सुर्खेतको वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाउन भनेर प्रदेश सरकारले पोहोर साल २ करोड रुपैयाँ छुट्याएको थियो।
साइकल सिटीका लागि आवश्यक पर्ने आधारभूत संरचना निर्माण र सम्भाव्यता अध्ययनका लागि छुट्याइएको बजेट खर्च गर्ने अख्तियारी भौतिक पूर्वाधार मन्त्रालयले पायो।
‘गत वर्षको बजटे फ्रिज भइसकेको छ, त्यसबाट सम्भाव्यता अध्ययनको काममात्र भयो,’ भौतिक पूर्वाधार मन्त्रालयका निर्देशक वासुदेव पौडेलले भने।
कर्णाली प्रदेश सरकारले अहिले भने चालु आर्थिक वर्षको बजेटबाट ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
कर्णाली प्रदेशको राजधानीका रूपमा रहेको वीरेन्द्रनगरलाई साइकल सिटीका रूपमा विकास गर्न सरकारको गतिविधि सुस्ताए पनि अभियन्ताहरू भने दुई वर्षदेखि निरन्तर लागिपरेका छन्।
कर्णालीका विभिन्न ठाउँमा साइकल यात्रा गरिरहेको कर्णाली राइडर्स क्लब, विभिन्न विद्यालय, रेष्टुरेन्टहरू साइकल सिटीको अभियानमा छन्।
‘सरकारले बजेट ल्याएर सम्भाव्यता अध्ययन पनि गर्यो, त्यसपछि गर्नुपर्ने डिपिआर गरेन,’ कर्णाली राइडर्स क्लबका सदस्य माधव चौलागाईंले भने, ‘सरकारले आफ्नै स्वविवेकले गर्दैन, अब सबैले घचघच्याउनु पर्ने बेला भएको छ।’
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई साइकल सिटीको विषयमा जानकारी गराएका थिए। उनीहरूले साइकल लेनको कुरा उठाए। चौलागईंका अनुसार सचिवले साइकल लेनको धेरै लामो बनाउन नसक्ने बताएका छन्।
आर्थिक वर्ष ०७६/७७ मा वीरेन्द्रनगरको सुब्बाकुनादेखि बांगेसिमलसम्म साइकल लेन बनाउने भनेर प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो।
‘सरकारले छुट्याएको बजेटअनुसार तोकिएको लेन र अरू संरचनाबारे मन्त्रालयका सचिवलाई जानकारी गराएका थियौं,’ चौलागाईंले भने, ‘उहाँले १० किलोमिटर त हुँदैन त्यसमध्ये केही गर्छौं भनेर भन्नुभयो, त्यसपछि के भएको छ। जानकारी पाएका छैनौं।’
वीरेन्द्रनगर शहरलाई साइकल सिटीका रूपमा विकास गर्न यो अवस्थामा सम्भावना रहेको उनी बताउँछन्। भर्खरै शहरीकरण हुँदै गरेको ठाउँ भएकाले पनि वीरेन्द्रनगरलाई तत्कालै साइकल सिटीका रूपमा विकास गर्न सहज हुने उनले बताए।
‘नेपालका कतिपय शहरहरू त बिग्रिसके, सुर्खेत अझैं विस्तार हुने क्रममा छ,’ उनले भने, ‘यतिबेला सडकलाई साइकल प्रयोग गर्न मिल्ने र पैदल यात्री हिँड्न मिल्नेगरी विकास गरिएन भने यो शहरको अवस्था पनि बिग्रिसकेका अरू शहरजस्तो हुन्छ।’
कर्णाली राइडर्स क्लबले वीरेन्द्रनगरलाई साइकल सिटी बनाउन आवश्यक अध्ययन पनि गरेको छ।
चौलागाईंका अनुसार वीरेन्द्रनगर उपत्यकाभित्रको सबैभन्दा लामो दूरी सुब्बाकुनादेखि बांगेसिमलसम्म हो। यो सडक १० किलोमिटर छ। यही मुख्य सडकमा मात्र भएपनि साइकल लेन बनाउन सके साइकल सिटी बनाउनका लागि महत्पूर्ण आधार तयार हुने उनले बताए।
‘हामीले पहिले साइकल चलाउनेहरूलाई किन साइकल छोड्नुभयो भनेर सोध्यौं, उहाँहरू सबैले सडक नै असुरक्षित महशुस भएको भन्नुहुन्छ,’ चौलागाईंले भने, ‘साइकलको लागि न लेन छ, अहिले साइकलप्रति हेर्ने मानिसको दृष्टिकोणले पनि अप्ठ्यारोमा पारेको छ।’
साइकल चलाउनेहरू गरिब हुन् भन्ने आमनागरिकको सोच भएकाले पनि पहिले साइकलमा यात्रा गर्नेहरूले इन्धन प्रयोग हुने मोटर किनेर चढ्ने गरेको उनी बताउँछन्।
साइकल यात्राप्रति आम नागरिकको सोच सकारात्मक बनाउन सरकारी तथा अरू निकायले पहल गर्नुपर्ने चौलागाईं बताउँछन्।
‘साइकल सिटी विकास गर्न सरकारी निकायबाट संरचना बनाउनु पर्ने त छँदैछ, अन्य निकायबाट पनि वातावरण बनाउनु पर्यो,’ उनी भन्छन्, ‘साइकल चलाउनु भनेको केही नभएर होइन कि यसले स्वास्थ्य, वातावरण, अर्थतन्त्रमा राम्रो प्रभाव पार्छ भन्ने सोच विकास गर्न जरूरी छ।’
सरकारी निकायबाट साइकल चढेर यात्रा गर्ने वातावरण सिर्जना गर्दा आममानिसको सोच बदलिने उनको बुझाइ छ। त्यसपछि इन्धनबाट चल्ने सवारी छोडेर मानिस साइकल चढ्ने सोच बन्ने उनले बताए।
कर्णाली राइडर्स क्लबले गरेको अध्ययनअनुसार वीरेन्द्रनगर उपत्यकाका मानिसलाई आफ्नो घरदेखि शहरसम्म पुग्न औसतमा ५ किलोमिटरमात्र यात्रा गर्नुपर्छ।
‘यति छोटो दूरीमा साइकल चलाउन कुनै पनि अप्ठ्यारो छैन, यसरी हेर्दा वीरेन्द्रनगरलाई नमूना साइकल शहर बनाउन सकिने ठाउँ हो,’ चौलागाईंले भने, ‘अहिले गरेन भने पछि निकै ढिलो भएर ललितपुर, काठमाडौंजस्तो शहर हुन्छ।’
भौतिक पूर्वाधार मन्त्रालयका निर्देशक पौडेलका अनुसार साईकल लेन बनाउका लागि छलफल हुन बाँकी छ।
‘रत्न राजमार्ग (बांगेसिमलदेखि सुब्बाकुनासम्म) मात्र साइकल लेन बनाउन मिल्ने हो, यसका लागि अनुमति नपाएर हामीले बनाउन मिल्दैन,’ पौडेलले भने, ‘लकडाउनका कारण सम्बन्धित निकायसँग छलफल हुन सकेको थिएन, अब केही समयपछि होला।’
निजी क्षेत्रको पहल
वीरेन्द्रनगरलाई साइकल सिटीका रूपमा विकास गर्न निजी क्षेत्रले पनि आफ्नो तर्फबाट पहल गरिरहेका छन्।
वीरेन्द्रनगरमा रहेको शुभ होटलले ग्राहक साइकलमा आए छुट दिने व्यवस्था गरेको छ। उसले आफ्ना ग्राहकलाई साइकलमा आए १२ प्रतिशतसम्म छुट दिने घोषणा एक वर्षअघि नै गरेको चौलागाईंले बताए।
‘होटल जाँदा कारमा मात्र जानुपर्छ भन्ने सोच भएका मानिसले साइकलमा गयो भने छुट पाउँछौं भन्ने मानसिकता बनाउँछन्,' उनले भने, 'यसका लागि शुभ होटलले सहयोग गरीरहेको छ।’
होटलले साइकल स्टन्ट पनि बनाएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धपाइला क्याम्पसले साइकल चढेर क्याम्पस-घर आवतजावत गर्ने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको छ।
‘हाम्रो क्याम्पसमा अहिले साढे चार सय जति विद्यार्थी अध्ययनरत् हुनुहुन्छ, त्यसमा साइकल चढ्ने त ४/५ जनामात्र हुनुहुन्छ,’ क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले भने, ‘हामीले विद्यार्थीबाटै पर्यावरणलाई स्वस्थ राख्ने अभियान सुरू होस् भनेर साइकलमा क्याम्पस आउने, घर जाने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नेछौं।’
विद्यार्थीहरू हरेक दिन विद्यालयमा साइकल चढेर आवतजावत गरेमा मासिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको उनले बताए।
‘विद्यार्थीको शारीरिक तथा मानसिक तन्दुरूस्तीसँगै वातावरण प्रदुषण कम गर्न पनि यो अभियानले सहयोग पुग्छ,’ सुवेदीले भने, ‘विद्यार्थीबाट सुरू भएको यो अभियानबाट अरूले पनि सिक्न सक्छन्।’
किनबेच र मर्मतका लागि भने नेपालगञ्जको भर
कर्णाली राइडर्स क्लबका सदस्य चौलागाईंका अनुसार सुर्खेतमा आधुनिक जमाना अनुसारका साइकल किनबेच र मर्मतका लागि आवश्यक बजार छैन।
अहिले सुर्खेतमा परम्परागत साइकल किनबेच र मर्मत हुने गरेकाले सुविधायुक्त साइकल किन्न र मर्मत गर्न समस्या रहेको चौंलागाईंले बताए।
‘साइकल सिटीका रूपमा यो शहर विकास भइहाल्यो भने मानिसले नयाँ प्रविधिको साइकलहरू किनेर चढ्छन्, यसका लागि यहाँ समस्या छ,’ उनले भने, ‘यहाँ परम्परागतत साइकल नै किनबेच हुन्छ, मर्मत पनि तिनै साइकलको हुन्छ।’
फागुन २३ गतेबाट सुरू हुने कर्णाली उत्सवका बेला साइकल मर्मत क्याम्प चलाइने चौलागाईंले बताए। उनका अनुसार नेपालगञ्जबाट मेकानिक बोलाएर आधुनिक साइकलको मर्मत क्याम्प सञ्चालन गरिने छ।
उक्त क्याम्पमा नि:शुल्क साइकलम मर्मत हुनेछ भने मर्मत गर्न सिक्न आउनेका लागि पनि नि:शुल्क सेवा दिइनेछ।
‘यहाँका मानिसले पनि सिके भने स्थानीय बजार पनि आधुनिक साइकल बनाउन मिल्ने वातावरण बन्नेछ,’ उनले भने।
चौलागाईंका अनुसार साइकल सिटीका विषयमा उत्तरदायी बनाउनका लागि पनि सरकारका प्रतिनिधिहरूसँग छलफल गर्ने सेसन कर्णाली उत्सवका बेला सञ्चालन गरिनेछ।