झन्डै दुई दशकअघि धनुषा, मिथिला नगरपालिकाका रामकुमार महतोले पियन जागिर खान परीक्षा दिएका थिए। फेल भए। पछिल्ला १८ वर्षमा लोकसेवा परीक्षामा कतिपटक फेल भए, उनलाई याद छैन। तर जति असफल भए पनि उनले हिम्मत हारेनन्।
अहिले रामकुमार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी छन्।
२०७७ भदौदेखि उनले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका हुन्।
लोकसेवा परीक्षा दिएर सहसचिवसम्म पुग्नमा उनलाई बुवाको प्रेरणाले साथ दिएको बताउँछन्। सानैदेखि बुवा भन्ने गर्थे- छोरा सरकारी जागिर खानुपर्छ!
उनका बुवा सामान्य किसान हुन्। आमा तरकारी खेती गर्छिन्। मिहिनेतलाई धर्म मानेका रामकुमारका आमाबुवाकै प्रेरणाले उनका दाजु पनि सरकारी सेवामै कार्यरत छन्।
'बुबाले सरकारी सेवा गरे जीवनस्तर राम्रो हुन्छ भनिरहनुहुन्थ्यो,' रामकुमारले सेतोपाटीसँग भने।
सरकारी जागिरको आकर्षण उनका शिक्षक काकाबाट पनि पलाएको हो सायद। समाजमा काकाको मान भएको देखेर रामकुमारका बुवा भन्थे, 'काकाजस्तो जागिरे बन्नुपर्छ।'
'बुवाका ती भनाइ मलाई अझै याद छ,' उनले सुनाए।
खेतीकिसानीबाट घर धानिरहेका महतो परिवारका सदस्य हुर्केसँगै खर्च बढ्यो। उनका बुवाले सिँचाइ सुविधा भएको र कृषि उत्पादन बढी हुने ठाउँमा बसाइ सर्ने निधो गरे। थप आम्दानी हुने ठानेर धनुषाबाट सर्लाही सरे।
सर्लाहीमा रामकुमार पढ्ने माध्यमिक विद्यालय अलि टाढा थियो। कक्षा दससम्म पढ्दा धेरै स्कुल फेर्नुपरेको उनी बताउँछन्।
'त्यसले पढाइमा असर पार्यो नै। मेरो पढाइ उत्कृष्ट नभए पनि औसतमा राम्रै थियो,' उनले सम्झिए।
यता उनले एसएलसी दिए, उता दाजुले हुलाकको मुखियामा नाम निकाले। दाजुको नाम सरकारी जागिरेमा निस्केपछि उनको मनमा प्रश्न आएछ- यस्तो कसरी भयो?
रामकुमारलाई यति सजिलै सरकारी जागिर खान सकिन्छ भन्ने लागेकै रहेनछ।
'सरकारी जागिर भनेको मिहिनेत, निष्पक्ष र स्वच्छ प्रतिस्पर्धामा हुने कुरा मलाई थाहा थिएन,' उनले भने, 'बुवाले पनि पहुँच भएका मानिस भेटेर जागिरको कुरा गरेको देखेको थिएँ।'
त्यसैले दाजुले बिना भनसुन सरकारी जागिर पाएको देख्दा उनी अचम्म परेका थिए।
'मैले दाइसँग कसरी जागिर खान सकिन्छ भनेर सोधेँ। उहाँले लोकसेवा पास गरेपछि पाइन्छ भन्नुभयो,' उनले सम्झिए।
तबसम्म उनलाई लोकसेवा के हो भन्ने थाहा पनि थिएन। उनले यसबारे दाइलाई धेरै सोधे। दाइले लोकसेवाको विज्ञापन खुल्छ, किताब पढ्नुपर्छ, फारम भर्नुपर्छ र परीक्षा हुन्छ भनिदिए। परीक्षा पास गरेपछि स्थायी नियुक्ति हुन्छ भन्ने उनले थाहा पाए।
यसपछि रामकुमारलाई सरकारी सेवामा लाग्न सकिन्छ भन्ने विश्वास जाग्यो।
'लोकसेवामा नाम निकाल्छु, जति पढ्नु परे पनि पढ्छु भनेर सुरू गरेँ,' उनले भने।
प्रविणता-तह पढ्ने बेलादेखि नै उनले दाइले पढेका लोकसेवा किताब पढ्न थाले। कलेजका भन्दा लोकसेवाकै किताब बढी पढ्थे।
'मैले लोकसेवा तयारी गर्दा दाइले सानै छस्, पछि गर्दा पनि हुन्छ। अहिले कलेजको पढाइमा ध्यान दिनुपर्छ भन्नुहुन्थ्यो,' रामकुमारले दाइका भनाइ सम्झिँदै भने, 'तर म लोकसेवाकै किताबमा घोत्लिएँ।'
पढ्दै गर्दा लोकसेवाले पियन पदको विज्ञापन खोल्यो। २०५७ सालमा उनले पियन पदको परीक्षा दिए। पास हुन सकेनन्। त्यही साल मुखियाको विज्ञापन भयो। त्यसमा पनि असफल भए। त्यसपछि खरिदारको विज्ञापन भयो। यसमा पनि सफल हुन सकेनन्।
अर्को साल, २०५८ मा खरिदारकै विज्ञापन भयो। यो बेला भने उनको नाम निस्कियो। लोकसेवामा दिएको चौथो परीक्षामा उनी सरकारी जागिरे भए।
२०५९, असोजमा रामकुमारको नियुक्ति भयो। जागिरसँगै उनले पढाइलाई निरन्तरता दिए, 'मैले कामसँगै कलेजको पढाइ गरेँ। माथिल्लो तहका लागि लोकसेवा पढ्न पनि छोडिनँ।'
त्यसपछि उनले सुब्बा सरहको लेखापालमा नाम निकाले। पढ्दै, जागिर गर्दै उनले स्नातक गरेपछि शाखा अधिकृतको तयारी गरे।
'शाखा अधिकृत पदका लागि मैले निकै मिहिनेत गरेको थिएँ। सफलता हासिल गर्न भने कुर्नु पर्यो,' उनी भन्छन्। शाखा अधिकृतमा तीन पटक उनी फेल भए। हार नमान्ने स्वाभावका रामकुमारले परीक्षा दिन छाडेनन्। अन्ततः चौथो पटकको प्रयासमा सफल भए।
अधिकृतभन्दा माथिल्लो स्तरको उम्मेदवार हुन कार्य अनुभव चाहिन्छ। उनले काम र पढाइ जारी राखे। स्नातकोत्तर सकेपछि उप–सचिवको तयारी थाले। पाँच वर्षको कार्य अनुभव भएसँगै उप-सचिवको परीक्षा दिए। तीनपटक दिँदा पनि पास हुन सकेनन्।
यतिन्जेल रामकुमारले निजामती सेवामा काम गरेको आठ वर्ष पूरा भइसकेको थियो। आठ वर्ष कार्यक्षेत्रमा अनुभव पुगेपछि शाखा अधिकृतबाट सोझै सह–सचिवका लागि लड्न पाउने भए। सह-सचिव लोकसेवा आयोगले लिनेमध्ये सबभन्दा माथिल्लो तहको परीक्षा हो।
'सह-सचिव लड्न मेरो योग्यता पुगिसकेकालै मैले दर्खास्त दिएँ। मिहिनेत पनि गरेँ,' उनले भने। सह-सचिवमा उनी एकैचोटिमा पास भए।
'पहिला जतिसुकै फेल भए पनि सह–सचिवको नतिजाले सुखद परिणाम प्राप्त भयो,' उनले खुसी व्यक्त गरे। दृढ संकल्पले नै आफूलाई लोकसेवाका परीक्षामा पास हुन मद्दत पुगेको उनी बताउँछन्।
'अनेक लक्ष्य, अनेक चिन्ता गर्नु हुँदैन। एउटै बाटो हेर्नुपर्छ,' उनी भन्छन्, 'मेरो पनि लोकसेवाका सबै परीक्षा पास गर्छु भन्ने दृढ संकल्प थियो। मैले राष्ट्र सेवामा काम गर्ने लक्ष्य राखेको थिएँ। बीचमा जतिसुकै असफल भए पनि हार मानिनँ।'
मान्छेको इच्छाशक्तिका अघि बाधा टिक्न नसक्ने उनको बुझाइ छ। सरकारी सेवामा विभिन्न क्षेत्र छन्। जस्तै संस्थान, कम्पनी, प्रहरी, सेना, अनुसन्धान। जुनसुकै क्षेत्रबाट राष्ट्र सेवामा लाग्न सकिने उनको भनाइ छ।
'इच्छा भए पैसा छैन, दिमाग कमजोर छ, पोषिलो खाना छैन भन्ने हुँदैन। मिहिनेत गरे सफल भइन्छ,' उनले भने।
रामकुमारका आमाबुवा छोराले आफूहरूको सपना पूरा गरेको देखेर मख्ख छन्।
आमाबुवाको खुसीमा आफ्नो खुसी रहेको भन्दै उनले सुनाए, 'आमाबुवा सानैदेखि मैले सरकारी जागिर गरोस् भन्ने चाहनुहुन्थ्यो। उहाँहरूको सपना मैले पूरा गरेको देखेर साह्रै खुसी हुनुभएको छ।'
किसान परिवारमा जन्मेर सह-सचिवसम्म बनेका रामकुमार उनको गाउँकै उदाहरण हुन्। आफन्त, नातेदार, छरछिमेकमा सफलताको उदाहरण दिनु परे रामकुमारकै दिन्छन्।
'मेरो गाउँमा पटकपटकको प्रयासपछि लोकसेवाको माथिल्लो तहमा नाम निकाल्न सफल व्यक्ति मै हुँ। मेरो परिवार र गाउँलेहरूले पनि गर्व गर्नुहुन्छ,' उनले भने।