको जस्तो पनि फेला परेको छ। फेला परेको रगत परीक्षण गर्न पठाइएको छ।
सिंहको भनाइमा गीतादेवी र घटना गराउनेबीच केही समस्या भएको हुनुपर्छ वा गीतादेवीको हत्या भइसकेको पनि हुनसक्छ। यी कुरा अहिले आशंकामै सीमित छन्।
‘रगत देखिनु, ओछ्यानै लिएर जानुको पछाडि केही अप्रिय घटनाको संकेत मिल्छ,’ सिंह भन्छन्, ‘तर, अहिलेसम्म केही पनि फेला नपरेकाले एकिनसाथ केही भन्न सकिँदैन।’
महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टका अनुसार श्रीमती र श्रीमान् अलग-अलग घरमा सुत्थे।
उनीहरूको नयाँ घर बन्दैछ। त्यो घरमा ढोका लगाएको छ तर झ्याल लगाइसकेको छैन।
गीतादेवी त्यो झ्याल नलगाइनसकेको नयाँ घरमा सुत्थिन्।
मुसाफिर भने पुरानो घरमा सुत्थे। उनी सुतेको घरको अर्को कोठामा कान्छी बुहारी सुत्थिन्।
ससुरा सुतेको अर्को कोठामा रहेकी कान्छी बुहारीले सिरक, झुल, तन्ना, गुन्द्री सबैसाथ ससुरालाई लैजाँदा थाहै पाइनन्।
जेठी बुहारी उनीहरूकै अर्को पुर्ख्यौली घरमा एक्लै सुत्थिन्।
‘उनीहरू भातभान्सा एकैठाउँमा गरे पनि सुत्ने चाहिँ अलग-अलग थियो,’ बिष्टले सेतोपाटीसँग भने।
को हुन् मुसाफिर, के थियो विवाद?
मुसाफिर मालपोतका रिटायर्ड नायब सुब्बा हुन्। उनी करिब १० वर्षअघि रिटायर्ड भएका थिए।
उनका दुई छोरामध्ये जेठाको तीन वर्षअघि मृत्यु भइसकेको छ। कान्छा छोरा भारतमा रोजगारी गर्छन्।
मुसाफिर सिधा र इमान्दार खालका व्यक्ति रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरी बताउँछ।
मालपोतका पूर्वकर्मचारी भएकाले मुसाफिरलाई गाउँघरमा जग्गाको समस्या र विवाद हुँदा बोलाइने गरिन्थ्यो।
‘जग्गासम्बन्धी विवाद भए उनले गएर छलफल गराउने र सकेसम्म मिलाउने काम गर्ने गरेको बुझिन्छ,’ बिष्ट भन्छन्।
त्यसबाहेक उनीसँग कसको-के दुश्मनी थियो भन्ने पनि खासै नखुलेको डिएसपी बिष्ट बताउँछन्।
वडाध्यक्ष शम्भुप्रसाद यादवका अनुसार उनी साधारण किसान हुन्। ठूलो आर्थिक हैसियतका पनि हैनन्।
यो घटनालाई प्रहरीले विभिन्न पाटोबाट अनुसन्धान थालेको छ।
आर्थिक पाटोबाट अनुसन्धान गर्दै जाँदा प्रहरीले अहिलेसम्म केही पनि ‘क्लू’ फेला पार्न सकेको छैन।
‘आर्थिक कारण कसैले अपहरण पो गर्यो कि भनौं भने मुसाफिर सुतेको ठाउँमा ६० हजार रकम छ, त्यो जस्ताको तस्तै छ,’ डिआइजी सिंहले भने।
यस्तै, पारिवारिक दुश्मनी कोहीसँग थियो कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ। घरजग्गाको समस्यामा हिँड्दा कतै कोहीसँग दुश्मनी भएको थियो कि भन्नेतर्फ अनुसन्धान केन्द्रित रहेको सिंहले बताए।
अर्को, मुसाफिर हालसालै लोहरपट्टी नगरपालिका-१ को जग्गासम्बन्धी विवाद समाधानका लागि हिँडिरहेका थिए। त्यहाँको एक बिगाहा जमिनमा साहू र मोहीबीचको झगडा अदालतमा पुगेको थियो।
मुसाफिरले जग्गावाला रामजी यादवको पक्षमा काम गरिरहेका थिए। रामजी मुसाफिरले पहिलेदेखि चिनेजानेका व्यक्ति हुन्।
‘जग्गाको साक्षी बसेको केही पनि हैन, उक्त जग्गामा साहूको पक्षमा काम गरिरहेको भन्ने खुलेको छ,’ डिएसपी बिष्टले भने।
यसबाहेक झा परिवार र अरू व्यक्तिबीच खासै सम्बन्ध बिग्रिने कुनै कारण पत्ता लाग्न नसकेको बिष्टले बताए।
घटना अनुसन्धानका लागि दुई नम्बर प्रदेश प्रहरी कार्यालयको टेक्निकल टिम कुकुरसहित खटिएको छ। महोत्तरी प्रहरीको टोलीले मुख्य रूपमा घटनाको अनुसन्धान गरिरहेको छ।
गीतादेवीको कोठामा देखिएको रगत परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।
‘रिपोर्ट नआइकन त्यसबारे पनि भन्न सकिएन,’ डिएसपी बिष्टले भने। घटना अनुसन्धानका लागि शंका लागेका केही व्यक्तिलाई नियन्त्रणमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ।